मुम्बईमा सफल नेपाली जितेन्द्र : शोभा कपुरका दाहिने हात
युनिट नम्बर ३०८÷३११
किल फायर प्रिमिसेज, न्यु लिंक रोड
अँधेरी वेस्ट, मुम्बई
ब्याट्स अपमा उनले माथिको ठेगाना पठाए । मुम्बईसँग उत्ति साह्रो घुलमिल नभएकाले होला, ठेगानामा ठ्याक्कै पुग्न अलिक गाह्रो भयो । तर, उनले काम गर्ने कम्पनी खोज्न भने गाह्रो थिएन । टेलिभिजन धारावाहिक उत्पादन गर्ने भारतको अत्यधिक सफल कम्पनी, बालाजी टेलिफिल्मस् जसले पनि देखाइदिन्थ्यो । बलिउड सदाबहार अभिनेता जितेन्द्रको पारिवारिक कम्पनी, उनकी छोरी एकता कपुरको सफलताको मानक कम्पनी हो ।
सो कम्पनीमा एक सय बढी नेपाली कार्यरत छन् भन्ने सुनेको थिएँ । अनि यी सबैका अभिभावक, रवि भट्टराई, पोस्ट प्रोडक्सन तथा टेक्निकल डाइरेक्टर । भट्टराई पोखराका हुन् । बालाजीको मुख्य बिल्डिङभन्दा अलिक पर रहेको किल फायर प्रिमिसेजको तेस्रो तल्लामा दृश्य सम्पादन युनिटको नेतृत्व गरिरहेका छन् भट्राईले । केही वर्षअघि बालाजीको मुख्य बिल्डिङकै तेस्रो तलामा उनको कार्यकक्ष थियो । तर, कार्यक्रम सम्पादन विभाग (पोस्ट प्रोडक्सन डिपार्टमेन्ट) छुट्टै बनाउने कम्पनीको निर्णयबमोजिम उनका सहयोगीसहितको युनिट प्रिमिसेजमा सारिएको रहेछ ।
रिसेप्सनकर्मीले फोन गरेर पंक्तिकार आएको जानकारी दिइसकेकाले उनको कार्यकक्षमा जान कुनै अवरोध थिएन । ससाना दृश्य सम्पादन कक्ष (एडिटिङ क्याबिन) छिचोल्दै उनको कार्यकक्षमा पुगियो । यसै पनि नेपालीका लागि उनको भेट सहज छ । भारतीय सहकर्मीले दादा अनि नेपालीले रवि दाइ नाता लगाएर बोलाउँछन् उनलाई । कार्यकक्षमा पुग्दा टेलिसिरियलका लागि अडिसन दिन भनेर एक नेपाली युवती बसिरहेकी थिइन् । उनलाई अडिसनको स्थान र सम्पर्क व्यक्तिको नम्बर तथा केही टिप्स दिएर बिदा गरे । ‘चयन हुनु नहुनु उनीहरूको क्षमतामा भर पर्छ । तर सिरियलमा खेल्छु भनेर आउनेलाई अडिसनका लागि पठाइदिन्छु’, भट्राईले बताए । सिरियल कलाकार बन्ने चाहनामा उनीकहाँ नेपाली युवकयुवती नियमितझैं आउँदा रहेछन् ।
...
नेपाली दर्शकमाझ केही वर्षअघिसम्म भारतीय टेलिसिरियलको जबरदस्त प्रभाव थियो । हम पाँच, क्यूँ कि सास भी कभी बहु थी, कहानी घर घरकी, कसौटी जिन्दगीकीदेखि बडे अच्छे लगते हैजस्ता सिरियलको भारतीय दर्शकमाझको लोकप्रियता नेपालका तराईका गाउँसहरदेखि राजधानीसम्म पुगेको थियो । ती कार्यक्रम उत्पादनमा नेपालीको पनि मेहनत र योगदान रैछ भन्ने कुरा धेरै पछि मात्र बाहिर आयो ।
रवि भट्टराई बालाजी स्थापनाकालदेखि नै विभिन्न भूमिकामा काम गर्दै पोस्ट प्रोडक्सन विभागको प्रमुख भएका हुन् । पंक्तिकार पुग्दा उनको अलगअलग सम्पादन कक्षमा कलर्स, स्टार प्लस, जीटीभीबाट प्रसारण भइरहेको ये है मोहब्बते, कुमकुम भाग्य, कुण्डली भाग्य, चन्द्रकान्ता, चन्द्रगुप्त मौर्यलगायत धारावाहिकको दृश्य सम्पादनको कार्य भइरहेको थियो ।
स्पट ब्वायका रूपमा प्रवेश
टेलिसिरियल उत्पादन गर्ने एसिया तथा मध्यपूर्वी मुलुकहरूको उत्कृष्ट कम्पनीको रूपमा स्थापित बालाजीको सिनेमा निर्माणमा बालाजी मोसन पिक्चर्स अनि डिजिटल कम्पनीका रूपमा अल्ट, बोल्ट इन्टरटेनमेन्ट तथा अनलाइन दर्शकलाई लक्षित गरेर अल्ट बालाजी एपलगायत बहुकम्पनीहरू स्थापना भइसकेका छन् । तर, यीमध्ये जेठो कम्पनी टेलिफिल्मस् र रविको संलग्नताको उमेर बराबरी छ । २३ वर्ष भइसक्यो, बालाजीमा निरन्तर कार्यरत छन् रवि । उनी एकैपटक पोस्ट प्रोडक्सन प्रमुख बनेका होइनन् । सन् १९९४ मा स्थापित यो कम्पनीमा स्पट ब्वायका रूपमा छिरेका थिए उनी ।
यहीँबाट मुम्बई आएको एक दशक पछिको संघर्षमय यात्रा बल्ल उकालो लागेको थियो । १८ वर्षको उमेरमा मुम्बई छिरेका उनी २८ वर्ष पुग्दा बालाजी प्रवेश गरेका थिए । क्यामरा तथा इक्विपमेन्ट टेकर भन्ने पोस्ट दिइयो पछि । मासिक पाँच हजार रुपैयाँबाट सुरु भएको उनको यात्रा अहिले पाँच लाख पुगेको छ । भन्छन्, ‘अन्य कम्पनीमा गएको भए यहाँभन्दा दोब्बर पैसा कमाउथे हुँला तर यहाँ पाएको मानसम्मान अनि आफ्नोपन नपाउन पनि सक्थंँ, बालाजी मेरो लागि परिवारजस्तो छ ।’ उनले अन्त गएर यो जोखिम मोल्न चाहेनन् । त्यसैले अन्त मन नै डुलाएनन्।
अब त उनलाई बालाजीको भीष्मपितामह नै भन्न थालिएको छ । भन्छन्, ‘आफ्नो इच्छाले काम गर्न म स्वतन्त्र छु । उमेरले साथ दिएसम्म काम गर्न सक्छु । मलाई कसैले निकाल्दैन यहाँबाट ।’ सयजना स्थायी कर्मचारी छन् यहाँ, उनी पाँचौं नम्बरमा पर्छन् ।मुम्बईको संघर्ष
बालाजीमा छिर्नुअघि छुट्टै कथा छ उनको । ३३ वर्षअघि सन् १९८४ मा भट्टराई मुम्बई छिरेका थिए । कास्कीको दाङ्सी हंशपुर गाविसको दाङ्सीमर्याङ सानीचौर गाउँमा जन्मेका हुन् उनी ।
उमेरको बाउन्नौं वसन्तमा छन् उनी अहिले । रवि (आइत) वारको दिन जन्मेकाले हुँदा रवि नाम राखिएको आमा बालकुमारी भट्टराईले भनेको सम्झन्छिन् । पाँच भाइ र एक बहिनीमध्येका तेस्रो सन्तान हुन् भट्टराई । खेतीकिसानी गर्ने परिवारमा खानलाई दुःख त थिएन ।
उनका बुबा गजाधर भट्टराईले जे काम अह्राउँदा पनि उनी अटेर गर्थे । उनी पुराना कुरा सम्झन्छन् । एक दिन गहुँ काट्न खेतमा जा भन्दा पनि उनले नसुनेझंै गरेछन् । त्यसपछि दिक्क मानेर तीन सय रुपैयाँ थमाउँदै जहाँ गएर पनि गरी खा भनेर एक प्रकारले घर छाड्न अल्टिमेटम दिएछन् । त्यति बेला गाउँका एकदुई साथीभाइबाट मुम्बईका बखान सुनेका थिए उनले । उनका माइला दाइ वामदेव भट्टराई नै मुम्बईको बम्बे डाइङ (कपडाको ब्रान्ड) कम्पनीमा गार्डको काम गर्थे ।
यसरी जे गरेर भए पनि पेट पालूँला भन्ने ईख बोकेर बाबुले नपत्याएका रवि मुम्बई हानिए । अन्धेरी स्टेसनमा एक नेपालीकै ठेलागाडीमा भाँडा धुने काम गरे । राति १२ बजे पुलिस आउँथ्यो, पिट्थ्यो । पुलिस स्टेसन लिएर जान्थ्यो । बिहान मालिकले पैसा दिएर छुटाएर ल्याउँथ्यो, गाउँमा दूधभात खाएर बरालिएको सम्झे उनले । एक महिनामा पछि त्यो काम छाडे । दाइले घर फर्की भने, उनले मानेनन् । ‘एउटा स्टेसनबाट बस चढायौ भने अर्को स्टेसनमा उत्रिन्छु तर घर फर्किन्नँ’, दाइका सामु अडिए उनी । तीनचार घन्टाको कुराकानीमा तीन दशकको अनुभव विस्तार गरेर किमार्थ सकिँदैनथ्यो । ‘मुम्बईले संघर्ष गर्न सिकायो, माया दियो, चोट र पीडा पनि दियो’, उनले बेलिबिस्तार लाउँदै गए ।
धारावाहिक रामायणमा
एक जना छतमा एन्टेना हल्लाउने अनि अर्कोले टेलिभिजन सेटको नजिकबाट आयो आयो, गयो गयो भनेर चिच्याउने एक समय थियो । सन् १९८७ तिर टेलिभिजनको प्रारम्भिक युग नै भन्नुपर्छ, श्यामश्वेत (ब्ल्याक एन्ड ह्वाइट) टीभीमा ऐतिहासिक धारावाहिक रामायण र महाभारत हेर्दाको त्यो अनुभव अहिले पनि ताजा हुन्छ । हिजोआजको जस्तो टेलिभिजन च्यानलहरू छ्यापछ्याप्ती थिएनन् पनि । भारतीय सरकारी च्यानल दूरदर्शनको एकलौटी वर्चश्व थियो । प्रत्येक आइतबार बिहान ऐतिहासिक धारावाहिक ‘रामायण’ प्रसारण हुन्थ्यो । त्यसको दुई वर्षअघि नेपाल टेलिभिजनको सुरुआतले श्रव्यदृश्यको स्वाद चखाइसकेको नेपाली दर्शकहरूमाझ पनि यो धारावाहिकको नशा लागिसकेको थियो ।
७८ शृंखलाको यो धारावाहिकको सुटिङ नजिकबाट नियालेका एक पात्र हुन् रवि । कामको खोजीमा रवि गुजरात पुगेका थिए । त्यहाँ उमरगाँवस्थित वृन्दावन स्टुडियोमा रामायणको सुटिङ चलिरहेको थियो । सो स्टुडियोमा बागलुङका मदन थापा काम पनि गर्थे । उनैले रविलाई पनि त्यही स्टुडियोमा वाचम्यानको काममा लगाइदिए । त्यहाँ सेटिङदेखि स्पट ब्वायको काम गरे । अजित नायक भन्ने सिनियर क्यामरापर्सन थिए । उनलाई आग्रह गरेर क्यामरा विभागमा छिरे, क्यामरा अटेन्डेन्ट÷टेकरको रूपमा । त्यसपछि पछाडि फर्केर कहिल्यै हेरेनन् उनले ।सिरियलको सुटिङ एक महिना हुन्थ्यो अनि प्याक अप । भन्छन्, ‘एक महिना कमाउँथेँ र मुम्बई फर्किन्थेँ । खर्च सिद्धिसकेको हुन्थ्यो, फेरि सुटिङ सुरु हुन्थ्यो अनि गुजरात फर्किन्थेँ ।’
औपचारिक शिक्षा १० कक्षा अनुत्तीर्ण रविलाई प्राविधिक ज्ञान लिन प्रमाणपत्र आवश्यक थिएन । लाइट, क्यामेरा, साउन्ड (ध्वनि) नियन्त्रणलगायत प्री प्रोडक्सनदेखि पोस्ट प्रोडक्सनसम्मको सबै काम सिक्दै गए । ‘भगवान्को आशीर्वाद पनि हुनुपर्दो रहेछ’, भित्तामा टाँगिएको गणेश र बालाजीको तस्बिरतर्फ इंगित गर्दै उनले भने । टेलिभिजनमा भीएचएस (भिडियो होम सिस्टम) हाईब्यान्ड, लोब्यान्ड, बिटा, डीजी बिटा (डिजिटल) हुँदै एचडी (हाई डेफिनिसन) प्रविधिको प्रयोग सुरु भइसक्यो । २ के, ४ के रिजोलुसन प्रयोग हुन थालिसक्यो । समयसँगै भट्टराई पनि यी सबै प्रविधिसँग अभ्यस्त छन् ।
शोभा र एकता कपुरसँग हिमचिम
६० देखि ८० को दशकका बलिउडका सदाबहार सफल अभिनेता जितेन्द्रकी श्रीमती शोभा कपुर । बालाजी टेलिफिल्म्स्की प्रबन्ध निर्देशक । अध्यक्ष जितेन्द्र नै भए पनि कम्पनी शोभा र उनकी एकमात्र छोरी एकताले सम्हालेका छन् । दुवै जनासँगको कामको अनुभव छ, भट्टराईको । तर, उनी शोभासँग बढी सहज छन् । स्थापनाकालदेखि कम्पनीको सुखदुःखको साक्षी छन् ।
अभिभावकका रूपमा हुर्काएकाले शोभालाई उनी कर्म दिने आमा भन्छन् । ‘जन्म दिने आमा पोखरामा हुनुहुन्छ’, भावुक हुँदै भट्टराईले भने, ‘तर कर्म दिने आमा मुम्बईमा ।’ वर्षको एकपटक लामो बिदा लिएर उनी पोखरामा आमा भेट्न जान्छन् । सहर, गाउँ, पाखापखेरामा रमाउँछन् । भन्छन्, ‘बिदा स्वीकृत गराउँदा जन्म दिने आमालाई भेट्न जाने भनेरै माग्छु ।’ एचआरबाट नभई उनको बिदा शोभाले नै स्वीकृत गर्छिन् ।
रविको नेपाल योजना
भविष्यमा नेपाल फर्किने आधार तयार पार्दैछन् रवि । भारतीय बजारमा सिरियलको अप्रत्याशित सफलताको स्वाद चाखेका उनले नेपाली टेलिभिजनका लागि नलेखिएको साइनो र खुसी पलभरको धारावाहिक बनाइसकेका छन् । यहाँ क्रिएटिभ मनकामना प्रोडक्सन हाउस खोले । तीन घुम्ती, दुलहीजस्ता चलचित्रमा पनि लगानी गरे तर सफल भएनन् । प्राविधिक ज्ञानमा दक्ष भट्टराई व्यवस्थापनमा चुके । तीन खोका (करोड) डुबाएपछि उनलाई आफू चुकेको ज्ञान भयो । ‘पैसा डुबाएपछि म झल्याँस्स भए । अब व्यवस्थापकीय दक्षताका साथ योजनाबद्ध ढंगले अगाडि बढछु’, उनले भने । नेपाली चलचित्र बनाउने योजना छ उनको ।
नेपालमा जनयुद्धताका विकसित नेपाल बन्दको प्रवृत्तिले उब्जाएको आशंका अझै पनि हटेको छैन बलिउडमा । भन्छन्, ‘मनोविज्ञान नै बदल्न सकेका छैनौं हामीले नेपालबारे । हम पाँच सिजन २ को सुटिङका लागि नेपाल जाने कुरा भएको थियो । पछिल्लो मधेस आन्दोलनले उब्जाएको घटनाक्रम बाधक बन्यो’, समसामयिक राजनीतिक घटनाक्रमको प्रतिकूल प्रभावको कुरा उप्काए उनले ।
‘नेपालमा सुटिङ गर्दा अन्य मुलुकको तुलनामा आधा खर्च पर्छ, त्यसो भन्दैमा टीभी तथा सिनेमाका छायांकन युनिट सहजै नेपाल जाँदैनन्’, उनले भने । ‘भारतीय सिरियलको सुटिङ युनिटसमेत युरोप, अमेरिका, मलेसिया, सिंगापुरलगायतका मुलुक पुग्छन् । त्यसका लागि सम्बन्धित मुलुकको पर्यटन बोर्डजस्ता निकायले आकर्षक प्याकेज बनाएर डिल गर्छन् । कलर्स च्यानलबाट प्रसारण भइरहेको ये है मोहब्बते सिरियलको सुटिङ युनिट अस्ट्रिया गएको पछिल्लो यात्राबारे बताउँदै उनले भने ।
एक अवार्ड कार्यक्रममा सहभागी हुँदा सिक्किम सरकारले ५० लाख छुटको घोषणा गर्दै सिक्किममा सुटिङ गर्न आह्वान गरेको सम्झिए उनले । सुटिङस्थलका रूपमा नेपालको प्रवद्र्धन गर्ने हो भने दक्षिण एसियाको स्विट्रजरल्यान्ड बनाउन सकिन्छ भन्नेमा विश्वस्त छन् उनी । पोखरा, मनाङ, मुस्ताङ, जोमसोम, अन्नपूर्ण बेस क्याम्प, खप्तडजस्ता सुन्दर स्थान छन् छायांकनका लागि ।
बालाजीकै सम्बन्धनमा नेपालमा अभिनय तालिम संस्थान लैजाने योजना पनि बनाइरहेका छन् रवि । त्यसैगरी चलचित्र अथवा सिरियल सुटिङका लागि एउटा सुविधासम्पन्न स्टुडियो बनाउने सोच छ । नेपालमा दक्ष प्राविधिक जनशक्ति रहेको बताउँदै उनले भने, ‘ग्राफिक्स, एनिमेसनमा नेपाल निकै अगाडि छ ।’
श्रीमती र तीन सन्तानसहित गोरेगाव मल्लाहमा धीरज जमुना सोसाइटीको ७०२ नम्बर फ्ल्याटमा बस्छन् उनी । उनका जेठा छोरा सागर भट्टराई(२२) पनि उनकै पदचिह्न पछ्याइरहेका छन् । सागर आहिले कुण्डली भाग्यरेखा सिरियलमा असिस्टेन्ट डाइरेक्टरका रूपमा काम गर्दैछन् । छोरी एमबीए अनि कान्छो छोरा ११ कक्षामा पढ्दैछन् । उनका काइँलो भाइ श्रीधर भट्टराई क्यामेरा विभाग प्रमुख छन् बालाजीमा ।
सहकर्मीका नजरमा रवि
‘रवि दाइ सबैका लागि सहयोगी हुनुहुन्छ । नेपालीका लागि त झनै । काम खोज्दै आउनेलाई कहिल्यै फर्काउनुहुन्न’, बालाजीमै पाश्र्व ध्वनि निर्देशकका रूपमा काम गरिरहेका विनोद घिमिरे भन्छन् । सत्र वर्षअघि चितवनबाट मुम्बई आइपुगेका घिमिरेलाई भट्टराईले नै बालाजी भित्याएका थिए । अहिले उनी मासिक डेढ लाख रुपैयाँभन्दा बढी पारि श्रमिक थापिरहेका छन् ।
‘आफूभन्दा जुनियर कर्मचारीलाई सम्मान दिनु रविको स्वभाव हो’, बीस वर्षदेखि उनीसँग काम गरिरहेका वरिष्ठ दृश्य सम्पादक विकास शर्मा भन्छन् । भारतीय तथा नेपाली प्राविधिकको समूहलाई नेतृत्व गरिरहेका रविको प्रोडक्सन टिमका दृश्य सम्पादक शर्मा भारतीय हुन् । रविको सरल र सहयोगी स्वभावबाट प्रभावित शर्मा भन्छन्, ‘अनुभवले खारिएका भट्टराई आफ्नो काममा दक्ष छन् । उनी बडे भाइ हुन् हाम्रा लागि । गलत काम हुन दिँदैनन् ।’
सामाजिक कार्य पनि
व्यस्तताका बीच पनि भट्टराई सामाजिक कामका लागि समय निकाल्छन् । मुम्बईमा बेचिएका चेलीबेटीहरूको उद्धार तथा समस्यामा परेका नेपालीका लागि संयुक्त नेपाली महासंघ नामक सामाजिक संस्थामा आबद्ध रहेर सहयोग गरिरहेका छन् उनी । ‘आफूले संघर्ष गर्दाको पीडा थाहा छ, त्यसैले नेपालीका लागि यो ढोका सदैव खुला राखेको छु’, कार्यकक्षको ढोका देखाउँदै उनले भने ।
गार्डले रोकेको बालाजी बिल्डिङमा रविसँगै जाँदा गार्डले सेल्युट ठोक्यो । मुम्बईमा वाचम्यानको काम गरेको अनुभव उनको पनि थियो । मैले अनुमान गरेँ, बालाजीमा प्रवेश गर्दाको समयमा उनले कतिलाई सलाम ठोके होलान् । तत्कालीन प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा आउँदा मुम्बईमा आयोजना गरिएको एक रात्रिभोज कार्यक्रममा बालाजीका अध्यक्ष जितेन्द्र पनि सामेल थिए । उनले मेरो कम्पनीमा दुई सय कर्मचारीको क्याप्टेन नेपाली छ भनेर प्रधानमन्त्री ओलीसमक्ष गरेको प्रशंसा उही रवि भट्टराईकै थियो ।
जीवनमा सिकेर कहिल्यै सकिँदैन, अझै सिक्दैछु । गफिँदै कम्पनीको शोभा, एकताहरूले डाक्ने मिटिङ हलसम्म पुर्याए उनले । मिटिङ हल खाली थियो । ‘साताको दुईपटक मिटिङ हलमा बस्दा आफू मुम्बई आएर गरेको संघर्षका ती दिन म कहिल्यै बिर्सन्नँ’, नोस्टाल्जिक भए उनी ।