कडा पारिँदै सुरक्षा : चारवटै निकाय एकीकृत र समन्वयात्मक रूपमा परिचालन

कडा पारिँदै सुरक्षा : चारवटै निकाय एकीकृत र समन्वयात्मक रूपमा परिचालन

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्ष्य गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको हो। दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदै छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयअनुसार चारवटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरिएको जानकारी दिए। निर्वाचन हुने जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीलाई परिचालन गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको उनले बताए। पहिलो चरण निर्वाचनपछि केन्द्रीय सुरक्षा समितिको बैठक पहिलोपटक बसेको हो।

बैठकले पहिलो चरण निर्वाचन र त्यसपछि घटेका हिंसात्मक घटनाको समीक्षा गरेको थियो। बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनक्रममा कुनै पनि घटना हुन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए। उनले मुलुकका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा भइरहेका विस्फोटका घटनाको कारक पत्ता लगाएर त्यस्ता घटना रोक्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको गृहप्रवक्ता दुवाडीले जानकारी दिए।

केही दिनअघि दाङको तुलसीपुरमा प्रधानमन्त्री संलग्न कार्यक्रमस्थल नजिकै बम विस्फोट हुँदा एक म्यादी प्रहरीको मृत्यु भएको थियो। प्रवक्ता दुवाडीले दोस्रो चरण निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकाय उच्च मनोबलसाथ खटिएको दाबी गरे। ‘सबै मतदान केन्द्रमा सुरक्षा निकाय पठाउने काम भइरहेको छ। मतदान केन्द्रको पूर्ण सुरक्षा हुनेछ', उनले भने। पहिलो चरणभन्दा सुरक्षा व्यवस्था मजबुत बनाएको दाबी गर्दै उनले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरे।

पहिलो चरण निर्वाचनमा नेकपा समूहको चुनौती बढी रहे पनि दोस्रो चरणमा तराईका कतिपय जिल्लामा सिके राउत र जयकृष्ण गोइतको गतिविधि पनि सुरक्षा चुनौतीका रूपमा रहेको रिपोर्टिङका आधारमा सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए। गृह मन्त्रालयले सम्भाव्य चुनौतीलाई लक्ष्य गरी आवश्यक रणनीति तयार गर्न केन्द्रीय कमान्ड पोस्ट र केन्द्रीय संयुक्त निर्वाचन सेलको बैठकलाई निरन्तरता दिएको जनाएको छ।

गृहसचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा रहने केन्द्रीय कमान्ड सेल र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखको नेतृत्वमा रहने केन्द्रीय संयुक्त निर्वाचन सेलको नियमित बैठकले देशभरको शान्ति सुरक्षाबारे दैनिक विश्लेषण गरिरहेको गृह प्रवक्ता दुवाडीले जानकारी दिए। ‘विशेषगरी दोस्रो चरण निर्वाचन हुने ४५ जिल्ला र अन्य स्थानको समेत दैनिक सुरक्षा विश्लेषण गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउने रणनीति बनाइरहेका छौं', गृहप्रवक्ता दुवाडीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.