अब शैलीको समय सुरू हुन्छ

अब शैलीको समय सुरू हुन्छ

‘यहाँ दुई हजार कमेडियनहरू मसँग अवसर माग्न आउँछन्, मैले किन तिमीलाई पत्याउने ? ’ विगत ६ वर्षदेखि रहरैरहरमा नेपालमा स्ट्यान्ड अप कमेडी गरेको अनुभव लिएर म न्युयोर्क सहर पुग्दा अमेरिकाकै उत्कृष्टमा पर्ने गथम कमेडी क्लबका प्रड्युसर एन्डी एंगेलले मलाई सोधे ।

स्ट्यान्ड अप कमेडी मुस्किलले बामे सरिरहेको देशबाट आएको मलाई बजार ‘स्याचुरेट’ भइसकेको मुलुकले वास्तवमा पत्याउनुपर्ने कारण पनि थिएन । नेपालमा स्ट्यान्ड अप कमेडीको कल्चर नभएकोले कार्यक्रम आयोजनादेखि प्रस्तुति सबैको जिम्मा कलाकारले नै लिनुपर्छ भनेर मैले सधैं गुनासो गर्थें । आफ्नै देशमा त संघर्ष थियो, अमेरिकी बजारमा त न मेरो कुनै नाम, न कुनै प्रभाव, न कुनै किसिमको चिनजान ।

म ६ हप्ताको कमेडी कोर्स गर्न एन्डीको कक्षामा पुगेको थिएँ । अनि सीधै उनका अगाडि उभिएर अवसर मागिरहेकी थिएँ । क्षमताको कुनै ठोस प्रमाणबिना मात्र ढृढताको जगमा उभिएको यो पहिलोपटक भने थिएन ।

झन्डै दस वर्षअघि सगरमाथा चढ्ने जमर्को गर्दा पनि स्थिति यस्तै थियो । बजारले म र मेरो टोलीका साथीहरू कदकाँठीमा सानासाना, उमेरले काँचा, पर्वतारोहणको पारिवारिक पृष्ठभूमि नभएका ‘केटी’हरू देख्थ्यो । हामी भने नुनको भारी बोकेर स्वयम्भूको भर्‍याङमा जति तलमाथि गर्‍यो, बुद्ध भगवान्को आशीर्वाद पनि टाउकोमा त्यति नै पर्छ भनेर मरिमरि तालिम गर्थ्यैाँ ।

काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूमा भारी बोकेर घामपानी जेसुकै भए पनि दिनभर हाइकिङ गथ्र्यौं । तालिममा हामीले ज्यान दिएका थियौं । किनभने हाम्रो कन्ट्रोलमा भएको कुरा त्यही एउटा थियो । सगरमाथा चढ्न चाहिने सहयोग उठाउन दाताहरूको ढोका ढक्ढक्याउँदा हाम्रो कन्ट्रोल चल्दैनथ्यो । धेरैले आश्वासन दिन्थे । कतिले यो अति महत्वाकांक्षी सपना भयो भनेर सिधै हर्काथे ।

अन्ततः केहीले सहयोग गरे । सगरमाथा चढ्ने पागलपन नै चढेको त्यो समय फर्केर हेर्दा लाग्छ, म जतिसुकै गाह्रो फिजिकल च्यालेन्जबाट पनि नडराउने भइसकेको थिएँ भने मान्छेका अगाडि उभिएर बोल्न सबै लाज पचिसकेको थियो । मेरो काम आफ्नो कुरा राख्ने हो, सुन्नेले हदै भए हँदैन त भन्ला ! यति कुरा त मनमै गाँठो परिसकेको थियो ।

झन् सात महादेशका हिमाल चढ्ने क्रममा त तालिम र फन्ड रेजिंगले पराकाष्ठा नाघ्यो । बिहान ट्रकको टायर तानेर तालिम गरिन्थ्यो, दिउँसो प्रपोजल बोक्दै सिंहदरबारदेखि सानातिना संघसंस्था कम्पनी भएभरकोमा धाइन्थ्यो । जब हामीलाई तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीले समय दिएर भेटे अनि ह्वाइट हाउसमा आमन्त्रित गरियो, नेपालमा हामीलाई धेरैले भने ‘आहो तपाईंहरूको त माथिसम्मै राम्रो कनेक्सन रहेछ, नत्र किन जोन केरीले भेट्थे ? ’ हामी एकअर्कालाई हेरेर मुसुमुसु हाँस्थ्यौं । केको कनेक्सन ? कता हो माथि भनेको ? हामीलाई केही थाहा पत्तो नै छैन । अरूहरू भने हाम्रो कनेक्सनको अड्कलबाजी गरिरहेका थिए ।

सानै होस् पाइला, तर चलिरहनुपर्छ । हिमालको मूलमन्त्र यही नै हो । हिमालबाहिर पनि यही नै नियम चल्दोरहेछ । हाम्रा सानासाना पाइलाको गुञ्जन नै संसारभर फैलँदै गयो र हामी विश्वकै सात महादेशका अग्ला हिमाल आरोहण गर्ने पहिलो महिला टोली बन्न सफल भयौं ।

हामीलाई मात्र एउटा कुरा थाहा थियो । पाइला निरन्तर चल्नुपर्छ अनि मात्र शिखरमा पुगिन्छ । सानै होस् पाइला, तर चलिरहनुपर्छ । हिमालको मूलमन्त्र यही नै हो । हिमालबाहिर पनि यही नै नियम चल्दोरहेछ । हाम्रा सानासाना पाइलाको गुञ्जन नै संसारभर फैलँदै गयो र हामी विश्वकै सात महादेशका अग्ला हिमाल आरोहण गर्ने पहिलो महिला टोली बन्न सफल भयौं ।

यसरी ज्यान घोटेर चाहिएको तयारी गर्ने अनि लाज-शरम पचाएरै मैदानमा लागि पर्न हिमालले मलाई अभ्यस्त बनाइसकेको थियो । यही तालिम पर्वतारोहणभन्दा बिलकुल फरक क्षेत्रमा पनि मलाई काम लाग्यो ।

न्युयोर्कको म्यानह्याटनमा रहेको स्टुडियोमा मैले धक नमानी एन्डीलाई भन्दिएँ, ‘म अरूजस्तो पाँच मिनेटका लागि संघर्ष गर्ने कमेडियन होइन, मैले नेपालमा ४५ मिनेट लगातार प्रस्तुति दिने गरेको छु, कार्यक्रम आफैं आयोजना गर्छु, भारतबाट व्यावसायिक कमेडियन बोलाएर सँगै प्रस्तुति गरेको छु । स्ट्यान्ड-अप कमेडीको सबै आन्द्राभुँडीमा म अभ्यस्त छु । मलाई मञ्च दियौ भने म दर्शकलाई हँसाउन पनि सक्छु, कार्यक्रम भव्य रूपमा सफल पार्न पनि सक्छु ।’

यति भनेपछि एन्डी एकछिन सोचमग्न भए अनि भने, ‘ल, मसँग पछि कुरा गर्नु ।’ कमेडी क्लासको ग्य्राजुएसन सोको समय आयो । मलाई थाहा थियो, सबै विद्यार्थीको प्रस्तुति एन्डीले राम्ररी हेर्नेछन् भनेर । मैले अहिले इम्प्रेस गरेँ भने मात्रै चान्स पाउन सक्छु भन्ने मलाई थाहा थियो । साँझ हलमा कार्यक्रम सुरु भयो । एकपछि अर्को विद्यार्थी प्रस्तुति दिँदै थिए । अचानक चर्चित कमेडियन जिम ग्याफिग्यान मञ्चमा उत्रिए । मलाई मनमनै डर लाग्यो ।

यस्तो लोकप्रिय कलाकारपछि स्टेजमा म फिका पर्ने पो हुँ कि ! म उक्लिएँ, एउटा÷दुईटा आफ्ना जोक सुनाए, अनि भने, ‘डु यु नो ह्वाट जस्ट ह्यापेन्ड ? जिम ग्याफिग्यान ओपन्ड फर मी पिपल ।’ दर्शक ताली बजाउँदै गलल्ल हाँसे । कमेडियनले पाउने सबैभन्दा उत्कृष्ट रेस्पोन्स । त्यसपछि त फुर्ती आइहाल्यो । मेरो प्रस्तुतिपछि एन्डीले मलाई हाई फाइभ दिँदै भने, ‘लेट्स सी सम नेपाली एक्सन इन गथम ।’

अब गथम कमेडी क्लबमा मेरो पहिलो प्रोफेसनल सो हुने भयो । साँच्चै ? एक हप्तासम्म मैले पत्याउनै सकिनँ । प्रख्यात हस्तीहरू देखिने अमेरिकाकै टप टेनमा पर्ने कमेडी क्लबको मञ्चमा यति सजिलै मैले कसरी चान्स पाउन सक्छु ? न कुनै चिनजान, न मेरो कुनै नाम, अब चाहिँ ढुकढुकी बढ्न थाल्यो । तर, कार्यक्रम हुने भयो । कहिले खुसीले फुर्किन्थेँ । कहिले निकै डर लाग्थ्यो ।

मेरो प्रस्तुति राम्रो भएन भने ? क्लबले आफ्नो वेभसाइटमा राख्यो, ‘सेप्टेम्बर २०, टप सट कमेडी विथ शैली बस्नेत ।’ पोस्टरमा मेरोमात्र फोटो छ । मान्छे आएनन् भने ? एकदिन त म डरले खर्ल्यामखुर्लुम भएँ । एक्लै थिएँ । अनि टक्क रोकिएर, मेडिटेसन गरेँ । अनि आफैंलाई भने, ‘कि त म डराएर यो कार्यक्रमबाट भाग्न सक्छु । त्यसो गर्ने हो भने मैले यो सहरमा कमेडी गर्न फर्केर पनि नआए हुन्छ । कि त म आफ्नो बुताले भ्याउने हरसम्भव प्रयास गर्न सक्छु ।’ सुन्दा नाटकीय लाग्ला, तर मैले आफैंसँग संकल्प गरेँ, ‘अब मसँग डराउने अप्सन छैन ।’

त्यस बेलादेखि मेरो सारा उर्जा कार्यक्रम सफल बनाउनतिर लगाएँ । नेपाली समुदायका मानिसलाई भेटेर निम्ता गरेँ । विदेशी साथीहरू एक-एकलाई बोलाएँ । ओपन माइकमा गएर आफ्नो प्रस्तुति निखार्ने-तिखार्ने काममा लागिरहेँ । न्युयोर्कमा आफन्त, साथीभाइ भए पनि ब्रुकलिनको होस्टेलमा कोठा लिएर एक्लै ध्यानमग्न भएर बसिरहेँ । टाइलर-मेरो बूढा काम विशेषले नेपाल पुगिसकेका थिए ।

एक महिनाको यो दूरी साह्रै कठोर लाग्थ्यो, विशेषगरी यत्रो कार्यक्रमको संघारमा । अमेरिकन बूढा नेपालमा, नेपाली बूढी अमेरिका ! हाम्रो त लाइफ नै कमेडी भयो भनेर हामी ह्वाट्सएपमा हाँस्थ्यौंै । मेट्रोमा चढ्दा वरिपरि मान्छेलाई हेरेर मनमनै ‘तिमीहरू पनि मेरो कार्यक्रममा आउनु है’ भन्थे । सेन्ट्रल पार्कमा गएर रूखको अगाडि आफ्नो जोकहरू अभ्यास गर्थें । त्यतिबेला न्युयोर्क वरपर आँधीबेहरी चलिरहेको थियो, त्यसले न्युयोर्क पनि प्रभावित हुने सम्भावना थियो । सेन्ट्रल पार्कका रूखहरूलाई न्युयोर्कको हावा मेरो अनुकूल बनाइदिनु भनि आग्रह गर्थेँ ।

यसैबीच अर्को कमेडी क्लबले मलाई बोलायो । मैले पहिलोपटक दस मिनेटको प्रस्तुति दिएँ । यो मेरो हालसम्मकै उत्कृष्ट पर्फमेन्स बन्यो । ईएसपीएन पत्रिकाले यही प्रस्तुतिलाई विषय बनाएर लेख निकाल्यो । छोटो समयमै मूलधारको अमेरिकी सञ्चारले अन्तर्वार्ता लिँदा मैले पत्रकार एलिसालाई सोधँ, ‘म त भर्खर सुरुवात गर्दैछु, मेरो प्रस्तुति नराम्रो पनि हुन सक्छ ।

किन तिमी मेरो इन्टरभ्यु लिइराखेकी छौ ? यो तिम्रो समयको बर्बादी हुन सक्छ ।’ एलिसाले भनिन्, ‘यो पनि हिमाल चढ्नेजस्तै काम हो । हिमाल चढ्ने मान्छेले कमेडीको मञ्चमा उत्रिनु अर्को सगरमाथा हो । यो सहरमा तिमीले आँट गर्नु नै ठुलो कुरा हो । त्यसैले म यो रिर्पोटिङ गरिरहेको छु । यो इन्स्पाएरिङ कथा हो । अल्सो यु विल बि फाइन ।’

बुधबार राति साढे ९ बजे मैले न्युयोर्कको कमेडी सिनमा नाम बनाइसकेका, अमेरिकी टेलिभिजनमा देखापर्ने स्थापित चारजना कलाकारसँगै प्रस्तुति दिने भएँ । कार्यक्रम हेर्न अधिकांश नेपालीहरू नै आइपुगे । नेपालीले पहिलोपटक अमेरिकामा स्ट्यान्ड अप कमेडी गर्ने भनेर नेपाली समुदायमा निकै उत्साह मच्चिएको थियो ।

केही कलाकारहरूपछि म मञ्चमा उभिएँ । आफ्नो निजी जीवनको यथार्थलाई माध्यम बनाउँदै राजनीतिक व्यंग्य पस्किएँ ।‘मेरो बिहे अमेरिकनसँग भएको हो । आधा दुनियाँ अमेरिकाको भिसाको लागि लाइन लागेर बसेको छ, मेरो चाहिँ आफ्नै बेडरुममा निजी ग्रिन कार्ड सुतिराखेको छ । अब थाहा पाउनुभयो, तपाईंहरूको प्रथम महिला कस्तो महसुस गर्छिन् ।’दर्शक मजाले हाँसे ।

‘नेपाल र अमेरिकामा एउटा समानता छ- दुवै देशमा सबैथोक मेड इन् चाइना ! तर ट्रम्प आजकल चाइनासँग रिसाएका छन्, चाइनाले उत्तर कोरियालाई तह लगाउन सहयोग गरेन भनेर । चाइनालाई भने मतलव छैन । चाइना भन्छ- हेर हामी स्पष्ट छौं, हामी वान चाइल्ड पोलिसी फलो गर्छौं । एकपटकमा हामी एउटा बच्चालाई मात्र सम्हाल्न सक्छौं, कि त किम जोङ, कि ट्रम्प ।’

यसरी १५ मिनेट म स्टेजमा बगिरहेँ । कार्यक्रम क्लबले सोचेकोभन्दा बढी सफल रह्यो । क्लबका मालिक र प्रड्युसर दुवैले अर्को कार्यक्रमका लागि प्रस्ताव गरे । अर्कोपटक मलाई अझ बढी समय र पारि श्रमिक दिने प्रस्ताव पनि गरे । सोच्दा सबै सपनजस्तो लाग्छ । हुन त यो असाध्यै ठूलो कुरा होइन, मैले क्लबका लागि स्लो मानिने बुधबारको दिन अरू चारजना कलाकारको पंक्तिमा एउटा प्रस्तुति दिनमात्रै पाएको हँ । तर, यति अवसरका लागि अमेरिकन कमेडियनहरूले वर्षौं मेहनत गरेको मैले देखेको छु । तीमध्ये कतिले छक्क पर्दै मलाई सोधे, ‘तिमीले कसरी अवसर पायौ ? ’ भनेर ।

फर्केर हेर्दा मैले केही जवाफ पाएको छु । म नेपालबारे जुन कुराको सधैं गुनासो गर्थें, अमेरिकामा त्यही नै मेरो विशेषता बन्न पुग्यो । त्यहाँका नयाँ कमिकहरू पाँच मिनेटको प्रस्तुति तिखार्न वर्षौं लगाउँछन् । तर, मैले नेपालमा लामो प्रस्तुति दिनेदेखि आयोजनाका सबै पाटोमा तालिम पाइसकेको रहेछु । व्यवसायी ग्यालजेननुरु शेर्पाले खुसी हँदै मलाई सोधेका थिए, ‘मैले दशकौंमा न्युयोर्कमा नेपालीले स्ट्यान्ड अप कमेडी गरेको भन्ने सुनेको पनि छैन । तिमीले कसरी चान्स पायौ, त्यो पनि गथमजस्तो क्लबमा ? ’

ग्याल्जेन दाइ, मलाई पनि थाहा थिएन । तर, नेपालमा नबनेको मञ्चले मलाई न्युयोर्कको ठूलो मञ्चको लागि तयार पारिसकेको रहेछ । पर्वतारोहणले लाज नमान्न र आँट गर्न सिकाएको थियो, न्युयोर्कमा यसैले सफलता दिलायो । हिमाल चढ्ने र अझै ठूला मञ्चमा उभिने दुवै चाहना छँदैछन् । अझै पनि डर लाग्छ । तर, एक एक पाइलाको आँटले कतै त पक्कै पर्‍याउला, मसँग रोकिने विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.