अस्वीकृत जमातका कविताराम

अस्वीकृत जमातका कविताराम

 

मृतक व्यक्तिका बारे केही लेख्दा उसलाई पुनर्जीवित तुल्याउनुसरह हुन्छ । धेरै अग्रज, समकालीन र परावर्ती साथीका बारे लेखिसकेँ मैले— संस्मरण, कविता र कथाहरूमा पनि । कैयौं परिचित मित्र मेरा कथाहरूमा, कविताहरूमा नायकका रूपमा, पात्रका रूपमा पुनर्जीवित भएका पनि छन् । आज यसरी मेरा अनन्य मित्र, अस्वीकृत जमात आन्दोलनका सहयात्री, विचारक कविताराम श्रेष्ठका बारेमा लेख्नुपर्ला भन्ने मैले कहिल्यै विगतमा सोचेको थिइनँ । आज मेरा दुवै आँखा आँसुले भिजेका छन् र शब्दहरूसमेत त्यही आँसुले निथ्रुक्क छन् ।

Sailendra-Sakar-उनलाई सम्झँदा मलाई २०५५ सालतिरको त्यो वसन्तपुरको ढल्न लागेको घरमा भाडामा बसिरहेको समयको सम्झना हुन्छ । ओखलढुंगामा जन्मेका रामबहादुर श्रेष्ठ धरान बसाइँ सरेर दोलखा हुँदै हामी (परशु दाइ र म)लाई खोज्दै त्यहाँ अनायास आइपुगेका थिए । आफ्नी डल्लीडल्ली गोरी पत्नी चन्द्रा र तोते बोली बोल्न थालेकी छोरीका साथ राजधानीमा संघर्षका रूपमा लड्न पाखुरा सुर्केर उनी आइपुगेका थिए । उनका काका सूर्यलालले सायद उनलाई हाम्रो डेराका बारे बताइदिएका थिए ।

किनभने सूर्यलाल र परशु दाइ दुवै पूर्वपरिचित जागिरे पनि । मेरै समवयस्क, रातो वर्णको, मभन्दा अलि अग्लो र मोटो रामबहादुर श्रेष्ठ कवितारामका रूपमा मेराअगाडि थिए । धरानमा रहँदा एकजना दलित महिलासँग प्रेम भएर त्यताबाट उनलाई एउटी कन्या प्राप्ति भएको रहेछ । धरानका परिचित सम्पूर्ण नेवारहरूले दोस्रो विवाह, त्यो पनि दलित भनेर उनलाई टिक्न नदिएपछि उनी शिक्षकका रूपमा त्यहाँबाट केटाकेटीमै विवाह भएकी पत्नीलाई लिएर दोलखाको स्कुलमा पढाउन थालेछन् ।

प्रधानाध्यापकसँग निकै विवाद भएकाले त्यहाँबाट उनी काठमाडौं छिरेका थिए— जे त होला भनेर । म राति सरस्वती कलेजमा बीए पढ्दै गरेको, उनी पनि आईए धरानबाट उत्तीर्ण गरेर आएका । तर, उनी मसँग कलेज कहिल्यै गएनन् । मैले पनि जानै छाडेर पछि प्राइभेट जाँच दिएँ । दुवै बेकार । उनले भने, ‘मेरा केही नातेदार दिनभर तास (किट्टी, म्यारेज) खेलेर बस्छन्, जसले जित्छ उसैसँग जितौरी मागेर बेलुका दाल, चामल र नुन लिएर आउँछु ।

यसैबाट घर खर्च चलेको छ ।’ उनले भोक मार्ने एउटा अचुक जुक्ति पनि सिकाए— आधा ग्लासजति नुन पोको पारेर गोजीमा राख्ने, दिउँसो भोक लाग्यो भने एक फाँको नुन र दुई ग्लास पानी पिइहाल्ने, भोक मर्छ । म दिनभरि उनकै ‘टिप्स’मा सहरतिर बरालिन थालेँ । उनी पनि दिनभर पछिसम्म ‘मन्त्र’ पत्रिकाका लागि विज्ञापन उठाउँदा मसँगै त्यसरी नै नुन बोकेर संस्थान र मन्त्रालयहरू चहार्न थाले ।

एक दिन पशुपति देउपाटनका कवि वासु शशीले हामी दुवैलाई घरमै बोलाए । हामी त्यहाँ गयौं । त्यहाँ भुखी पिँढी कलकत्ताका सुविमल वसाक, मलयराम चौधरी, अनिल करंजईहरू आएका रहेछन् । उनीहरू लवाइमा जोगीजस्ता गाँजा खाइरहने तर औधि विरोधी । अमेरिकामा त्यस बेला चलेको बिट र हिप्पीहरूबाट प्रभावित । एलेन गिन्सबर्ग र ज्याक केरुआक, लरेन्स फर्लिंघेट्टी उनीहरूका आदर्श।

कवितारामले भोक मार्ने एउटा अचुक जुक्ति सिकाए— आधा ग्लास जति नून पोको पारेर गोजीमा राख्ने, दिउँसो भोक लाग्यो भने एक फाँको नुन र दुई ग्लास पानी पिइहाल्ने, भोक मर्छ । म दिनभरि उनकै ‘टिप्स’मा सहरतिर बरालिन थालेँ ।

त्यस बेला देउपाटनमा वासु शशीको बार्दलीमा बसेर उनीहरूको एउटा मात्र कुरा मेरो अन्तस्करणमा अचेतन मनभित्र घुस्यो— सत्य लेख्न सक्तैनौ भने किन लेख्ने ? किन कविता र कथा लेखेर समाजलाई भुल्याइरहने ? भाँच कलम, च्यातिदेऊ कागज, जीरामरीच पसल खोल ।’ मलाई यो कुरा घत लाग्यो, कवितालाई पनि लागेछ । हामी फर्कंदा अलि अर्कै भइसकेछौं । त्यही बेला भारतीय पुस्तकालयमा हामीले प्रिन्स क्रोबाट किनेको ‘द क्वेसन अफ ब्रेड’ नामक पुस्तकको हिन्दी अनुवाद ‘रोटीका सवाल’ पनि भेट्यौं, पढ्यौं र अस्वीकृत जमातको बीजारोपण गर्‍यौं— २०२६ सालमा ।

उनी साम्यवादी विचारधाराबाट निकै प्रभावित हुँदै गए र ट्राटस्कीका विचार र अराजकतावादबाट धेरै प्रभावित भए । असली अन्तिम साम्यवादमा पुलिस, प्रशासन र न्यायालय केही पनि चाहिँदैन भन्ने कुरामा विश्वस्त । म भने ‘पावर करप्ट्स, एब्सलुट पावर करप्ट्स एब्सलुट्ली’ भन्ने क्रोपाटकिनको विचारको धेरै नजिक— शक्तिले भ्रष्टाचार निम्त्याउँछ र अत्यधिक शक्तिले अत्यधिक भ्रष्टाचार । त्यसको उदाहरण पछिल्लो समयमा चाउचेस्कु नै थिए । ब्रेख्तका धेरै लेखन उनीबाटै प्रभावित छन्।
अस्वीकृत जमातको प्रारम्भमा तीन कुरामा हाम्रो सहमति रह्यो-

१. आजसम्मका सम्पूर्ण महाकाव्य, काव्य र साहित्य केवल राजा, महाराजाहरूको बारेमा मात्र लेखिएकाले अब साधारण व्यक्तिको बारेमा मात्र साहित्य लेख्ने । चोर, डाँका, हेपिएका गरिब, दलित हाम्रा पात्र हुने ।

२. स्वभाववाद : अराजक स्वभाववादको वकालत गर्दै जाने । पानीजसरी स्वाभाविक जीवनको स्तुति गाउने । जीवनलाई जीवनकै स्वभावमा छाड्नुपर्ने । जीवनको स्वभाव के हो भन्ने विषयमा निरन्तर लेखिरहने । कवितारामको ‘स्वभाववाद’मा विशेष जोड रहिरह्यो ।

३. यौनका बारे समाजमा व्याप्त भ्रान्तिहरूको विरोध गर्ने । यौन जीवनको प्राकृतिक स्वभाव भएकाले सम्भ्रान्त महिलाभन्दा वेश्याहरू हाम्रा लागि मान्य हुने उनीहरूको इज्जत गर्ने ।

तत्काल नेपाल भूषण न्यौपानेले हामीलाई ‘संजीविनी’ नामक पत्रिका दिए र त्यसैमा कविताराम अतिथि सम्पादक बनेपछि हाम्रा सबै कुरा त्यसमा छाप्ने भयौं । घोषणापत्र भनेर मैले विविध अराजक कुराहरू लेखेँ । मलाई त्यसै बेला भोजपुर फर्कनु परेकाले म उतै लागेँ । काठमाडौंमा कविताराम ‘अस्वीकृत जमात’ भन्दै कुर्लन थालेको कुरा भोजपुरमा मैले सुनेँ । बीएको परीक्षाफल प्रकाशित भएपछि म काठमाडौं फर्कें— राम्रो अंकले झन्डै प्रथम श्रेणी आएको रहेछ मेरो ।

त्यही बेला समालोचक कृष्णचन्द्रसिंह प्रधान उनको कुराकानीबाट निकै प्रभावित भएछन् र उनलाई ‘कहीँ-कतै कविताराम भनेको आजका जीवित सुकरात हुन्’ भनेर पनि लेखेछन् । अब उनलाई के चाहियो ? जताततै उनले भनेको ठाउँमा नुन बोक्दै, पानी पिउँदै भाषण दिन थाल्यौं हामीले । मानिसहरूमा निकै जिज्ञासा थियो, त्यस बेला हाम्रा कुराहरू ध्यान दिएर सुन्थे । त्यही जोशको प्रतिफल हो- बुट पालिस अभियान ।

अधिकृतमा सफल भएर पहाड, मधेसतिर जागिरे जीवनमा होमिएँ म । उनीसँग सम्पर्क टुटेजस्तै भए पनि भेट हुँदै नभएको भने होइन । धेरैपछि चन्द्रा भाउजूसँग भेट भयो । उनले भनिन्, ‘तपाईंको साथी कविताराम मलाई छाडेर दुईतीनवटा छोराछोरीकी आमा लन्डनकी नर्ससँग लागेछ ।’ र, उनी मेरोअगाडि धुरुधुरु रोइन् । मलाई पनि नरमाइलो लाग्यो । पछि बीचबीचमा चन्द्रासँग भेट भइरह्यो मेरो । एक दिन उनले भनिन्, ‘तपार्इंको साथी कविताराम अब मर्छ । त्यसलाई क्यान्सर भएछ । मलाई धोका दिएको पाप लाग्यो, त्यसलाई । म अहिले छोरीसँग तीनकुनेमा छु ।’

मलाई झन् नरमाइलो लागिरह्यो । मर्नुभन्दा केही महिनाअगाडि फेसबुकमा ‘पुनर्जन्म’बारे निकै लामो चर्चा भयो उनीसँग । त्यसबारे लेख्ने (छुट्टै लेखमा) मेरो विचार छ । स्वास्थ्यबारे अत्यन्त ध्यान दिने, रक्सी र चुरोटसँग घृणा गर्ने कवितारामको यो आकस्मिक निधनले मलाई असाध्यै झस्काएको छ । जीवन र मृत्युबारे अत्यन्त सोचमग्न बनाएको छ । मलाई हाकाहाकी ‘तँ’ भन्ने साह्रै नजिकको साथीको मृत्युबारे अब के लेखूँ ? जति लेखे पनि कमै हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.