सार्थक सिनेमाको लत

 सार्थक सिनेमाको लत

 

साहित्यपछि मेरो एडिक्सन फिल्म हो । साहित्यमा म मूलत: सर्जक हुँ । त्यसपछि मात्र पाठक । फिल्ममा भने म विशुद्ध दर्शक । हो, फिल्म निर्देशन गर्ने सपना मेरो पनि नभएको होइन । तर, त्यसका लागि आवश्यक प्राविधिक ज्ञानको अभाव र सम्बन्धित क्षेत्रका विज्ञसँग बढाउनुपर्ने सम्बन्ध विधानप्रति शाश्वत उदासीनताले आधाभन्दा बढी उमेर घर्किसकेको मलाई बोध छ । तैपनि आफ्नै केही कथामा फिल्म निर्देशन गर्ने सपना मैले त्यागिसकेको छैन । हितैषीहरू भन्छन्, ‘निर्वाण’, ‘अतको सत्याग्रह’, ‘मोडेल’, ‘रिपोर्टर’, ‘संघर्ष’ जस्ता मेरा कथामा सार्थक कला फिल्म बन्न सक्छन् ।

प्रवेश बिन्दु

मेरो वैचारिकता उन्नत मानवीय संघर्ष र सामाजिक सरोकारप्रति ढल्किएको छ । तर, ग्रन्थी आत्मनिर्वासनमुखी भएको मलाई थाहा छ । मूलत: यथार्थवादी सिनेमा मेरा लागि आत्मनिर्वासनका भरपर्दा सहयात्री हुन् । औसत मनोरञ्जक हिन्दी, नेपाली, चिनियाँ कुङ्फु र यदाकदा अश्लील फिल्मबाट सुरु भएको मेरो फिल्म एडिक्सनले त्यतिखेर एउटा मोड लियो, जब मैले सार्थक फिल्ममाथि लेखिएका केही टिप्पणी पढेँ । अन्यथा पछिसम्म म तेस्रो दर्जाका हिन्दी फिल्म देखाउने भक्तपुरका गल्लीहरूमा भिडियो हलबाट प्रहरीद्वारा बारम्बार पक्राउ पर्थें । बारम्बार मलाई जिल्ला प्रहरी कार्यालयको गेटसम्म सुकुल बोकेर जानुपर्ने सजाय दिइन्थ्यो ।

कैयन् पल्ट छाना र कोठा हुँदै भागेर बचेको थिएँ । ०४८ सालमा लक्ष्मीनाथ शर्माको किताब ‘चलचित्रकला’ पढेपछि विश्व सिनेमाप्रति मेरो प्रेम र जिज्ञासा असीम भयो । शर्माको किताबमा भारतीय फिल्मकार सत्यजीत रेदेखि इटालीका भित्तोरियो डेसिका, जापानका अकिरा कुरुसावा, नागिसा ओसिमा, पोल्यान्डका आन्द्रे बाज्दा, हंगेरीका मिक्लोस याङ्सो, इटालीका भित्तोरियो डेसिका, फेडेरिको फेलिनी, माइकलएन्जेलो एन्तिनिओनी, अमेरिकाका ओर्सन वेल्स, जँ फोर्ड, अल्फ्रेड हिच्कक, फ्रान्सका जँ ल्युक गोदार्ड, रोबर्ट बे्रस्सोँ, स्विडेनका इंगमार बर्गम्यान, बेलायतका चार्ली च्याप्लिन र डेभिड लिनसम्मका प्रख्यात फिल्मबारे चर्चा गरिएको छ ।

म तेस्रो दर्जाका हिन्दी फिल्म देखाउने भक्तपुरका गल्लीहरूमा भिडियो हलबाट प्रहरीद्वारा बारम्बार पक्राउ पर्थें । बारम्बार मलाई जिल्ला प्रहरी कार्यालयको गेटसम्म सुकुल बोकेर जानुपर्ने सजाय दिइन्थ्यो ।

पढ्न त पाइन्थ्यो । तर, त्यतिखेर हामीजस्ता निम्नमध्यमवर्गीय दर्शकले डेक राखेर निजी तवरले सिनेमा हेर्न सम्भव थिएन । झन् राम्रा र क्लासिक सिनेमाबारे सर्वसाधारणलाई थाहै हुँदैनथ्यो । कुनै हलमा पनि यस्ता फिल्म लाग्दैनथे । आजजस्तो संसारका झन्डै जुनसुकै सिनेमा मोबाइलमै हेर्न पाइने त त्यतिखेर कल्पनासमेत गर्न सकिन्नथ्यो ।

गोयथेमा जर्मन सिनेमा

पचासको सुरुका केही वर्षसम्म काठमाडौंस्थित जर्मनीको सांस्कृतिक केन्द्र गोयथे इन्स्टिच्युटले प्रत्येक बिहीबार प्रसिद्ध जर्मन सिनेमा नि:शुल्क देखाउँथ्यो । राम्रा र सिर्जनशील सिनेमासँग मेरा पहिलो जम्काभेट त्यहीँ भएको हो । अत: त्रिचन्द्र कलेजमा समाजशास्त्र र राजनीतिशास्त्रको खुकुलो कक्षा सकेर त्यसताका प्रत्येक बिहीबार मेरो साँझको अखडा त्यहीँ जम्थ्यो ।

इन्स्टिच्युटमा प्रदर्शित फिल्म युरोपमा र कतिपय त विश्वमै चर्चा पाइसकेका हुन्थे । साइलेन्ट युगको प्रख्यात फिल्म ‘क्याबिनेट अफ डा. कालिगिरी’देखि जर्मन सिनेमाको आधुनिक क्लासिक्स ‘अग्विरे : द र्‍याथ अफ गड’ मैले त्यहीँ हेर्न पाएको हुँ । तिनका अतिरिक्त जीडब्लू पाब्स्ट, वेर्नर हर्जोग, रेनार्ड हाफ, आलेक्सान्द्र क्लुगे, भोल्कर स्क्लोन्डोर्फ, मार्गरेट भोन ट्रोटा, रेनर वेर्नर फ्यासविन्डर, विम वेन्डर, कोनार्ड वल्फ रेट्रोजस्ता विश्वप्रसिद्ध जर्मन निर्देशकका सिनेमालाई म सर्वाधिक सम्झन्छु ।

यीमध्ये पनि अमेरिकी उपन्यासकार नाथानियल हाथोर्नको उपन्यासमा आधारित विम वेन्डरको स्कारलेट लेटर, वेर्नर हर्जोगको कोन्ट्रा भर्डे, रेनार्ड हाफको माथियस निसल, भोन ट्रोटाको सिस्टर्स : अर द ब्यालेन्स अफ ह्यापिनेस्जस्ता सिनेमा अहिले पनि मेरो सम्झनाको रिलमा घुमिरहन्छन् । तिनले मानवीय संवेदनाको भित्री तहलाई स्पर्श गर्छन् ।

सिस्टर्स : अर द ब्यालेन्स अफ ह्यापिनेसमा जुत्ता लाम्पेले अभिभावक दिदी र गुडरिन गोनरिलले अन्तर्मुखी बहिनीको भूमिकामा अत्यन्त सुन्दर अभिनय गरेका छन् । अन्तर्मुखी बहिनीले आत्महत्या गरेपछि ‘पराई रगत’लाई बहिनी बनाउने दिदीको सपनाले सिर्जना गरेको असन्तुलनलाई फिल्मले अत्यन्त सुन्दर क्यानभासमा उतारेको छ ।

बजेट अभाव दर्शाई जर्मन सरकारले पछि इन्स्टिच्युट बन्द गरायो । हाल त्यहाँ गोयथे सेन्टर नेपालले जर्मन भाषा कक्षा र रेस्टुराँ सञ्चालन गरिरहेको छ । इन्स्टिच्युट बन्द हुनु के थियो, मेरो नियमित दर्शकमा ब्रेक लागिहाल्यो ।

पहिलो अन्तर्राष्ट्रिय फिल्म उत्सव

सन् १९९३ को नोभेम्बरमा काठमाडौंमा पहिलोपल्ट विभिन्न कूटनीतिक नियोगले नि:शुल्क अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल आयोजना गरे । फिल्मप्रेमी म जस्ताका लागि यो एउटा अनुपम अवसर थियो । उत्सवमा सत्यजीत रेको पाथेर पाञ्चाली, एलेन रनेको हिरोसिमा मोन अमोर, रिचर्ड एटेनबरोको गान्धी, वेर्नर हर्जोगको अग्विरे : द र्‍याथ अफ गडदेखि अग्नेस बर्दाका ललेस रुफलेसजस्ता बहुचर्चित फिल्म पनि प्रदर्शन गरिएका थिए ।

जर्मनीका प्रसिद्ध निर्देशक वेर्नर हर्जोगको अग्विरे : द र्‍याथ अफ गड नै यस्तो कृति हो, जसले ममा सिनेमाप्रति काव्यिक जादु जगायो । अन्तर्राष्ट्रिय फिल्म उत्सवअघि नै गोयथे इन्स्टिच्युटमा मैले यो फिल्म हेरेको थिएँ । अठारौं शताब्दीमा स्पेनी विजेताको सुनको भूमि खोजीमा आधारित यो फिल्म गहन पटकथा, सुन्दर दृश्यांश र उत्कृष्ट प्रकाश संयोजनले अनुपम बनेको थियो ।

सोही उत्सवमा प्रदर्शित पाथेर पाञ्चाली, हिरोसिमा मोन अमोर र ललेस रुफलेस हेरेपछि धेरै दिनसम्म म संवेदित भइरहेँ । रेले पाथेर पाञ्चालीमा भारतमा औद्योगिक क्रान्तिपछि सामाजिक अन्तरसम्बन्धमा आएको परिवर्तनलाई निकै मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । यसमा निमोनियाको उपचार नपाएर मरेकी छोरी दुर्गालाई पण्डित हरिहरले सारी ल्याइदिएको देखेर आमा कहालिएर रोएको दृश्य अत्यन्तै हृदयस्पर्शी छ ।

अझ ८० वर्षे वृद्धा चुनीबाला देवीले पण्डित हरिहरकै आँगनमा बस्ने अनाथ काकी इन्दिरको भूमिकामा गरेको अभिनय अविस्मरणीय लाग्छ । दुर्गा र भाइ अप्पुबीचको बालसुलभ हार्दिक सम्बन्ध, पहिलोपल्ट रेल देख्दा तिनमा जागेको आनन्दको अनुभूति अनि बाँसथानमा काकी इन्दिरको आकस्मिक निधनको दृश्य अहिले पनि मेरा आँखावरिपरि घुमिरहन्छन् ।

हिरोसिमा मोन अमोरमा रनेले दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा जापानी वास्तुकलाविद् र फ्रान्सेली अभिनेत्रीको अस्तित्वादी प्रेम र पूर्वस्मृतिहरूको कवितात्मक चित्रण गरेका छन् । ललेस रुफलेसमा घरबारविहीन युवतीको त्रासदीपूर्ण तर साहसिक कथाले हामीजस्ताको मन विद्रोहले रापिन्छ । यसमा फ्रान्सेली विश्वप्रसिद्ध अभिनेत्री स्यान्ड्रिन बोनायरले जीवन्त अभिनय गरेकी छन् जसले पछि ज्याक्स रिभेटको ‘जेँ ला पुसे’मा जोन अफ आर्कको साहसिक भूमिका गरेर त्यत्तिकै प्रशंसा बटुलेकी थिइन् ।

रुसी सांस्कृतिक केन्द्रमा पाथेर पाञ्चाली नि:शुल्क हेर्ने मुस्किलले हामी पन्ध्र जना थियौं । (लेखक र पत्रकारका रूपमा त्यतिखेर मेरो परिचय बनिसकेको थिएन । म कागजको एकातिर मात्र लेखेर विभिन्न अखबारमा लेख वा कविता बुझाउन जान्थेँ । सम्पादकहरू प्रेमपूर्वक मेरा लेखलाई डस्टबिनमा शरण दिन्थे । यसरी त्यस बेला म त लेखक नै भइसकेको थिइनँ ।) अनि त्यहाँ चिनिएका फिल्मकर्मी वा पत्रकार पनि कोही थिएनन् ।

मलाई लाग्छ, त्यतिखेर भारतको पुनामा फिल्म वा दिल्लीमा नाटक पढेका केही दिग्गजबाहेक कमैले मात्र यो फिल्म हेर्न पाएका थिए । सँगैको कुमारी हलमा तेस्रो दर्जाको एउटा हिन्दी फिल्म हाउसफुल चलिरहेको थियो । आज संसारका १० कालजयी फिल्मको नाम लिँदा ‘पाथेर पाञ्चाली’को नाम अग्रपंक्तिमा आउँछ । तर, यही सिनेमाप्रति दर्शक पूरै उदासीन थिए । उत्कृष्ट सिनेमाप्रति दर्शकको अज्ञानको यो ज्वलन्त उदाहरण थियो ।

मीरा नायरको ‘सलाम बाम्बे’ हेर्न रुसी सांस्कृतिक भवनबाहिर साढे दुई घन्टा लाम बसेर पनि पास नपाएपछि म अत्यन्तै निराश भएर फर्केको थिएँ । सोही उत्सवमा एटेनबरोको गान्धी हेर्दा रातको सवा १० बजिसकेको थियो । गान्धीको भूमिका गर्ने भारतीय मूलका बेलायती अभिनेता बेन किंग्स्लेको चर्चा र त्यसलाई प्राप्त ओस्कार पुरस्कारका कारण पनि म त्यो फिल्म हेर्न लालायित थिएँ।

फिल्ममा जवाहरलाल नेहरूको धूर्तता र बल्लभभाइ पटेलको महत्वाकांक्षाको गतिलो झलक हेर्न पाइन्छ । गान्धीको हत्याको पृष्ठभूमि तिनकै महत्वाकांक्षाले तयार पारेको घुइरो संकेत फिल्मले गरेझैं लाग्छ । रातको १० बजे सार्वजनिक बस पाउने कुरै थिएन । मजस्तो अक्कलबांगे रुचि भएको मान्छे गाउँमा, देशमा र सायद संसारमै एक्लो हुनु स्वाभाविक हो । तर, आफ्नो साथी आफैं हुनुजति मज्जा केमा छ ! अत: कमलपोखरीबाट भक्तपुरको गुन्डुसम्म एक्लै हिँडेर पुग्दा रातको साढे १२ बजिसकेको थियो ।

उत्सवमा ‘प्रेमपिण्ड’ र ‘सपना’ गरी दुई नेपाली फिल्म देखाइएका थिए । ‘प्रेमपिण्ड’ मैले यसअघि नै हेरिसकेको थिएँ । ‘सपना’जस्तो फिल्म हेर्न अब म धैर्य गर्नै नसक्ने भइसकेको थिएँ ।

दोस्रो अन्तर्राष्ट्रिय फिल्म उत्सव

विश्व सिनेमाले शताब्दी पार गरेको उपलक्ष्यमा सन् १९९५ डिसेम्बर २ देखि २२ सम्म काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय फिल्म उत्सव सम्पन्न भयो । त्यसमा विश्वका समकालीन ख्यातिप्राप्त फिल्मका अतिरिक्त क्लासिक्सका रूपमा विश्वका युगान्तकारी फिल्महरू देखाइएका थिए । त्यो अवधि हरेक दिनजसो आफ्नो रुचिअनुसार फिल्म हेर्न मैले रुसी सांस्कृतिक केन्द्रको ठूलो हल र सानो हल पालैपालो चहारेँ ।

म प्रत्यक्ष अंग्रेजी भाषाका फिल्म अहिले पनि सारै कम बुझ्छु । यसको अर्थ हो, मेरो अंग्रेजी श्रव्यशक्ति अत्यन्त कमजोर छ । भारतीय र अफ्रिकी टोनको अंग्रेजी त जसोतसो बुझ्छु, बेलायती र अमेरिकी टोनको अंग्रेजी पाँच प्रतिशत बुझ्न पनि मलाई मुस्किल पर्छ । अत्यन्त रुग्ण अवस्थाका सार्वजनिक पाठशालामा कक्षा ४ बाट मात्र एबीसीडी थालेका हामीजस्ताको अंग्रेजी कमजोर हुनु स्वाभाविक हो ।

अहिले म सामान्य अंग्रेजी बुझ्ने र लेख्नसक्ने जुन हालतमा छु, त्यसका लागि परि श्रमको सानो लगानी छैन । अत: दोस्रो अन्तर्राष्ट्रिय फिल्म उत्सवमा माइकल कुर्टिजको काजाब्लांका र अल्फ्रेड हिच्ककको रेबेका मैले अत्यन्तै कम बुझेका फिल्म थिए । उत्सवमा प्रदर्शित लुसिनो बिस्कोन्टीको रोको एन्ड हिज ब्रदर्स, सर्गेई आइजेन्स्टाइनको द ब्याटलसिप पोटेम्किन, ट्रिक सिनेमाटोग्राफीले संसार हल्लाएको इभान द टेरिबल (भाग १, २) र चार्ली च्याप्लिनको सिटीलाइटजस्ता फिल्मले ममा अमिट छाप छाडेका छन् ।

रोको एन्ड हिज ब्रदर्समा सही मानिसको दु:खान्तको हृदयविदारक कथा छ । यसमा दोस्रो विश्वयुद्धपछि पुँजीवादी युगमा प्रवेश गर्दै गरेको रोम सहरमा ग्रामीण क्षेत्रबाट आएको एउटा परिवारको संघर्ष र द्वन्द्वको कथा छ । रोकोका पाँच दाजुभाइ हुन्छन्— भिन्सेन्जे, सिमोन, रोको, सिरा र लुका । मूल द्वन्द्व रोको र सिमोनबीच हुन्छ । कुनै दिन सिमोनकी प्रेमिका रहेकी २५ वर्षीया नगरबधू नादिया आफूभन्दा चार वर्ष कान्छो रोकोको निर्दोष र असल व्यवहारबाट प्रभावित हुन्छे र सबै खराब चरित्र त्याग्ने प्रण गर्छे ।

ऊ रोकोलाई हृदयदेखि नै प्रेम गर्छे । यो थाहा पाएको सिमोन आफ्ना केही साथी लिएर रोको र नादिया प्रेमालाप गरिरहेको ठाउँमा पुग्छ र रोकोमाथि आक्रमण गरेर नादियालाई उसकै सामु बलात्कार गर्छ । रोको गम्भीर घाइते हुन्छ । ऊ अब दाजुकी पूर्वप्रेमिकासँग सम्बन्ध अगाडि बढाउन सक्दैन । गरिब परिवार लालनपालन गर्नु उसको दायित्व छ । ऊ बक्सिङ सुरु गर्छ र क्रमश: सफल हुँदै जान्छ । नादिया फेरि वेश्यावृत्तिमा लाग्छे । शृंखलाबद्ध अपराधमा संलग्न सिमोन जेल पर्छ । जेलबाट छुटेकै दिन एकान्तमा नादियालाई भेट्छ र फेरि सम्बन्ध सुरु गर्न चाहन्छ ।
नादिया ऊप्रति असीम घृणा गर्छे, जुन सहन नसकेर सिमोन छुराले घोपीघोपी उसलाई मारिदिन्छ । यो असह्य खबर रोकोले तब पाउँछ, जब परिवार उसले जितेको ठूलो राशिको बक्सिङ म्याचको उत्सव मनाइरहेको हुन्छ । ऊ सहरको बर्बरताबाट मुक्ति पाउन गाउँ फर्किने निधो गर्छ ।
के सत्यको नियति थिचिनु र मिचिनुमात्र हो ? बिस्कोन्टीले उठाएको यस प्रश्नको रन्कोले अहिलेसम्मै मलाई पछ्याइरहेको छ ।

फिल्ममा फ्रान्सेली अभिनेता एलेन डेलनले रोको र एनी गिरार्डटले नादियाको भूमिकामा जीवन्त अभिनय गरेका छन् । बिस्कोन्टीका अधिकांश फिल्म इटालीबाट सुरु भएको नवयथार्थवादी फिल्मका ज्वलन्त नमुना मानिन्छन् । कुलीन समाजको धज्जी उडाउने ‘लेओपार्ड’ उनको मास्टरपिस मानिन्छ । ‘ओसेसन’ उनको त्यत्तिकै प्रसिद्ध फिल्म हो, जसमा तरुनी पत्नी र वृद्ध पतिबीच जटिल सम्बन्धको मार्मिक कथा छ ।

र, अन्त्यमा
सिनेमाबारे यदाकदा लेख्ने हुनाले नयाँ पुस्ताका सिनेमाप्रेमी र कविहरू अक्सर मलाई सोध्छन्, तपाईंलाई सबैभन्दा मन परेका फिल्महरू के के हुन् ? तिनलाई थाहा छ, नवीन सुब्बाले जस्तो म तारकोब्स्की वा बेलाटारहरूको नाम लिन सक्दिनँ । तिनका सिनेमामा त म पाँचै मिनेट टिक्न सक्दिनँ । आज पनि म इटालीबाट थालिएको नवयथार्थवादी आन्दोलनका सिनेमाहरूको लती हुँ । प्रस्टै भन्छु, साहित्य र सिनेमा दुवैमा म क्लासिक्सकै पक्षधर हुँ । जवाफमा म आफ्ना प्रिय फिल्मका नाम लिँदै भन्छु-
१) बाइसाइकल थिभ्स (डेसिका, इटाली)
२) उम्बर्टो डी (डेसिका, इटाली)
३) टु वमेन (डेसिका, इटाली)
४) ब्याटलसिप पोटेम्किन (सर्गेई आइजेन्स्टाइन, रुस)
५) रसोमन (अकिरा कुरुसावा, जापान)
६) पाथेर पाञ्चाली (सत्यजीत रे, भारत)
७) ओपन सिटी (रोबर्टो रोजिलिनी, इटाली)
८) ला डोल्सभिटा (फेडेरिको फेलिनी, इटाली)
९) रोको एन्ड हिज ब्रदर्स (लुसिनो बिस्कोन्टी, इटाली)
१०) अरण्यर दिनरात्री (रे, भारत)

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.