गल्फलाई कर्पोरेटको भर
नेपालमा व्यक्तिगत प्रयास र कर्पोरेट क्षेत्रको चासोमा चम्किएको खेल हो- गल्फ । एक सय वर्ष अघिदेखि नेपालमा संस्थागत रूपमा गल्फ खेलिन थालिएको हो । तत्कालीन राजपरिवारका सदस्यहरूले गल्फ खेल्न सुरु गरेका थिए । त्यतिबेला हालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल रहेको स्थानमा गल्फ खेलिन्थ्यो । गल्फ कोर्समा विमानस्थल बनेपछि विमानस्थलकै नजिक तिलगंगा र पशुपति क्षेत्र आसपासमा गल्फ खेल्न थालियो । हाल यस गल्फ कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) नामले प्रख्यात छ । आरएनजीसी अहिले पनि पब्लिक र सामाजिक क्लबको रूपमा सञ्चालित छ ।
नेपालमा राजपरिवारले सुरुवात गरेको गल्फ खेलले विस्तारै धनी र व्यापारी घरानामा प्रवेश पायो । लगानी र खर्चका हिसाबले महँगो मानिने यस खेलमा विस्तारै साधारण मानिसको समेत सहभागिता देखिन थालेको छ । सरकारी स्तरको खासै चासो नभए पनि नेपालमा निजी क्षेत्रको लगानी र व्यक्तिगत प्रयासमा गल्फ कोर्सको विकास र विस्तार भइरहेको छ । अहिले देशभर सात वटा गल्फ कोर्स सञ्चालनमा छन् ।
आरएनजीसीपछि धरानमा पनि गल्फ कोर्सको स्थापना भयो । नेपालमा ब्रिटिस सेनाको उपस्थितिसँगै धरानको ब्रिटिस क्याम्पमा गल्फ खेल्न सुरु गरिएको थियो । अहिले यो धरान गल्फ क्लबको नामले प्रख्यात छ । यसैगरी सन् १९९८ बाट काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न गोकर्ण फरेस्ट गल्फ रिसोर्ट सञ्चालनमा छ । यससँगै पोखराको हिमालय गल्फ क्लब र फुलबारी गल्फ, नवलपरासीको चौधरी गल्फ ग्राम र काठमाडौंमै त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब पनि सञ्चालनमा छन् । आर्मी गल्फ क्लब पछिल्लो दुई वर्षदेखि बन्द छ ।
नेपालमा केही व्यक्ति र कर्पोरेट हाउसको चासोमा गल्फ खेलिए पनि आर्थिक विकासको दृष्टिले यो खेल धेरैपछि परेको नेपालका चर्चित गल्फर दीपक आचार्य बताउँछन् । कुनै व्यक्तिको एकल प्रयास र कर्पोरेट हाउसको चासोले मात्र गल्फ खेलको विकास सम्भव छैन । गल्फ खेलको लागि मुख्य समस्या जग्गा हो । ‘एउटा गल्फ कोर्सको लागि कम्तीमा एक हजार रोपनी जग्गा आवश्यक पर्छ । जसले गर्दा सरकारको प्रत्यक्ष चासो बिना गल्फको विकास सम्भव छैन,’ गोकर्ण फरेस्ट गल्फ रिसोर्टका निर्देशकसमेत रहेका दीपक भन्छन् ।
उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गल्फ कोर्स १८ होल र पार ७२ को हुन्छ । कोर्सका लागि ठूलो जग्गा र सहरी इलाका चाहिने भएको कुनै व्यक्तिले चाहेर पनि कोर्स बनाउन सक्दैन । मौसमको दृष्टिले नेपाल गल्फ खेलका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको दीपकले बताए । ‘५० डिग्रीभन्दा बढी गर्मी हुने संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिले दैनिक १० देखि १५ हजार संख्यामा पर्यटक गल्फ खेल्नका लागि पुग्छन् । यूएईका राजा शेख अहमदले एउटा सहरमा १३ वटासम्म गल्फ कोर्स खोल्ने अनुमति दिएका छन् । जसले गर्दा यूएई अहिले तेलले मात्र होइन, गल्फ खेलले पनि चल्ने भएको छ’, दीपकले भने ।
नेपालमा ब्रिटिस सेनाको उपस्थितिसँगै धरानको ब्रिटिस क्याम्पमा गल्फ खेल्न सुरु गरिएको थियो । अहिले यो धरान गल्फ क्लबको नामले प्रख्यात छ ।
सरकारले गल्फ खेललाई पर्यटकीय खेलको रूपमा बुझेर लगानी गरे यसमा सबैको पहुँच पुग्ने र आर्थिक हिसाबले देशको समेत कायापलट हुने दीपकले दाबी गरे । ‘नेपाल गल्फ खेलका लागि विश्वकै पहिलो नमुना देश हो । यहाँको हावापानी र मौसम बाह्रैमहिना गल्फ खेल अनुकूल छ । विश्वभर गल्फ पर्यटक धनी पर्यटकमा गनिन्छन् । एउटा विदेशी गल्फरले एक दिन गल्फ खेल्नमात्र कम्तीमा दुई सय डलर खर्च गर्छ । यसले आर्थिक विकासमा मात्र होइन, नेपाली गल्फ खेलाडीको प्रदर्शन क्षमतामा समेत सहयोग पुग्छ । नेपालमा हप्तैपिच्छे विभिन्न कर्पोरेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ । तर यस्ता प्रतियोगिता कर्पोरेट हाउसको चासोका लागि मात्र भएको देखिन्छ,’ दीपकले थपे ।
उनका अनुसार गल्फमा सरकारको लगानी शून्य अवस्थामा छ । गल्फलाई व्यापक बनाउन सरकार आफैंले कोर्स निर्माण गर्न आवश्यक छ । सरकारको आवश्यक लगानी भएमा नेपाल गल्फ पर्यटकको हब बन्नेछ । अन्तर्राष्ट्रिय स्पर्धामा नेपाली खेलाडीको प्रदर्शन पनि उच्च रहनेछ ।
शिवरामको छलाङ
गल्फ विश्वभर धनी र सम्भ्रान्त वर्गको खेल मानिन्छ । तर, नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ न धनी छन्, न त उनी सम्भ्रान्त वर्गमै पर्छन् । गल्फमा शिवरामले पाएको सफलता अनौठो छ । एयरपोर्ट नजिक गरिब परिवारमा जन्मिएका शिवराम घर छेउको गल्फ कोर्समा ठूलाबडाले खेलेको देखेर त्यसको सिको गर्न थाले । बाल्यकालमा फलामको रडलाई बङयाएर गल्फ सिकेका उनै शिवरामले अहिले गल्फमा छलाङ मारेका छन् ।
शिवरामको गल्फ खेलबाट मात्र वर्षमा १० देखि १२ लाख रुपैयाँ कमाइ हुन्छ । सूर्य नेपाल गल्फ टुरका सर्वाधिक सफल शिवरामले सन् २०१६ को अघिल्लो सिजनमा आयोजना भएका आठ प्रतियोगितामध्ये ६ वटामा च्याम्पियन बने । जसबाट उनले आठ लाख हात पारे । घरेलु गल्फमा कीर्तिमानी खेलाडी शिवरामले अहिलेसम्म ३८ वटा उपाधि जितिसकेका छन् ।
नेपाली गल्फमा पछिल्लो १० वर्ष उत्कृष्ट खेल खेलिरहेका शिवरामको दबदबा कायमै छ । हरेक महिना शिवरामको ध्यान टुरको उपाधि जित्नमै तल्लीन छ । उनी अझै गल्फमा धेरै गर्न बाँकी रहेको बताउँछन् । नेपालको गल्फ टुरमा सहभागी ४१ जना व्यावसायिक खेलाडीमा सधैं उत्कृष्ट रहने शिवराम आफ्नो सफलतालाई मेहनतको प्रतिफल मान्छन् ।
‘मैले गल्फ खेलमा सानैदेखि लगानी गरेको छु । मेरो पढाइ गल्फकै कारण गुम्यो । अहिले म जहाँ छु, त्यो सब गल्फकै देन हो,’ ३३ वर्षीय शिवराम भन्छन् । भारतीय गल्फ टुर (पीजीटीआई) मा समेत छनोट हुन सफल शिवरामले दक्षिण एसियाली र एसियाली स्तरका धेरै स्पर्धामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । अमेरिकामा गल्फ खेलको प्रशिक्षण लिने अवसर पाएका शिवरामको नेपालमा अहिले प्रतिस्पर्धी नै छैनन् ।