नगेन्द्र-नारायणगोपाल : मृत्युञ्जय मित्रता

नगेन्द्र-नारायणगोपाल : मृत्युञ्जय मित्रता

 

‘कसले भन्यो नारायणगोपालको मृत्यु रक्सी खाएर भयो ? ’
एक बहसमा यो प्रतिप्रश्न मलाई गर्दै गर्दा वरिष्ठ गीतकार नगेन्द्र थापाको चेहरा आक्रोशित बन्यो ।
‘भन्नेहरू यही भन्छन् नि !’ मैले सुनिआएको ‘हल्ला’ बताएँ ।
‘होइन, बिलकुल होइन ।’ उनले प्रमाणका शाब्दिक तस्बिर देखाउन लागे, ‘मेडिकल्ली पनि सामान्यतः रक्सीको कारणले कसैको मृत्यु हुनका लागि लिभर बिग्रेको हुनुपर्छ । तर, उनको मृत्यु लिभर ड्यामेज भएर भएको नभई ‘डायबिटिज’का कारण किड्नी फेल भएर भएको हो ।’

वास्तवमा ‘पिउनु’ नारायणगोपालका लागि एउटा सामान्य दैनिकी थियो । यद्यपि यो सत्यलाई भने हामीले आश्चर्यका साथ स्वीकार्नुपर्ने हुन्छ कि, अलिकति पिएर उनले गाए भने त्यो गीत माधुर्य बन्थ्यो । गलत अर्थमा बुझिन्न भने, पिउनु उनको लागि एक प्रकारको वरदान थियो । नारायणगोपालको आफ्नै अनुभवमा- पिएपछि मात्रै उनी पूर्ण ‘फिलिङ’मा गाउन सक्थे । सुन्दा यो कुरो अस्वाभाविक लागे पनि नारायणगोपालको हकमा अपवाद थियो यो ।

‘मेरो बिहेमा उनले मज्जैले पिए ।’ फ्लासब्ल्याकमा जान्छन् नगेन्द्र थापा- ‘रातभर खानपिन चल्यो । उत्सव थियो । हामी कसैले रोकेनौं उनलाई । त्यसो त उनको जिद्दीसँग पौंठेजोरी खेल्ने हिम्मत कसको ? गुण भनौं कि अवगुण, नारायणगोपालले चाहेपछि त्यो गरेरै छाड्थे । डायबिटिजका रोगी उनी, मूलतः गुलियो खानबाट टाढै रहनुपथ्र्यो । एक दिनको घटना...’

नगेन्द्र थापा आफ्नो दैनिकीअनुरूप त्यो साँझ पनि नयाँसडकस्थित पीपलबोटमा कृष्णभक्त श्रेष्ठ लगायतका आफ्ना कलिगहरूसँग बात मार्दै बसिरहेका थिए । सदाझैं नारायणगोपाल पनि त्यहीँ आइपुगे र उनीहरूसँगै मिसिए । तर, केही क्षणमै उनी ‘म आइहाल्छु है’ भन्दै तुरुन्तै हिँडिहाले । वास्तवमा, यसरी आउने र तुरुन्तै हिँड्ने उनको प्रक्रिया धेरै दिन अघिदेखि चलिरहेको थियो ।

त्यसलाई थापाले मार्क गरिरहेको थिए- कहाँ जान्छन् यिनी र फेरि फर्केर आउँछन् ? त्यस दिन आफूभित्रको खुल्दुली मेटाउन उनी पनि नारायणगोपालको पछिपछि लागे । पीपलबोटबाट अलिक पर पुगेपछि नारायणगोपाल कृष्ण गुँदपाक भण्डारअघि उभिए र त्यहाँ केही किनेर आफ्नो खल्तीमा घुसारेपछि सरासर लागे न्युरोड गेटतर्पm । यता नगेन्द्रले गँदपाक पसलेलाई सोधेपछि साहूजीले बताए, ‘यी मान्छेले दिनहुँ दुई सय पचास ग्राम गुँदपाक किन्छन् ।’

त्यतिन्जेलसम्म नारायणगोपाल निकै पर पुगिसकेका थिए । नगेन्द्रले हतारहतार उनलाई पछ्याए ।
न्युरोड गेटअगाडिको मोडबाट नारायणगोपाल महाँकाल मन्दिरतर्फ मोडिए र मन्दिरको पछाडिको भाग टुँडिखेलतर्फ पुगेर अडिए । नगेन्द्र छलिएर हेर्दै थिए, अनायास देखे- खल्तीबाट अघि राखिएको गुँदपाकको पोको निकाले नारायणगोपालले, कतैतिर नहेरी पोको च्यातचुत पारे र गुँदपाक क्वाप्प मुखमा हाले । लगत्तै पीपलबोटमै फर्किए, त्यसअघि नै नगेन्द्र पनि त्यहाँ आइपुगिसकेका थिए । उनले केही थाहा नपाएभैmँ गरे र भोलिपल्ट नारायणगोपालको घरैमा आधिकारिक जानकारी दिँदै नसिहत दिलाए ।

नगेन्द्र थापाका आँखाहरूमा नारायणगोपालँग सन् १९६५ मा सुरु भएको मित्रताको त्यो इन्द्रावती अहिलेसम्म पनि उत्तिकै अविरल बगिरहेको छ ।

 

नगेन्द्र एक्ला त्यस्ता व्यक्ति थिए, जो नारायणगोपालको परिवारभित्र अत्यन्त नजिकका थिए । पारिवारिक कुनै पनि किसिमका समस्याको समाधानार्थ सल्लाहकार थिए उनी । जस्तो कि- घरपरिवारको अंशकन्डाको मामिलामा उठेको केही विवादमा समेत उनले निर्णायक भूमिका खेल्नु परेको थियो । गीतसंगीतको सन्दर्भमा भने नारायणगोपालप्रति उनका बुवा आशागोपाल गुरुवाचार्य सधैं चिन्तित रहने गर्थे, बारम्बार आफ्ना विश्वासपात्र नगेन्द्रलाई भन्ने गर्थे, ‘यसले गाइने गीत गाएर हिँड्नु भएन थापाकाजी । यसलाई क्लासिकल गीत गाउन लगाउनुपर्‍यो ।’

मित्रताको त्यो प्रवेश बिन्दु

सन् १९६३-६४ मा दार्जिलिङको सेन्ट जोसेफ नर्थ प्वाइन्टमा नगेन्द्र थापा अध्ययन गर्दै थिए । ईश्वरवल्लभ अनि गोपाल योञ्जन पनि त्यहीँ थिए । संगीत-अध्ययनका लागि बरोदा रहेका नारायणगोपाल पनि यही क्रममा १९६५ को सुरुतिर त्यहीँ आइपुगे ।
गोपाल योञ्जनले नगेन्द्रसँग उनको परिचय गराए ।
त्यो समय ! एउटा स्वर्णिम समय ! !
एक गीतकार- नगेन्द्र थापा
एक संगीतकार- गोपाल योञ्जन
एक गायक- नारायणगोपाल ।

नेपाली गीतसंगीतको इतिहासमा गठन भएको त्यो त्रिवेणीको समयलाई आजसम्म पनि संगीतानुरागीहरूले ‘स्वर्णिमकाल’को संज्ञा दिने गरेका छन् । संगीतका मर्मज्ञहरू कुनै धुकचुक नगरीकनै भन्ने गर्छन्- जुगजुगान्तरसम्म यो नाम उत्तिकै उज्यालो भएर रहिरहने छ ।
‘एक प्रकारको जादु थियो गोपालको संगीतमा । अनि त्यसमाथि नारायणगोपालको माधुर्य आवाज ।’ आफ्नो प्रथम गीतका पंक्ति सम्झन्छन् नगेन्द्र थापा-
बिर्सेर फेरि मलाई नहेर
यहाँ एक जीवन आँसुमा डुब्छ
निको भइसकेको पुरानो त्यो घाउ
अनायासै आज बल्झेर बढ्छ

दार्जिलिङ-बसाइमा झाँगिएको मित्रता यति प्रगाढ बन्यो कि कहीँकतै छुट्टिएको बेलामा पनि तीनैजनाले एकापसमा सन्चो-सुबिस्ताको खोजखबर गर्थे । त्यसको पुष्टि अहिलेसम्म पनि नगेन्द्रले बडो जतनपूर्वक राखेका त्यो बेलाका चिट्ठीले गर्छन् ।

एक गम्भीर प्रश्न

‘तपाईंले त्यसपछि फेरि किन गीत लेख्नु भएन ? ’ वरिष्ठ गीतकार नगेन्द्र थापा मेरो यो प्रश्नले सोचमग्न भए । र, जवाफ दिने मुडमा मानूँ एउटा रहस्यको खुलासा गर्न तयार भए, ‘एउटा खास कारण छ ।’
उत्सुकताले मेरा आँखाहरू विस्फारित भए ।
‘मेरो गीत-लेखनको प्रत्यक्ष सम्बन्ध सीधा नारायणगोपालसँग नभई गोपाल योञ्जनसँग जोडिएको छ ।’ उनी विश्लेषण गर्न लागे, ‘कसैले माने पनि नमाने पनि यो तथ्य सबैभन्दा ठूलो सत्य हो- नेपाली सुगम संगीत समृद्ध हुनुमा गोपाल योञ्जनको महत्वपूर्ण भूमिका छ । सायद धेरैले मार्क गरेकै छैनन् कि संगीतको क्षेत्रमा मात्रै होइन गीत-लेखनमा पनि गोपाल ‘मै हुँ’ भन्ने गीतकारहरूका दाँजोमा नम्बर एक थिए ।

मैले गीत लेख्दै गर्दा मलाई थाहा थियो- उनी एकदमै उम्दा गीतकार हुन् । वास्तवमै यो तथ्य उनले रचेका कुनै पनि गीतका शब्दलाई केलाउँदा प्रस्ट हुन्छ । ...यसकारण, मैले गीत लेखेर नारायणगोपाललाई गीत गाउन लगाउँदा गोपाल योञ्जनका गीति-लेखनलाई असर पुग्ला भन्ने सोचेँ । त्यसमाथि पनि गोपाल र नारायणको अभिन्न मित्रतामा मेरा गीति-लेखनको प्रवेशले कुनै ‘दरार’ पैदा नहोस् भन्ने म चाहन्थेँ । त्यसो त नारायणगोपाल वा गोपाल योञ्जन दुवैले कतिपटक गीत लेखिदिनुस् भनेर मलाई अनुरोध नगरेका होइनन् । तर मैले यी दुईका मित्रताबीच आफ्नो गीति-लेखनलाई टाढै राख्न मैले मनमनै संकल्प गरिसकेको थिएँ ।’

‘तर त्यसका अतिरिक्त पनि त तपाईंले गीत लेख्न सक्नुहुन्नथ्यो र ? ’ मैले आपूmभित्रको तुलबुल मेटाउन प्रश्नको सिलसिला जोडेँ, ‘अन्य संगीतकार-गायक÷गायिका नभएका हुन् र नेपालमा ? ’
‘साँच्चै भनूँ ? ’ एकछिन गम खाए नगेन्द्रले । र, मुस्कुराउँदै गर्वका साथ बोले, ‘हामी तीनको यस्तो त्रिवेणी नेपालमा त के सम्भवतः विश्वको इतिहासमै छैन । राजनीतिक पार्टी मर्ज भएजस्तो र फेरि तुरुन्तै हुने फुटजस्तो हाम्रो मित्रता कहिल्यै भएन ।

मान्छेले नपत्याउलान्, हामीबीच कहिल्यै पनि कुनै विषयमा झिनो अंशमा पनि कटुता भएन । यस्तो गौरवान्वित हुने ठाउँ छ हाम्रो मित्रतामाथि । यस अर्थमा, मैले यो गर्वलाई अन्यतर्पm बाँड्न नखोजेकै हो । अर्को कुरा, संगीतका पारखीहरूले भनेजस्तै मेरो शब्दरचनामा गोपाल योञ्जनले ट्युन गरेर नारायणगोपालले गाएको जस्तो मिठास अन्यको कम्पोजिसनमा दोस्रो गायकले गाउँदा हुन सक्दैन भन्ने मेरो सधैं ठम्याइ रहिरह्यो; जसअनुरूप मैले गीत लैख्न नै ठ्याक्कै छाडिदिएँ ।’

तथापि नारायणगोपाल र गोपाल योञ्जन दुवैको निधनपछि, दुईचारवटा गीत नारायणगोपालको स्वरमा रेकर्ड गराएको भए आकाशै खसिहाल्दैनथ्यो कि भन्ने पश्चात्तापले भने कहिलेकाहीँ नगेन्द्रलाई पोलिरहन्छ ।
‘नारायणगोपाल गायक नभएका भए के हुन्थे होलान् ? ’ भिन्न जिज्ञासा मेरो ।
‘एक घगडान इतिहासकार हुन्थे ।’ नारायणगोपालको बारेमा नयाँ कुरो बताए उनले, ‘धेरैलाई यो कुरो थाहै छैन, नेपालको इतिहासको कुनै पनि क्षेत्रका जानिफकार थिए उनी । तर, यसको अर्थ जोडजुलुम गरेर उनलाई अन्य क्षेत्रतर्पm आकर्षित गर्नै सकिन्नथ्यो । नियतिले उनको नशामा संगीतकै रगत नै सञ्चार गराएको थियो ।

खुर्सानीकुमार

खानपिउनमा अत्यन्त सोखिन थिए उनी । खास गरेर खसीको ह्याकुला उनको सबैभन्दा प्रिय परिकार थियो । पीरो खानमा पनि उनको उत्तिकै रुचि थियो । रातो खुर्सानीको अचार निकै मन पराउने भएकाले मेरी आमाले उनको नाम नै ‘खुर्सानीकुमार’ राखिदिनुभएको थियो ।खाना बनाउनसमेत उनी माहिर थिए । ‘नेसनल जोग्राफी’ नामक म्यागजिनका नियमित पाठक थिए।

चेसको त खेलाडी नै थिए नारायणगोपाल । तास पनि खेल्ने गर्थे । फुटबल खुब हेर्थे ।
पहलमानीसमेत गर्थे उनी । पहलमानीको प्रसंग आउँदा नगेन्द्र एउटा रमाइलो घटना सम्झन पुग्छन्-
‘न्युरोड पीपलबोटको ‘इन्दिरा’ रेस्टुराँमा उनले एक दिन निश्चित समयमा मलाई बोलाए । र, सँगै बसेर चिया पिउन लागे । एकैछिनमा, अर्को छेउमै बसेर चिया पिइरहेका केटाको कठालो समातेर उनले ताने र पकापक पिट्न लागे । ‘एइ, के गरेको तिमीले ? ’ भनेर मैले भन्न पाउँदानपाउँदै त्यो मान्छेलाई घिसार्दै उनले ढोकामा पुर्‍याए । केही छिनपछि थाहा भयो- त्यो मान्छे त्यस बेलाको एक चर्चित फुटबल खेलाडी रहेछ, जसले नारायणगोपालकी कान्छी बहिनीलाई बाटोमा जिस्क्याउने गरेको रहेछ ।

‘एउटा अर्को दिन, मलाई आपूmले गर्ने गरेको सम्बोधन गर्दै नारायणगोपालले भने- सोम ! भोलि घरमा आउनू है, म तिमीलाई हनुमान नाच देखाउँछु । जब म उनको घर पुगेँ, उनी सदाझैं लुंगी लगाएर बसेका थिए । म पुग्नासाथ उनले मलाई आफ्नो संगीतकक्षमा लगे र आफूले लगाइराखेको लुंगीको फेर पछाडिको भागमा लगेर घुसारे अनि आफूले बजाउने गरेको तानपुराको छेउ समाते र हनुमानले गदा घुमाएझैं घुमाउँदै उफ्रीउफ्री नाच्न लागे ।’ त्यो बेलाको दृश्यले आज पनि रोमाञ्चित पार्दो रहेछ नगेन्द्र थापालाई, ‘बडो रमाइला खालका व्यक्ति थिए उनी, आँखामा राख्दा पनि नबिझाउने।’

यथार्थमा, मेलै महसुस गरेँ नगेन्द्र थापाका आँखाहरूमा- सन् १९६५ मा सुरु भएको त्यो मित्रताको इन्द्रावती अहिलेसम्म पनि उत्तिकै अविरल बगिरहेको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.