शिथिल बन्दै जातीय ज्वरो

शिथिल बन्दै जातीय ज्वरो

सिरहा : विगतका निर्वाचनमा राजनीतिक दलका उम्मेदवारका लागि जातीय मुद्दा बलियो एजेन्डा बने पनि यसपटक सिरहाका अधिकांश मतदाता यसप्रति आकर्षित देखिएका छैनन् । चुनाव नजिकिँदै गर्दा जातीय नारा चर्काउन खोजेपछि यसलाई केटाकेटी लोभ्याउने ‘गुलियो ललिपप' मात्र भएको मतदाताको बुझाइ छ । ‘यसअघिका निर्वाचनमा उम्मेदवारका लागि जातीय नारा मत तान्ने गतिलो हतियार बन्थ्यो तर यसपटक अधिकांश मतदाता यसप्रति आकर्षित छैनन्', रामप्रताप रामप्रसाद तामाङ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक प्रदीप शाह भन्छन्, ‘उम्मेदवारले जातीय नारालाई आफू माथि उक्लने राजनीतिक भर्‍याङ मात्र बनाएका हुन् भन्ने कुरा मतदाताले बुझ्न थालेका छन् ।'

सहायक प्राध्यापक शाहका अनुसार ०६४ र ०७० सालको निर्वाचनमा उम्मेदवारका लागि जातीय नारा गतिलो हतियार बने पनि ०७४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा यो नारा कमजोर सावित भयो । ‘स्थानीय निकायको निर्वाचनमा पनि उम्मेदवारले उठाएको जातीय मुद्दा प्रभावकारी देखिएन । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यो नाराले उम्मेदवारलाई खासै फलिफाप होलाजस्तो लाग्दैन', उनी भन्छन् ।

जातीय नारालाई विभिन्न दलका उम्मेदवारले सार्वजनिक रूपमै नउठाए पनि आफ्नो जातको बाहुल्य रहेको स्थानमा भने उम्मेदवारले यो नारालाई गोप्य रूपमा आफ्नो पक्षमा मत तान्ने हतियार बनाउने गरेको शाहको विश्लेषण छ । सिरहा क्षेत्र नम्बर ३ मा अहिले पनि केही उम्मेदवारले जातीय नारालाई चर्काउने प्रयास गरेको उनको भनाइ छ ।

‘विगतको तुलनामा अहिले जनता निकै सचेत छन्, जातीय नाराभन्दा पनि पछिल्लो समय विकास निर्माणका मुद्दातिर मतदाताले आफ्नो ध्यान केन्द्रित गरेका छन्', उनी भन्छन् । यति हुँदाहुँदै देशको राजनीति र निर्वाचन ‘मनी' र ‘मसल्स' को परम्परागत सोचबाट अझ मुक्त हुन नसकेको उनको गुनासो छ।

सिरहा निर्वाचन क्षेत्र ३ अन्तर्गत पर्ने विष्णुपुर—५ लक्ष्मीपुरका रामचन्द्रसिंह अहिले पनि उम्मेदवारहरू आफ्नो जातको प्रभाव रहेको स्थानमा जातीय नारा बोकेर मतदाताको घरदैलोमा पुग्ने गरेको बताउँछन् । ‘विगतदेखि नै समाजमा जरो गाडेर बसेको जातीय नारा सजिलै अन्त्य हुँदैन । नागरिकको चेतनास्तर र आर्थिक अवस्थाले पनि यसलाई प्रभाव पारेको हुन्छ', उनी भन्छन्, ‘व्यक्तिगत रूपमा म जातीयताको पछाडि लाग्ने मान्छै होइन । अरूलाई पनि म जातीयताको पछाडि नलाग्न आग्रह गर्छु ।'

सिरहा राजपुरका मतदाता धर्मनाथ यादव जातीय नारा र रकम खाएर भोट दिने समय सकिएको दाबी गर्छन् । ‘पहिले गाउँघरमा, खासगरी दलित बस्तीमा उम्मेदवार महिलालाई साडी बाँड्थे । अब त्यो समय रहेन, कुनै उम्मेदवारले जातीय नारा लगाए पनि जनता तिनको पछि लाग्न छाडे', उनी भन्छन्, ‘जनतालाई विकास चाहिएको छ । गाउँमा कालोपत्रे सडक, अस्पताल, विद्युत् चाहिएको छ । निजी स्कुलजस्तो पठनपाठन हुने सरकारी स्कुल चाहिएको छ । उम्मेदवार अब यस्तै एजेन्डा बोकेर आउनुपर्छ ।'

उम्मेदवारले जातीय नारालाई आफू उक्लने भ¥याङ मात्र बनाएको मतदाताले बल्ल बुझ्न थालेका छन् । प्रदीप शाह, सहायक प्रध्यापक

सिरहास्थित नरहा गाउँपालिका—४ का जगदेव यादवको बुझाइ पनि यस्तै छ । उनको विचारमा सूचनाको सहज पहुँच भएकाले जनतालाई मूर्ख सम्झने उम्मेदवारले मात्र जातीय नारालाई आफ्नो जितको आधार बनाउने प्रयास गर्छ । ‘जनतालाई मूर्ख सम्झने दिन गए । म ग्यारेन्टी गर्न सक्छु जातीय नारा लगाउने नेताले अब भोट पाउँदैन', उनी भन्छन्, ‘हामीलाई विकास चाहिएको छ । जोसँग विकासको एजेन्डा हुँदैन, विकास कसरी हुन्छ भन्ने ज्ञान पनि हुँदैन । यो कुरा सबै मतदाताले बुझेका छन् ।'

सिरहा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका प्रतिनिधिसभा उम्मेदवार लीला श्रेष्ठ निर्वाचनमा जातीय नारा पुरानो भइसकेको बताउँछन् । करिब ८४ हजार मतदाता रहेको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि फोरमबाट अशेश्वर यादव र कांग्रेसबाट अमर रेग्मी चुनावी मैदानमा छन् । राजपा—फोरम नेपाल गठबन्धनका उम्मेदवार यादव आफू मधेस र मधेसी समुदायको पहिचानका लागि उम्मेदवार बने पनि जातीयताका आधारमा मत माग्ने परम्पराको विरोधी रहेको बताउँछन् ।

जनताको विश्वास जितको आधार

लीला श्रेष्ठ, वाम गठबन्धनका उम्मेदवार
मप्रति जनताको विश्वास आगामी निर्वाचनमा मेरो जितको मुख्य आधार हो । ०५४ सालमा जिल्ला विकास समितिको उपसभापति थिएँ । त्यतिबेला मैले विकास निर्माण क्षेत्रमा गरेको कामलाई जनताले नजिकबाट हेरेका छन् । त्यो जिम्मेवारीबाट मुक्त भइसकेपछि पनि निरन्तर रूपमा यस क्षेत्रका जनताको घरदैलोमै छु । सिरहा जिल्लामा सशस्त्र द्वन्द्वको समयमा दुई सय ५० भन्दा बढीको हत्या भयो । मधेसमा विभिन्न समूहले चलाएको सशस्त्र द्वन्द्वमा एक सय बढी मारिए । सामान्य नागरिकदेखि समाजका होनहार व्यक्तिको पनि हत्या भयो । त्यस्तो अवस्थामा अन्य दलका ठूला नेता डरले जिल्ला छाडेर काठमाडौं गए । तर, म विचलित नभई जिल्लामै जनताको काममा सक्रिय रहेँ । त्यसैले अहिले जनताले मलाई बढी माया गरेका छन् । म आफ्नो जितप्रति विश्वस्त छु ।

मधेसको विकास र पहिचानका लागि उम्मेदवारी


अशेश्वर यादव, राजपा—फोरम गठबन्धनका उम्मेदवार
मेरो उम्मेदवारी सिंगो मधेसको पहिचान र विकासका लागि भएकाले जितप्रति विश्वस्त छु । जिल्लामा गरिबी, अशिक्षा, गुणस्तरीय स्वास्थ्य सेवाको अभाव छन् तर त्योभन्दा पनि ठूलो कुरा मधेसी जनताको अधिकार र पहिचानको मुद्दा हो । सिंगो मधेस हेपिएको छ, विकास निर्माणको सवालमा पनि हामी पछि परेका छौं तर यो विषयमा कोही बोल्न चाहँदैन । मेरो उम्मेदवारी अपहेलित मधेस अनि हेपिएका र आवाजविहीन मधेसीको पक्षमा हो । हामीले कहिले पनि जातीय कुरा गरेका छैनौं । मधेसमा बस्ने सबै मधेसी हुन्, चाहे त्यो दलित, राई, लिम्बू, तामाङ नै किन नहोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.