नागरिकता
‘बा, अब रिक्सा म चलाउँछु । तपाईं घरमै आराम गरेर बस्नुस् ।’ लालबहादुरको छोरा कृष्णबहादुरले भन्यो । छोराको कुरा सुनेर लालबहादुर एकछिन ट्वाँ पर्यो । एकपटक छोराको अनुहारमा नियालेर हेर्यो । कृष्णजस्तै काले भए पनि राम्रो र प्यारो लागेर लालबहादुर र उसकी जहानले छोराको नाम कृष्ण राखेका थिए । बाउको नाम लालबहादुर भएकाले पछि कृष्णलाई पनि सबैले कृष्णबहादुर भन्न थाले । त्यसपछि ऊ कृष्णबहादुर भयो ।
छोराको कुरा सुनेर र एकैछिन मनमा गुनेर लालबहादुरलाई एक्कासि रुन मन लाग्यो । अनि ऊ एकैछिनको फरकमा दुईचोटि रोयो । एकचोटी आफू रिक्सा चलाउन नसक्ने भएकोमा दु:ख मानेर रोयो । अनि अर्को चोटिचाहिँ उसको छोरा कृष्ण पनि रिक्सा चलाउन सक्ने भएकोमा खुसी मानेर रोयो ।
बाउ रोएको देखेर छोरा कृष्णले भन्यो, ‘नरुनुस् बा, अब तपाईंका दु:खका दिन अस्ताउँछन् र सुखका दिन उदाउँछन् ।’
लालबहादुर फेरि एकपटक रोयो । अनि छोरालाई अँगालो हालेर एक दुईचोटि घुँक्कघुँक्क गर्यो । बाउको तातो आँसुले आफ्नो शरीर स्पर्श गरेपछि छोरा लालबहादुरले पनि आफूलाई सम्हाल्न सकेन । उसले पनि बाउसँगै एक दुईचोटि घुँक्कघुँक्क गर्यो ।
बाउछोराको गलफत्ती सुनिरहेकी लालबहादुरकी श्रीमतीले पनि दुईपटक आँसु पुछी । एकपटक दु:खको आँसु र अर्को पटक खुसीको आँसु । उसले पहिलोपटक आफ्नो लोग्ने बूढो भएकोमा दु:खको आँसु पुछी । अनि दोस्रोपटकचाहिँ छोरा कमाउन सक्ने भएकोमा खुसीको आँसु पुछी ।
भोलिपल्ट बिहानै लालबहादुरको सट्टा छोरा कृष्णबहादुर रिक्सा लिएर घरबाट निस्क्यो । लालबहादुरका बूढाबूढी नै आँगनको छेउसम्म गएर छोरा रिक्सा चलाउँदै गएको हेरिरहे । कृष्णबहादुरले रिक्सा चलाउँदै गएको देखेर छिमेकी भोलारामले भन्यो, ‘लौ लालबहादुर, अब तिम्रा पनि दु:खका दिन गए ।’
लालबहादुरले केही बोलेन । हाँसीमात्रै रह्यो । हाँस्दा उसको गालामा असंख्य चाउरी परे । साँच्चै ऊ बूढो भएछ । यतिन्जेल उसले मुस्किलले रिक्सा चलायो र परिवारलाई पाल्यो । हुन त परिवार भन्नु नै कति जना नै थिए र । बाउ, आमा र छोरामात्रै त हो । कृष्णपछिको एउटी छोरी थिई । पाँचै वर्षको उमेरमा गाउँभरि फैलिएको हैजाले उसलाई लग्यो । छोरी पनि भइदिएकी भए ‘हामी दुई हाम्रा दुई’ भनेझैं सानो परिवार सुखी परिवार हुन्थ्यो । सानो परिवार भए पनि सुखी परिवार भने कहिल्यै हुन सकेनन् । खान लाउन सधैं धौधौ भएपछि कहाँ सुखी परिवार हुन्छ र ?
दिनभरि रिक्सा चलाएर थाकेको लालबहादुर बेलुका दुई गाँस तातो भात खाएपछि घुप्लुक्कै निदाउँथ्यो । उसले कहिल्यै सुखको मीठो अनुभूति नै गर्न सकेन । लोग्नेको थोरै कमाइले खर्च टार्नै धौधौ हुँदा उसकी जहानले पनि कहिल्यै सुखको अनुभूति गर्न पाइन । गरिब छिमेकीका नांगा भुतुंगा केटाकेटीसँगै खेलेर हुर्केको कृष्णबहादुरले पनि कहिल्यै सुखको अनुभूति गर्न पाएन । अब ऊ आफैं कमाउन सक्ने भएको छ । अबचाहिँ उसले सुखको अनुभूति गर्ला कि !
लालबहादुर चिन्तामा डुबेको देखेर गाउँलेहरूले लख काटे— गहना अथवा पैसाको पोको ल्याउन नपाएकोमा पीर मानेको होला । तर, गरिब लालबहादुरसँग के गहनाको पोको होला र कति नै पैसा होला ? तैपनि लालबहादुर किन यतिविघ्न पछुताइरहेछ ?
तर, कृष्णबहादुरले कहिल्यै सुखको अनुभूति गरेन । बरु उसले आफू कमाउन सक्ने भएदेखि नै थप जिम्मेवारीको महसुस गर्यो । बूढीआमा सधैं बिरामी पर्छिन् । बाउ पनि बूढो भइसके । कुन दिन ढल्ने हुन् थाहा छैन । त्यसैले अब सकेसम्म धेरै कमाउनुपर्छ । ऊ रिक्सा चलाउँदै गर्दा सधैं यस्तै मात्र सोच्न थाल्यो । यही सोचले सधैं हतारमात्रै भइरह्यो उसलाई । रिक्सा चलाएर बढीभन्दा बढी आम्दानी गर्ने हतार । त्यसैले ऊ बिहान सबेरै रिक्सा लिएर घरबाट निस्कन्छ र साँझ अबेरमात्रै फर्किन्छ । कहिलेकाहीँ ऊ फर्किंदा उसको बूढो बाउ दुई गाँस खाएर सुतिसकेको हुन्थ्यो भने आमाचाहिँ भित्तामा टाउको अड्याएर उसलाई पर्खिरहेकी हुन्थी । नसुतीकन आफूलाई पर्खिरहेकी आमालाई देखेर ऊ मनमनै भन्थ्यो, विचरी मेरी आमा । त्यस्तै बेलामा कृष्णबहादुरले कहिलेकाहीँ मनमा सोच्न थाल्यो— बुहारी भए त आमालाई पनि सुख हुन्थ्यो होला ।
नभन्दै एक दिन कृष्णबहादुरले आमाका लागि बुहारी लिएर आयो । छोरासँगै नौली केटीलाई देखेर बूढो लालबहादुर र उसकी जहानले छक्क परेर हेरिरहे । ‘हजुरहरूकी बुहारी, लक्ष्मी ।’ कृष्णबहादुरले अलिकति लजाउँदै भन्यो ।लक्ष्मी लाजले निहुरिरहेकी थिई । कृष्णबहादुरको इशारा पाउनासाथ उसले लालबहादुर र उसकी जहानको खुट्टा ढोगिदिई ।
लक्ष्मी राम्री थिई । लालबहादुरले यस्तो कुराको मतलब गरेन । तर, उसकी जहानले निकै नियालेर बुहारीको अनुहार हेरी । घुम्टोले अनुहार छोप्ने र लजाउने बानी देखेर बुहारी शील स्वभावकी हो भन्ने पक्का भयो लालबहादुरकी जहानलाई । उसले छोराको छनोटमाथि गर्व गरी ।
कृष्णबहादुर सधैंझैं बिहान सबेरै घरबाट रिक्सा चलाउँदै बजार जान थाल्यो । जाँदाजाँदै उसले सोच्न थाल्यो— अब त परिवारको सदस्य थपिएको छ । उसका लागि पनि धेरै कमाउनुपर्छ । यस्तो सोच्दै उसले छिटोछिटो रिक्सा चलाउँदै यात्रु ओसार्न थाल्यो । उसले फूर्तिले रिक्सा चलाएको देखेर अरूले डाहा गर्न थाले । यात्रुहरू पनि फुर्तिलो कृष्णबहादुरकै रिक्सा रोज्न थाले । उति नै पैसामा छिटोछिटो गन्तव्यमा पुग्न पाएपछि यात्रुहरूलाई अरू के चाहियो र ।
छोराले रिक्सा नचलाउँदासम्म लालबहादुर आफैं सकीनसकी रिक्सा चलाउँथ्यो । उसकी जहानले पनि सकीनसकी घरको सबै काम आफैं गर्थी । बिरामी नै भए पनि केही नभएजस्तो गरी काम गर्नुपथ्र्यो । अब छोराले रिक्सा चलाउन थालेपछि लालबहादुरलाई आफू साँच्चै बूढो भएजस्तो लाग्यो । बुहारी आएपछि उसकी जहानलाई पनि आफू बूढी भएजस्तो लाग्यो ।
एक दिन लालबहादुर थला पर्ने गरी बिरामी पर्यो । छोराले बिरामी बाउलाई आफ्नै रिक्सामा राखेर अस्पताल लग्यो । सबै कुराको जाँच गरेपछि डाक्टरले भन्यो, ‘मुटुको रोग छ । अब गाह्रो काम गर्नु हुँदैन र जिन्दगीभरि औषधि खानुपर्छ ।’
कृष्णबहादुरले धेरै दिनदेखि बचाइराखेको पैसा बाउको उपचारमा एकैछिनमा सकियो । औषधि पनि आधा मात्रै किन्यो उसले । बाँकी भोलि रिक्सा चलाएर फेरि किनूँला भन्ने सोच्यो । लालबहादुरले मनमनै सोच्यो, ‘कमाउन सक्ने छोरा नभए त रोगले असमयमै मरिने रै’छ ।’ लालबहादुर छोराप्रति गौरवान्वित भयो । उसलाई एउटै कुरामा दु:ख लाग्यो कि अब जिन्दगीभरि औषधि खानुपर्ने भयो ।
लालबहादुर बिरामी परेको केही दिनपछि नै उसकी जहान पनि घरमै बेहोश भएर ढली । उसले छोराको साथी छिमेकी भोलारामको छोरा आशाराममार्फत बजारमा खबर पठायो । आमा बेहोश भएको खबर पाउनासाथ कृष्णबहादुर रिक्सा कुदाउँदै घर आयो । फेरि आमालाई रिक्सामा राखेर कुदाउँदै अस्पताल लग्यो । डाक्टरले सबै कुरा जाँचेर भन्यो, ‘ब्लडप्रेसर हाई भएको छ । अब जिन्दगीभरि नटुटाईकन औषधि खानुपर्छ ।’
डाक्टरको कुरा सुनेर कृष्णबहादुर ट्वाँ पर्यो । अस्ति भर्खर बाउको उपचारमा त्यत्रो पैसा गयो । अहिले फेरि आमाका लागि । त्यसमाथि अब उहाँले पनि जिन्दगीभरि नटुटाईकन औषधि खानुपर्ने भयो । सोच्दासोच्दै कृष्णबहादुरको टाउको भारी भयो । त्यही बेलामा उसले मनमनै अठोट गर्यो- अब मैले अझै धेरै कमाउनुपर्छ ।
कृष्णबहादुरको जिम्मेवारी बढेको बढ्यै गर्यो । बिहे गरेर ल्याइएकी श्रीमतीलाई सुखले पाल्नुपर्यो । त्यसपछि बिरामी बाउआमालाई पाल्नुपर्यो । आफूले पनि बाँच्नुपर्यो । यसका लागि पैसा चाहिन्छ । पैसाका लागि रिक्सा धेरै चलाउनुपर्छ । छिटोछिटो यात्रु ओसार्नुपर्छ र धेरै यात्रु ओसार्नुपर्छ ।
साँच्चै बजारमा कृष्णबहादुरको रिक्साको रफ्तार निकै बढ्न थाल्यो । तर, उसको रिक्साको त्यो रफ्तार धेरै दिनसम्म टिक्न सकेन । उसलाई छाती दुख्ने गरी खोकी लाग्न थाल्यो । चिसोले समाएको भनेर उसकी श्रीमतीले अदुवा र मह हालेर तातो पानी खान दिई । खोकी केही कम भएजस्तो भयो ।
कृष्णबहादुरको रिक्साको रफ्तार कम भएन । तर एक दिन रिक्सा चलाउँदा चलाउँदै रिँगटा लागेर कृष्णबहादुर रिक्साबाटै लडेर बेहोश भयो । ऊजस्तै रिक्सा चलाउने साथीहरूले उसलाई अस्पताल पुर्याए । अस्पतालमा जाँचपछि डाक्टरले उसलाई क्षयरोग लागेको बताए । अबदेखि रोग निको नभएसम्म रिक्सा नचलाउन पनि भने । उसले डाक्टरको सामु अबदेखि रोग पूर्ण रूपमा निको नभएसम्म रिक्सा नचलाउने बतायो । डाक्टरले लेखिदिएको औषधि लिएर कृष्णबहादुर साथीहरूसँगै घर फक्र्यो ।
कृष्णबहादुर बिरामी भएर आएको देखेर बूढा बाउआमा दुबै चिन्तित भए । उसकी श्रीमती पनि चिन्तित भई । तर कृष्णबहादुरले आफूलाई खासै केही नभएको भनेर ढाँट्यो । बाउआमा ढुक्क भए । श्रीमती पनि ढुक्क भई ।
तर कृष्णबहादुर ढुक्क भएन । डाक्टरले भनेजस्तो ऊ आराम गरेर घरमै बसेन । आफ्नो जिम्मेवारी सम्झेर ऊ फेरि रिक्सा लिएर बजार गयो । सधैंझैं बजारमा यात्रु ओसार्न थाल्यो ।
उसँगै रिक्सा चलाउने एउटा साथीले भन्यो, ‘डाक्टरले रिक्सा नचलाउनु भनेको होइन ? ’
‘डाक्टरले भनेका सबै कुरा मानेर कहाँ साध्य चल्छ र हामी गरिपलाई ।’ कृष्णबहादुरले रिक्साको ह्यान्डिल सुम्सुम्याउँदै भन्यो । उसको साथी चुप लाग्यो । हुन त हो नि, ऊजस्ता दिनहुँ कमाएर खानुपर्ने गरिपलाई डाक्टरले भनेजस्तो आराम गरेर कहाँ बस्न पाइन्छ र ! कृष्णबहादुरको रिक्सा चलाउने साथीले मनमनै यस्तै सोच्यो ।
कृष्णबहादुरले श्रीमती घरमा भित्याएको ठ्याक्कै एक वर्षपछि छोरी जन्मिई । लालबहादुरको घरमा खुसी थपियो । तर खुसीसँगै जिम्मेवारी पनि थपियो । छोरी जन्मिएपछि कृष्णबहादुरलाई आफ्नो जिम्मेवारी थप बढेको महसुस भयो । त्यही जिम्मेवारी पूरा गर्न ऊ पुरानै फूर्तिका साथ रिक्सा चलाउन थाल्यो ।
केही दिनपछि कृष्णबहादुर फेरि उसैगरी रिक्सा चलाउँदाचलाउँदै बेहोश भएर रिक्साबाटै लड्यो । उसका साथीहरूले उसैगरी अस्पताल पुर्याए । यसपटक कृष्णबहादुरलाई अस्पतालमै भर्ना गर्नुपर्ने भयो । तर, निको भएर अस्पतालबाट फेरि घर फर्केन कृष्णबहादुर । अस्पतालमा भर्ना गरेको चौथो दिनमा उसले संसार छोड्यो ।
कृष्णबहादुरकी श्रीमतीले निकै बिलौना गरी । उसका बूढा बाउआमाले पनि उसैगरी बिलौना गरे । तर, बिलौनाले मात्रै कृष्णबहादुर फेरि बाँच्ने होइन । ऊ त गइसकेको थियो सबैलाई छाडेर ।
लालबहादुरको घरको आँगनमा गाउँभरिका मान्छे भेला भए । छोराको वियोगमा रुँदारुँदा थाकेका लालबहादुर र उसकी जहान छोरा सम्झेर टोलाइरहेका थिए । गाउँलेहरू संसारको रीत यस्तै हो भनेर सान्त्वना दिँदै थिए । छिमेकीको सान्त्वनाले लालबहादुर र उसकी जहानको मुटु भक्कानिएर आउँथ्यो र उनीहरू फेरि रुन थाल्थे । गाउँका पुरुष तथा महिलाहरू फेरि उनीहरूलाई सम्झाउन थाल्थे ।
बूढो लालबहादुरलाई अब आफ्नो सहारा नै चुँडिएजस्तो लाग्यो । जिन्दगीका बाँकी दिन कसरी काट्ने भन्ने पिरलोले उसलाई सताउन थाल्यो । कमाउने छोरा नभएपछि उसलाई आफ्नो अगाडि गरिबीको पहाड नै उभिन आएजस्तो लाग्न थाल्यो ।
दिन बित्दै गए । कृष्णबहादुरको मृत्युको घाउ बिस्तारै पुरिँदै गयो । बुहारीले बूढा सासूसुसराको जसोतसो स्याहार गर्दै रही । सानी नातिनीको मुख हेरेर लालबहादुर र उसकी जहानले कृष्णबहादुरको मृत्युको पीडालाई भुलेर खुसी हुने प्रयास गरिरहे । तर, उनीहरूको त्यो खुसी पनि धेरै दिन टिक्न सकेन ।
कृष्णबहादुरको मृत्युपछि नियास्रिँदै गएकी लक्ष्मीको मुहारको उदासी झन्झन् बढ्दै गयो । यो कुराको अनुभूति लालबहादुर र उसकी जहानलाई पनि भयो । लोग्ने नभएपछि स्वास्नीमान्छे दु:खी हुनु स्वाभाविक हो । लक्ष्मीको त झन् बिहे गरेको एकै वर्षमा लोग्ने बित्यो । अब उसले बाँकी जिन्दगी कसरी र कसको सहारामा बिताउने ? लक्ष्मीलाई विस्तारै सहाराको जरुरत महसुस हुन थाल्यो ।
बाटो हिँड्ने युवकहरूले लालबहादुरको घरतिर आँखा लाउन थाले । लालबहादुर र उसकी जहानलाई त यस कुराको केही मतलब भएन । तर, लक्ष्मीलाई भने आफू असुरक्षित भएको महसुस हुन थाल्यो । त्यसैले उसले अब सुरक्षाको आवश्यकता देख्न थाली । साथै सुखको पनि । अलिकति तनको सुख र अलिकति मनको सुख पनि । लोग्नेबिना त्यस्तो सुख प्राप्त हुन सक्दैन । लक्ष्मीले यो कुरा बुझिसकी ।
लालबहादुरको घर वरपर युवकहरूको आवतजावत बढ्न थाल्यो । यसको अर्थ लालबहादुर र उसकी जहानले कति बुझे कति बुझेनन् ।एक दिन बिहानै सासूससुरालाई ढोग गरेर लक्ष्मी छोरीलाई लिएर माइत हिँडी । तर, त्यसपछि ऊ कहिल्यै फर्केर आइन । लालबहादुरले पनि लिन जाने कष्ट गरेन।
सुनिन्छ, अचेल लक्ष्मीलाई उसकै गाउँको एउटा युवकले सुरक्षा र सुख दुवै दिएको छ रे । तर थाहा छैन, त्यो सुरक्षा र सुख स्थायी हो कि अस्थायी । लक्ष्मी भने निकै खुसी भएकी छ रे । उसले अब लोग्ने बितेको कुरा पनि बिर्सिसकी रे ।
यता बुहारीले पनि घर छोडेपछि लालबहादुर र उसकी जहानको दु:खका दिन फेरि सुरु भए । हिँडडुल गर्नै मुस्किल परिसकेका उनीहरू आफैंले सबै कुराको जोहो गर्नुपर्ने भयो । जोहो गर्न सकेको दिन खान्छन्, नसकेको दिन भोकै सुत्छन् । यसरी भोकै सुत्ने दिन बढ्दै गइरहेछ । हरेक चार महिनामा पाइने वृद्धभत्ताले उनीहरूको दैनिकी चलेको छ । कसमेकम नटुटाईकन खानुपर्ने औषधि किन्न त्यो वृद्धभत्ताले निकै ठूलो राहत भएको छ ।
एक दिन गाउँले मुखियाको घरमा भोज थियो । त्यहीँ भोज खाएर राति आनन्दले सुतेका थिए लालबहादुर र उसकी जहान । आधा रातमा छिमेकी भोलारामको छोरा आशाराम चिच्याएको सुने । आशारामले ‘लालबहादुर काका... लालबहादुर काका...’ भनेर बोलाएको सुनेर उसले ओछ्यानबाट उठेर ढोकाको गजबार झिक्यो । आशाराम हावाझैं हुत्तिँदै भित्र पस्यो र ‘गाउँमा बाढी पस्यो काका’ भन्दै लालबहादुर र उसकी जहानलाई पाखुरामा समातेर सुरक्षित स्थलतिर बाहिर निस्कियो ।
साँच्चै नै बाहिर घुँडाघुँडासम्म पानी आइसकेको थियो । दुवै छिटोछिटो हिँड्न पनि सकिरहेका थिएनन् । त्यसैले आशारामले उनीहरूलाई घिच्याएजस्तै गरी लिएर हिँड्यो । झन्डै आधा घन्टा हिँडेपछि उनीहरू सुरक्षित स्थलमा पुगे । त्यो सुरक्षित स्थल भनेको गाउँभन्दा माथिको सडक नै थियो ।
उनीहरू पुग्नुभन्दा अघि नै गाउँका अरू धेरै मानिस त्यहाँ पुगिसकेका थिए । यतिन्जेलमा बाढीले गाउँ बगाई नै सक्यो होला । लालबहादुरले मनमनै एकछिन अघिको घटना सम्झ्यो । आशारामले नउठाएको भए के हुन्थ्यो होला ? ती दुवैले आशारामको हात समातेर भने, ‘तिमी त भगवान् भएर आयौ र हाम्रो ज्यान बचायौ । तिमीलाई लाखलाख धन्यबाद बेटा ।’ कसैको ज्यान बचाउन सकेकोमा आशाराम पनि खुसीले गद्गद् भयो ।
बिहान भयो । उज्यालो भएपछि सबैले देखे । गाउँका घर त एउटा पनि सद्दे बाँकी थिएनन् । सबैका घर पाताल भइसकेका थिए । गाउँ छोपिने गरी बाढी बगिरहेको थियो । तैपनि मानिसहरू आफ्नो घर कहाँनेर थियो भनेर नियाली नियाली हेर्दै थिए । स्वास्नीमान्छेहरू बिलौना गर्दै थिए भने केटाकेटीहरूमध्ये कोही आआफ्ना आमा, हजुरआमा र दिदीहरूलाई रुन सघाउँदै थिए भने कोहीचाहिँ आफ्नो गाउँतिर हेर्दै टोलाइरहेका थिए ।
लालबहादुर पनि टोलाइरहेको थियो । राति घरबाट भाग्ने बेलामा महत्वपूर्ण वस्तु झिकेर ल्याउन नसकेकोमा उसलाई निकै पछुतो लागेझैं भइरहेको थियो । ऊ कताकता हराइरहेको थियो र चिन्तामा बेस्सरी डुबिरहेको थियो ।
लालबहादुर चिन्तामा डुबेको देखेर गाउँलेहरूले लख काटे— गहना अथवा पैसाको पोको ल्याउन नपाएकोमा पीर मानेको होला । तर गरिब लालबहादुरसँग के गहनाको पोको होला र कति नै पैसा होला ? तैपनि लालबहादुर किन यतिबिघ्न पछुताइरहेछ ? कसैले अनुमानै गर्न सकेका छैनन् । लालबहादुर भने कसैसित नबोली झोक्राई मात्रै रहेको छ ।
दुई दिन खुला आकाशमुनि सडकमै सुते । सहयोगी व्यक्ति र संघसंस्थाले बाँडेको राहत थापेर रुखासुखा केही खाए । तर, चिसो भुइँमा सुत्दाबस्दा बूढा लालबहादुर र उसकी जहानको पनि जीउ करकर दुख्न थाल्यो । तर, लालबहादुरलाई भने सबैभन्दा ठूलो पीडा भने आफूले घरबाट ल्याउन चाहेको वस्तु ल्याउन नसकेकोमा भइरहेको छ । ऊ अझै पनि त्यही चिन्तामा डुबिरहेको छ ।
बाढी घटेपछि गाउँका मानिसहरू बिस्तारै गाउँतिर जान थाले । आफ्नै घर कहाँनेर थियो भनेर ठम्याउन प्राय: सबैलाई मुस्किल पर्यो । गाउँका मुखियाको घर पक्की थियो । त्यसैले उनको घरमात्रै सग्लो थियो । त्यही घरलाई हेरेर अरू गाउँलेले आफ्नो घर कहाँनेर थियो भनेर अनुमान लगाए । घर के भन्नु र । अब घरमा हिलो र बालुवाबाहेक केही बाँकी थिएन । मानिसहरू आफ्ना केही मालसामान भेटिन्छ कि भनेर खोज्न थाले ।
लालबहादुर पनि उसैगरी आफ्नो घर पहिल्याएर सकीनसकी हिलो र बालुवा पन्छाउन थाल्यो । आशाराम आफ्नै घरको हिलो पन्छाउन छाडेर सघाउन आइपुग्यो । उसले कृष्णबहादुरसँगको मित्रतालाई बिर्सन सकेको छैन ।
हिलो पन्छाउँदा पन्छाउँदै बूढो लालबहादुर खुसीले चिच्यायो, ‘पाएँ..मैले पाएँ... ।’
आखिर के पायो लालबहादुरले ? किन यसरी खुसीले चिच्याइरहेछ ? गहनाको पोको भेट्टायो कि पैसाको पोको ? गाउँलेलाई खुल्दुली भयो । सँगै हिलो पन्छाउँदै गरेको आशाराम पनि लालबहादुरले के भेट्टायो भनेर उसको नजिक गयो ।
लालबहादुरले भेट्टाएको वस्तु देखेर आशाराम चकित भयो । लालबहादुरले भेट्टाएको थियो एउटा सानो कन्तुर र त्यसमा थियो प्लास्टिकमा बाँधिएको एउटा सानो पोको ।लालबहादुरले निकै जतनले त्यो पोको खोल्यो । धागोले राम्रोसँग बाँधिएकाले पोकोभित्र पानी पनि पसेको थिएन । त्यो पोकोमा थियो लालबहादुर र उसकी जहानको नागरिकता र जम्माजम्मी दुई सय चालीस रुपैयाँ पैसा ।
तैपनि लालबहादुर बाढीले घर बगाएर बेघर भएको पीडाको अवस्थामा पनि सुनको खजाना नै पाएजसरी खुसी थियो । लालबहादुरको यस्तो खुसी देखेर आशारामले आफ्नो मनको खुल्दुलीलाई रोक्नै नसकेर साध्यो, ‘काका, त्यो त तपाईंहरूको आफ्नो नागरिकता हो, गहना अथवा पैसाको पोको त होइन नि । तैपनि किन यसरी खुसी हुनुभा’को ? ’
‘लालबहादुरले खुसीको आँसु झार्दै भन्यो, ‘बाबु, हामी गरिपको श्रीसम्पत्ति भनेकै यही नागरिकता त हो नि । यति नभए त गाउँको सचिवले वृद्धभत्ता पनि दिँदैन । अब त्यो वृद्धभत्ता आयो भने नटुटाईकन खानुपर्ने औषधि त किनेर खान पुग्छ ।’त्यसपछि आशारामले अरू केही सोध्नु आवश्यक ठानेन । लालबहादुर खुसी हुँदा उसलाई पनि खुसी लाग्यो ।
लालबहादुरले आफ्नो र जहानको नागरिकता आफ्नै नवजात शिशुलाई मायाले सुमसुम्याएजस्तो सुमसुम्याइरह्यो... धेरै बेरसम्म सुमसुम्याइरह्यो...।