ढुंगा
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुंगा
सबैभन्दा टाढा पुग्छ,
म त्यही ढुंगा हुँ फरहान ।
दुःखका हजार भीरमा ठोक्किँदा पनि हात सग्लो राखेर
चोटका सयौं भुमरीमा फस्दा पनि खुट्टा दुरुस्त राखेर
हुर्रिंदै, चित्कार गर्दै र टुक्रिँदै
त्यो ढुंगा तलतलसम्म खस्छ
र, तिम्रो देश यानि यो मरुभूमिसम्म आइपुग्छ ।
म त्यही ढुंगा हुँ फरहान ।
तिमीलाई थाहा नै छ—
यस नीलो ग्रहका अग्लाअग्ला हिउँघरहरू
मेरा क्रीडास्थल थिए ।
तीर चढाएका वाणजस्ता उन्नत टाकुराहरू
मैले संसार नियाल्ने उचाइ थिए ।
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
पहाड फा¥यो पण्डित प्रजातन्त्रले ।
थर्थरायो पहाड बमका विस्फोटनहरूमा ।
सडक त बन्यो
तर, म चोइटिएँ, परिवारबाट अलग्गिएँ र झरेँ तलतल
र, हजार बल्ड्याङ खाँदै आइपुगेँ यहाँसम्म ।
यहाँ आएपछि
पसिनाको मसीले
बालुवामा लेखेको मेरो कथा त
तिमीलाई थाहा नै छ फरहान ।
म यहाँ आएँ र देशमा छोरा जन्मियो ।
म यहाँ आएँ र देशमा युद्ध सुरु भयो ।
म यहाँ आएँ र मेरा बाआमा युद्धमा मारिए ।
मेरी बहिनी बलात्कृत भई र बौलाई ।
भाइ बेपत्ता भयो ।
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुंगा ।
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुंगा हुँ फरहान ।
फरहान, अब हाम्रो भेट होला नहोला
बालुवाका ढिस्का र यी भेडाका बथानहरूलाई साक्षी राखेर
आऊ आज अन्तिमपटक बात मारौं ।
फिर्ती टिकट झोलामा राखेर
भोलि त म उड्नेछु देश
र, पुग्नेछु ।
भत्किएको पहाडको हाँगामा अल्झिएकी
पत्नीलाई भेट्न ।
(जसलाई बिहेलगत्तै छोडेर आएको थिएँ यो मरुभूमिमा)
भोलि त उड्नेछुु देश
र, पहिलोपटक अँगालो मार्नेछु ।
बाउको मुख नदेखी जवान भइसकेको छोरालाई ।
बेसी फाँटमा उदासीको सुसेली हाल्नेछु
पिँपिरी बजाउनेछु, टाकुरामा बसेर ।
बनाउनेछु चौतारो—
दिवंगत बाआमा, बौलाही बहिनी र बेपत्ता भाइको नाममा
त्यसमा चढाउनेछुु देउरालीको पाती ।
सुनेको छु
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
फेरि पहाड फोर्दैछ रे काजी गणतन्त्रले ।
पक्का छ, यसपालि पनि पहाड झर्नेछ ।
लाहुरको गुरुत्वले तान्ने ढुंगा न हुन् मेरो देशका युवाहरू,
म त कसैगरी अल्झनेछु, पहाडको हत्केलामा
तर डर छ मलाई—
खस्नेछ मेरो छोरा त्यो अग्लो पहाडबाट
र, पुग्नेछ सबैभन्दा टाढा
मिस मेलिनाको चिसो देशमा ।
मलाई थाहा छ, तिमीलाई मैले सुनाएझैं
सुनाउनेछ एक दिन मेरो छोराले मेलिनालाई
आफ्नो कथा—
‘डियर मेलिना
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुंगा
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुंगा हुँ ।’