गोर्खाल्यान्डका भिडियो कवि

गोर्खाल्यान्डका भिडियो कवि

चराको धुनसँगै एउटा डरलाग्दो आवाज तपाईंको कानसम्म आइपुग्छ (कृपया ! कवितालाई ‘पज’ नगर्नुहोला) । हरियो जंगलमा कुइरो मडारिएको दृश्यले तपाईंको मन बहकाउन सक्छ । तत्कालै एउटा अस्तव्यस्त मान्छे क्याफेमा चुरोटको लामो सर्को तानिरहेको देखिन्छ । उता जंगलसँग खेलिरहेको तुवाँलो र यता मान्छेसँग खेलिरहेको धुवाँ दुवै आकर्षक छ । त्यसपछि पुनियानी ‘सुनमाया’को कहिल्यै नसुनिएको कथा सुनाउन थाल्छन् । भिडियोमा दृश्य, शब्द र आवाज यसरी मिसिएर अघि बढ्छ, तपाईं पूरै भिडियो नहेरी छोड्नै सक्नुहुन्न ।

kiran-dahalभिडियो हेर्दै गर्दा कुनै चर्चित सर्टमुभी हेरेझैं लाग्छ । दृश्यहरू छिटोछिटो परिवर्तन हुन्छन् । बग्दै गरेको टिस्टा, क्यानभासमा पोखिएको रङ, चियाबगान र चिया पकाउँदै गरेकी महिला, सबैले तपाईंलाई सोच्न बाध्य बनाउँछ । आन्दोलनलाई संकेत गर्न कविताभरि विभिन्न बिम्बको लयात्मक प्रयोग गरिएको छ । अन्धकार र उज्यालोको ‘कम्बिनेसन’मा रमाउँदा-रमाउँदै भिडियो सकिन्छ । ग्राफिक्स, एनिमेसन, साउन्ड इफेक्टले कवितालाई निकै प्रभावशाली बनाएको छ ।

‘...दिशाहारा छु लागिबस्छ टिस्टा आफैंलाई पनि ।
ठीक एत्तिखेर सरकारी बाँध बाँधिएको टिस्टाले
आदिम नदीबाट आधुनिक पोखरीको अवतार लिएको छ ।
र, ठीक एतिखेर नै यूएसजी रिपोर्टले खुसुक्क भनिदिएको थियो
‘सुनमायाको पाहाडी गर्भमा चे ग्वेभाराको खनाति छ’ ।
रिपोर्ट हराएको रात पहाडवासीको आँखा छलेर
कसले गर्भ तुहाउन लग्यो फकाएर सुनमायालाई
कलकत्ताको सरकारी अस्पताल ?
त्यतिखेर चिउरा बुकाउँदै जंगलमा आरन लगाउँदै थियो होला मनबहादुर...’
युट्युबमा भ्युअर्सको उकालो चढ्दै गरेको कवि राजा पुनियानीको भिडियो-कविता ‘भ्रमपाहाड’ नयाँ मल्टिमिडिया पोयट्री हो ।

६ मिनेट ४३ सेकेन्ड लामो यो भिडियो-कविताले साहित्यिक भाषामा विद्रोहको चेत ल्याउँछ । सँगै नेतृत्वको प्रवृत्तिमाथि प्रश्न चिन्ह पनि उठाउँछ । कविता गोर्खाल्यान्ड आन्दोलनको ‘ओभरभ्यु’ भएको बताउँछन् पुनियानी । गोर्खाल्यान्ड आन्दोलको ‘आफ्टरसक’ले बेलाबेला भारतलाई तरंगित पारिदिन्छ । कवितामा त्यही तरंगलाई ‘क्याच’ गरेका छन् राजाले ।

गोर्खाल्यान्ड आन्दोलनको चरित्र कविताको ‘इपिसेन्टर’ हो । बिम्बात्मक रूपमा उनले नेतृत्वलाई तिखो बाण प्रहार गरेका छन् । हरेक आन्दोलनमा जनताका सपना जोडिएका हुन्छन् । सपनामाथि कुठाराघात गर्नेले बुझ्नुपर्ने हो- मान्छेको चरित्र चुपचाप बस्नु होइन ।

गोर्खाल्यान्ड आन्दोलनको चरित्र कविताको ‘इपिसेन्टर’ हो । बिम्बात्मक रूपमा राजाले नेतृत्वलाई तिखो बाण प्रहार गरेका छन् ।  

सहिदको रगतमाथि टेकेर नेतृत्वले गरेको बेइमानीलाई पुनियानी कटाक्ष गर्छन् । सुवास घिसिङ हुन् या विमल गुरुङ वा हुन् विनय तामाङ । यी सबैले जनताप्रति घात गरेको बताउँछन्, राजा । सर्वसाधारण जनताको सपनालाई नेतृत्वले ‘बेबकुफी’ कथा सम्झेर वर्षौंसम्म गोर्खाल्यान्ड आन्दोलनको हल्लामात्र चलाइरहे । आन्दोलन नानीहरूको ‘घरघर खेल’जस्तो बनाइएको उनको आरोप छ । भन्छन्, ‘नेतृत्वको बिकुवा चरित्रले जनतामाथि घात भयो ।’

कवितामा पुनियानीले भुइँमान्छेमाथि बोलेका छन् । सपना बोकेर आन्दोलनमा हिँड्नेलाई नेतृत्वले आधा-बाटोमै अधकल्चो बनाएको गुनासो छ उनको । नेतृत्वले धोका दिँदैमा सपना मर्दैन, बरु यो खरानीभित्रको भुङ्ग्रोजस्तै हो । झिल्को त हुन्छ नै । जनताका पीडामा स्वार्थको राजनीति गर्नेहरू तारो बनेका छन्, पुनियानीको नजरमा । ‘आफ्नै आमालाई बन्दुक तेस्र्याएर छोराहरू कुन समाजको परिकल्पना गर्दैछन्, बुझ्न गाह्रो छ’, पुनियानी भन्छन्, ‘गोर्खाल्यान्ड आन्दोलनमाथि नेतृत्वले बारम्बार गद्दारी गर्‍यो ।’

कवितामा उनले नयाँ प्रयोग गरे । उसो त बेलाबेलामा यस्ता प्रयोग गरी नै रहन्छन् उनी । यसपटक कलात्मक कविता-भिडियो बनाएर उनले धेरैको ध्यान खिचे । भिडियोमा एउटै कविता फरकफरक ‘टोन’मा सुन्न सकिन्छ । शब्द र भावअनुसार वाचनशैली बदलेका छन् । यो उनको विशेष क्षमता हो । कविताको शैली, आवाज, शब्दअनुसार दृश्यहरू परिवर्तन हँदै जान्छन् । सायद, कविताको सुन्दरता यसैमा छ ।

‘अर्काे लस्कर’ कविता संग्रहका लेखक पुनियानीको ‘मल्टिमिडिया पोइट्री’को पहिलो भाग हो- भ्रमपाहाड । अहिले उनी दोस्रो भागमा काम गरिरहेका छन् । भाग-२ ‘इन्काउन्टर’ डिसेम्बरमा रिलिज हुँदैछ । उनलाई साउन्ड डिजाइनमा समीर शर्माले सघाएका छन् । कवितालाई यस रूपमा प्रस्तुत गर्ने शैलीचाहिँ पल्लवको हो ।

कवि पुनियानीलाई टेक्नोलोजीको जमानामा युट्युबले आकर्षित गर्‍यो । पुस्तकका पानामा भन्दा इन्टरनेटमा समय बिताउने जमात बढ्दै जाँदा उनले पनि यसैलाई प्रभावकारी देखे । हुन त यसका ‘च्यालेन्जिङ’लाई पनि उनले राम्रैसँग अनुमान गरेका हुन् । अडियो, भिजुअलको इफेक्टले कविताको पाठ संकटमा पर्ने हो कि भन्ने पनि उनलाई लागेको थियो । अरू पनि जोखिम छन् । पुनियानी भन्छन्, ‘कविता पपुलारिजमको थोक बन्न सक्छ । यो कवि र कविताप्रति आत्मघात हो ।’ तर, मल्टिमिडिया पोइट्रीको पहिलो एपिसोडबाटै राम्रै चर्चा बटुलिसकेका छन् उनले ।

उनी हरेक मान्छेसम्म आफ्नो कविता पुर्‍याउन राजनीति गरिरहेका छन् । एउटा ट्रेडिसनबाट अलग भएर नयाँ बाटो समात्नु एक प्रकारको राजनीति हो । त्यसो भए पुनियानी राजनीतिज्ञ हुन् ? त्यो उनैले विचार गरुन् । बस्, उनी कवितामार्फत नेतृत्वसँग आक्रोश पोखिरहेका छन् ।
कविता सुन्दै जाँदा (हेर्दै जाँदा) कहिलेकाहीँ पुनियानी निकै आक्रामक देखिन्छन् । दुई फरक स्वरूपमा देखा पर्ने उनी एकातिर पेन्टिङ गर्न मस्त छन् भने अर्कोतिर आन्दोलनको चरित्र उतार्न । उनी कतै पेन्टिङमा आन्दोलनलाई त उतार्दै छैनन् ?

राजा १२ जुलाई १९७७ का दिन भारतको सिलिगुरीमा जन्मिए । उनका बा-आमा सिलगडीको तराईमा थिए । पुनियानीका बाजेबोजु ‘लाटपञ्जर’ बस्थे- सिलगडीबाट ५० किमि टाढा । पुनियानीलाई पाँच वर्षमै बा-आमाले बाजेबोजुसँग राखिदिए । स्कुल बिदा भएको बेला कहिलेकाहीँ उनी बा-आमा भेट्न सिलगडी आउँथे । उनको बाल्यकाल लाटपञ्जरको माटोमा लडिबुडी गर्दै बित्यो । ठूलो हुँदै गएपछि बाजेको लाइब्रेरीका किताबमा ध्यान जान थाल्यो । स्कुलबाहेकको समय उनी किताबको पाना पल्टाएरै बिताउँथे । ‘कमिक्स’, ‘सर्वोत्तम’, ‘रिडर्स डाइजेस्ट’, ‘कादम्बिनी’जस्ता चल्तीका पत्रपत्रिका पढ्दा उनलाई रमाइलो लाग्न थाल्यो ।

सिलगडी झरेपछि ‘सिलगडी कलेज’मा विज्ञान पढ्न थाले । कलेजमा ठूलो पुस्तकालय थियो- बाजेको पुस्तकालयमा भन्दा धेरै किताब । उनको पुस्तक-प्रेम बढ्दै गयो । त्यसपछि, बिस्तारै लेखनतिर ध्यान जान थाल्यो । पढाइ र लेखनले उनलाई आत्मविश्वासी र साहसी बनाउँदै लग्यो ।
कवितातिर किन लागेँ भन्नेचाहिँ उनी आफैं जान्दैनन् । भन्छन्, ‘कविताले मलाई किन तान्यो, अहिलेसम्म उत्तर भेट्टाएको छैन ।’ कवितामा आत्मप्रकाश धेरै हुने भएकाले पनि यतातिर झुकाव गयो कि भन्ने सोच्छन् ।

मल्टिमिडिया पोइट्रीमाथि लेख्दै गर्दा यसको दोस्रो भागको प्रोमो युट्युबमा आइसकेको छ । उनी गोर्खाल्यान्ड आन्दोलनको समग्र चरित्रलाई कवितामा प्रस्तुत गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.