प्रदेश २ : पहाडी भोटमा सबैको नजर

प्रदेश २ : पहाडी भोटमा सबैको नजर

वीरगन्ज : मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ। समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा। पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिन थालेका छन्। समुदायको भोट एकलौटी पार्न सके निर्णायक हुने ठानेर उम्मेदवारहरू मतदाता प्रभावित पार्न लागिपरेका छन्।

वीरगन्ज महानगरपालिकामा सीमित क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता छन्, जुन मुस्लिमपछिको सबैभन्दा ठूलो समूह हो। यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा छ। कांग्रेसका अनिलकुमार रुँगटा, संघीय समाजवादी फोरमका प्रदीप यादव र वाम गठबन्धनका विचारी यादवबीच त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान छ।

यो क्षेत्रमा फोरम उम्मेदवारका प्रदीपले पहाडी मूलका मतदाताको भोट तान्ने सम्भावना कमै छ। त्यसैले कांग्रेस र एमाले उम्मेदवार पहाडी मूलका मतदाता तान्ने प्रयत्नमा छन्। निवर्तमान सांसद विचारी यादवले दोस्रो संविधानसभा चुनाव जित्दा सहरिया भोटबाटै अग्रता लिएका थिए-पहाडी समुदायको उल्लेख्य भोटकै कारण।

पाँच महिनाअघिको स्थानीय चुनावमा चाहिँ पहाडी मतदाताको भोट राजपा उम्मेदवार राजेशमान सिंहलाई एकलौटी गएको थियो। छुट्टाछुट्टै मोर्चाको झन्डामा मधेस आन्दोलनमा सक्रिय प्रदीप र राजेशमानबीच कटुता छ। त्यसैले राजपा र फोरमबीच गठबन्धन भए पनि राजेशमानको समर्थन प्रदीपले पाउने सम्भावना देखिँदैन। उनले कांग्रेस उम्मेदवार रुंगटालाई सघाइरहेको अनुमान यहाँ गरिँदै छ।

चुनाव आउन एक साताभन्दा पनि कम बाँकी छँदा पहाडी मूलका मतदाता कांग्रेस र एमालेमा विभाजित छन् तर चुनावको अघिल्लो दिनसम्म प्रतिस्पर्धामा विचारी यादव पछाडि परेको सन्देश मतदातामा गयो भने यो भोट कांग्रेसको पक्षमा एकलौटी पर्न सक्छ। यसैले कांग्रेस विचारी यादव कमजोर भइसकेको सन्देश दिन प्रयत्नशील छ। अर्कोतिर विचारी यादव पनि पहाडी मूलका मतदाताको भोट आफ्नो पक्षमा पार्न सके जित्न सकिने आसमा छन्।

वीरगन्जमा पहाडी समुदाय अल्पसंख्यक हुन् तैपनि पहिलो मधेस आन्दोलनअघिसम्म यो समुदायले सहरमा आफूलाई असुरक्षित ठान्नुपरेको थिएन। पहाडी समुदायमा सबैभन्दा बढी नेवार छन्, जुन वीरगन्जको स्थापनाकालदेखिका पुराना बासिन्दा हुन्। ०६४ को मधेस आन्दोलनपछि पहाडी समुदायले आफूलाई असुरक्षित ठान्न थाल्यो। कतिपय त बसाइँ हिँडिसके। त्यसैले त्यहाँको पहाडी समुदायले आफूलाई संरक्षण दिन सक्ने, समुदायप्रति नरम उम्मेदवार खोज्न थालेको छ।

वीरगन्ज महानगरपालिकामा सीमित क्षेत्र नम्बर १ मा करिब ७ हजार पहाडी मूलका मतदाता छन्, जुन मुस्लिमपछिको सबैभन्दा ठूलो समूह हो। यो क्षेत्रमा मुस्लिम मतदाताको संख्या २० हजार हाराहारीमा छ।

यसपालि प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार गैरपहाडी मूलका छन्। ‘पहाडी समुदायले आफूमैत्री उम्मेदवारलाई रोज्ने देख्छु', विश्लेषक विनोद गुप्ताले भने, ‘त्यसैले उम्मेदवारहरूले यो समुदायलाई रिझाउन प्रयास गरिरहेका छन्।' मानवशास्त्री सुरेश ढकालका अनुसार विचारमा आधारित राजनीति कमजोर हुँदा समुदाय, जात, धर्म आदिका आधारमा भोट दिने चलन हाबी हुने गर्छ। ‘अल्पसंख्यक, कमजोर, असुरक्षित महसुस गर्ने समूहले प्रतिरोध गर्ने तरिका भनेको आपसमा सल्लाह गरी आफूमैत्री उम्मेदवारलाई भोट हाल्ने हो, जुन विश्वव्यापी प्रवृत्ति हो। असुरक्षित महसुस गरेपछि थातथलोबाट भाग्ने वा यसरी प्रतिरोध गर्ने तरिका अवलम्बन गरिन्छ', ढकाल भन्छन्।

पर्सा १ मा दोस्रो संविधानसभा चुनावमा कांग्रेसका राजेन्द्रबहादुर अमात्यले जितेका थिए। त्यसअघिको पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमकी करिमा बेगम विजयी भएकी थिइन्। महानगरका २, ४, ५, ७, ८, ११, १२, १३, १४, १५, १६, १८, २०, २१ , २२, २३, ३०, ३१, ३२ गरी १९ वटा वडा पर्सा १ पर्छ।

क्षेत्र नम्बर २ मा कांग्रेसका अजयकुमार चौरसिया र संघीय समाजवादी फोरमका विमल श्रीवास्तवबीच प्रतिस्पर्धा छ। वाम गठबन्धनले मुसालिम अन्सारीलाई उम्मेदवार बनाएको छ। काठमाडौंमा काठ मिल चलाएर बसेका मुसालिम माओवादी केन्द्रका स्थानीय नेता दाजु जालिम अन्सारीका कारण टिकट पाउन सफल भएका थिए।

एकदमै नचिनिएको अनुहार भएकाले उनलाई कमजोर ठानिएको छ। यो क्षेत्रलाई कांग्रेसले आफूले जित्ने निश्चित भएको क्षेत्रका रूपमा दाबी गर्दै आएको छ। चुनावैपिच्छे पार्टी परिवर्तन गरी चुनाव लडेकाले विमल श्रीवास्तवको प्रभाव सहरमा क्रमशः कमजोर हुँदै गएको छ। राजावादी राजनीतिमार्फत उदाएका श्रीवास्तव ०३८ र ०४३ मा वीरगन्जको प्रधानपञ्च थिए। राप्रपा उम्मेदवारका रूपमा ०४८ सालको स्थानीय चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित श्रीवास्तव ०५४ सालको स्थानीय चुनावमा मेयर निर्वाचित भएका थिए।

राजा ज्ञानेन्द्रको पालामा भएको नगर निर्वाचन पनि जितेका श्रीवास्तव मधेसवादी राजनीतिको प्रभाव बढेपछि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी प्रवेश गरेका थिए। दोस्रो संविधानसभा (०७०) चुनावमा कांग्रेसका राजेन्द्रबहादुर अमात्यसँग पराजित उनी गत स्थानीय चुनावमा राजपाले टिकट नदिएपछि विजय गच्छदारको लोकतान्त्रिक फोरमको टिकटमा मेयरमा उम्मेदवारी दिएका थिए।

लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भए पनि टिकट नपाएपछि संघीय समाजवादी फोरम प्रवेश गरेका थिए। ०५६ र ०६४ को चुनावमा जितेका अजयकुमार चौरसिया दोस्रो संविधानसभामा तत्कालीन क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवारसँग पराजित भएका थिए।

नयाँ संविधानअनुसार क्षेत्र निर्धारणपछि उनको घर क्षेत्र २ मा परेको छ। यस क्षेत्रमा महानगरको १, ३, ६, ९, १०, १७, १९, २४, २५, २६, २७, २८, २९ का साथै बहुदरामाई नगरपालिका २, ३, ४, ६ वडा र पर्सागढी नगरपालिका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.