कुन दलका कति केन्द्रीय नेता चुनावमा ? १३२ रिङ आउट

कुन दलका कति केन्द्रीय नेता चुनावमा ? १३२ रिङ आउट

काठमाडौं : प्रमुख तीन दल (कांग्रेस, एमाले र माओवादी केन्द्र) का एक सय ३२ केन्द्रीय नेता प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी दौड बाहिर छन्। कांग्रेसका ७५ सदस्यीय केन्द्रीय समितिका १३, एमालेका २०१ जनाको केन्द्रीय समितिका ८८ र माओवादी केन्द्रको ९५ सदस्यीय सचिवालय सदस्यका २९ जना नेता यसपटकको चुनावमा कतै पनि उम्मेदवार छैनन्।

राजनीतिक दलको सबैभन्दा सर्वोच्च निकाय केन्द्रीय समितिलाई मानिन्छ। केन्द्रीय समितिमा रहेका सबैभन्दा बढी एमालेका नेता चुनाव लडेका छैनन्। एमालेका ८८ नेता (४३ दशमलव ७८ प्रतिशत) चुनावमा उम्मेदवार छैनन्। एमालेको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल, पोलिटब्यूरो सदस्य अग्नि खरेल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, प्रदीप नेपाल, वेदुराम भुषाल, महेन्द्र पाण्डे, रघुजी पन्त, श्रीमाया थकाली, विष्णु रिमाललगायत नेता चुनावी दौडबाट बाहिर छन्।

माओवादी केन्द्रको भने केन्द्रीय समिति नै चार हजार बढीको ‘जम्बो’ रहेका कारण सचिवालय सदस्य नेतामध्ये ३० दशमलव ५२ प्रतिशत नेता चुनावी दौड बाहिर छन्।

*सचिवालय सदस्यसम्म

माओवादीका ९५ सदस्यीय सचिवालय सदस्यमा २९ नेता चुनाव बाहिर छन्। रामबहादुर थापा, अमिक शेरचन, गोपाल किराँती, नारायण शर्मा पौडेल, लीलामणि पोखरेल, श्रीराम ढकाल, मायाप्रसाद शर्मालगायत नेता चुनाव लडेका छैनन्।

कांग्रेसका भने १३ नेता मात्रै चुनावी प्रतिस्पर्धाबाट बाहिर छन्। कुल ७५ मध्ये १७ दशमलव ३३ प्रतिशत नेता चुनाव भन्दा बाहिर परेका हुन्। केन्द्रीय सदस्य कुलबहादुर गुरुङ, खुमबहादुर खडका, नरहरी आचार्य, कमला पन्त, धनराज गुरुङ, बद्रीप्रसाद पाण्डेलगायत नेता निर्वाचनमा कतै पनि उम्मेदवार छैनन्।

निर्वाचन सम्बन्धी कानुनले खड्कालाई पार्टी सदस्यसम्म बन्नबाट रोकलाए पनि उनी कांग्रेसको केन्द्रीय समितिमा अझै छन्। उनलाई जिल्लाले उम्मेदवार बन्न सिफारिस गरेर केन्द्रीय समितिमा पठाएको थियो। तर, उनको उम्मेदवारी खारेज हुने निर्वाचन कानुन बनेका कारण कांग्रेसले उम्मेदवार नबनाएको हो। उता नरहरि भने गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ वाट जितेका सांसद हुन्। यस पटक उनी शारीरिक अस्वस्थताका कारण चुनावी मैदानमा छैनन्।

प्रत्यक्षमा भने सबैभन्दा धेरै कांग्रेसका

पार्टी केन्द्रीय समितिबाट मुख्य तीन दलमध्ये कांग्रेसले सबैभन्दा बढी उम्मेदवार पठाएको छ। कांग्रेसका ५० केन्द्रीय नेता प्रत्यक्षतर्फको चुनावी दौडमा छन्। यो कांग्रेसको केन्द्रीय समितिकै ६६ दशमलव ६६ प्रतिशत हो।

पार्टी सभापतिदेखि केन्द्रीय समितिका अधिकांश नेता प्रत्यक्षतर्फ मैदानमा छन्। केन्द्रीय सचिवालयबाट माओवादीले भने ४१ नेतालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। यो माओवादीको केन्द्रीय सचिवालयको ४३ दशमलव १५ प्रतिशत हो।

एमालेले पार्टी केन्द्रीय समितिका ३४ दशमलव ८२ प्रतिशत नेतालाई मात्रै प्रत्यक्षमा चुनाव लडाएको छ। उसका ७० जना नेता प्रत्यक्षमा चुनाव लडेका छन्।

त्यस्तै समानुपातिक तर्फ केन्द्रीय समितिबाट सबैभन्दा बढी माओवादी केन्द्रले उम्मेदवार बनाएको छ। माओवादीका २६ दशमलव ३१ प्रतिशत अर्थात् २५ नेता समानुपातिक तर्फका प्रदेश तथा प्रतिनिधीसभाका उम्मेदवार छन्। माओवादीका सचिवालय सदस्य मणि थापा, जयपुरी घर्ती, तिलक परियार, हितराज पाण्डे, पूर्वसभामुख ओनसरी घर्तीलगायतका नेता समानुपातिक तर्फका उम्मेदवार छन्।

दोश्रोमा एमालेले कुल केन्द्रीय समितिको २१ दशमलव ३९ प्रतिशत अर्थात् ४३ नेतालाई समानुपातिक तर्फका उम्मेदवार बनाएको छ। एमालेले मुकुन्द न्यौपाने केन्द्रीय लेखा परीक्षण आयोग अध्यक्ष डा पुष्प कँडेल, सोमनाथ प्यासी पोलिटब्यूरो सदस्य थममाया थापा, विन्दा पाण्डे, राधा ज्ञावाली, रामप्रित पासवानलगायतका नेतालाई समानुपातिक उम्मेदवार बनाएको छ।

कांग्रेसले भने १२ केन्द्रीय नेतालाई मात्रै समानुपातिक तर्फ उम्मेदवार बनाएको छ। यो कांग्रेसको केन्द्रीय समितिको १६ प्रतिशत हो। कांग्रेसले पार्टी कोषाध्यक्ष सीतादेवी यादव , केन्द्रीय सदस्य बलकृष्ण खाँण, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मीन विश्वकर्मा, पर्वता डिसी चौधरी, बाहादुर सिंह तामाङलगायतका नेतालाई समानुपातिकमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.