साना दल भन्छन्, 'आचारसंहिता उल्लंघन गर्ने हैसियत छैन’

साना दल भन्छन्, 'आचारसंहिता उल्लंघन गर्ने हैसियत छैन’

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले प्रचार तीव्र पारेका छन् । ठूला दलको तुलनामा कमजोर देखिए पनि उनीहरू कुनै कसर नराखी प्रचारमा जुटेका छन्।ठूला दल राष्ट्रिय अखबारमा छाउन थालेका छन् भने साना दल सामाजिक सञ्जालमा केन्द्रित छन् ।

साना दलका उम्मेदवारले सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन र युट्युब च्यानल प्रयोग गरिरहेका छन् । कतिपय उम्मेदवारले आफ्ना प्रोफाइल विभिन्न अनलाइनमा छ्यापछ्याप्ती बनाएका छन् । ठूला दलको प्रचारमा ओझेल परेका साना दलका उम्मेदवारले मतदाता रिझाउन विभिन्न शैली अपनाएका छन् ।

काठमाडौं ४ बाट विवेकशील साझा पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुबुना बस्नेत कात्तिक अन्तिमदेखि टेम्पो रिजर्भ गरेर प्रचारमा जुटिरहेकी छन् । उनी प्रचारमोहले नभई वातावरणमैत्री टेम्पो चढेर स्वावलम्बनको उदाहरण दिन खोजेको तर्क गर्छिन् । ‘यो चर्चा कमाउने उद्देश्यले गरिएको होइन । वातावरण प्रदूषणविरुद्ध उदाहरण पेस गर्न खोजेकी हुँ’, उनी भन्छिन् । विवेकशीलका अन्य उम्मेदवार पनि टेम्पो प्रयोग गरिरहेका छन् ।

ललितपुर १ बाट नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधिसभाका प्रत्याशी योगेन्द्र घिसिङले आफ्नो जीवनकथालाई स्केच बनाएर बाँडिरहेका छन् । चुनावी पर्चामा उनकोे सम्पूर्ण जीवन कथा पढ्न पाइन्छ । उनले बाल्यकालमा हलो जोतेको, गोठालो गएको, स्कुल गएको र युद्धमा घाइते भएको स्केचमा कोर्न लगाएर ब्रोसरमा छापेका छन् ।

तस्बिरलाई फ्लेक्स बोर्डमा समेत प्रिन्ट गरी गाउँगाउँमा टाँसेका छन् । चित्रको माथि उनले ‘तस्बिर आफैं बोल्छ’ समेत लेखेका छन् । ‘लोकतन्त्र प्राप्तिका लागि मैले गरेको संघर्ष चित्रमा उल्लेख गरेको हुँ । जीवन कथा सुनाएर भोट मागेको होइन’, उनले भने ।

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र २ मा देशभक्त गणतान्त्रिक मोर्चाबाट प्रतिनिधिसभाका प्रत्याशी नारायण पंगेनी तीन सातादेखि मोटरसाइकलमार्फत प्रचार गरिरहेका छन् । दुई÷चार जना मतदाताबीच पुग्दै उनले फेसबुकमा फोटो अपलोड गर्ने गरेका छन् । उनी सम्पूर्ण निर्वाचन क्षेत्रमा मोटरसाइकलमै पुगे । शुक्रबारबाट भने उनले प्रचारका लागि ठूलो गाडी प्रयोग गरेका छन् । ‘मेरो उम्मेदवारी जितभन्दा दुई गठबन्धनलाई कमजोर बनाउनु हो’, उनले भने । उनी बेलाबेलामा स्थानीय टेलिभिजनमा पनि देखिने गरेका छन् ।

नयाँ शक्तिबाट काठमाडौं ७ का प्रतिनिधिसभा प्रत्याशी ईश्वर रिजाल पनि मोटरसाइकलमै चुनावी अभियान सञ्चालन गरिरहेका छन् । घरदैलो कार्यक्रम, कोणसभा गर्दै आएका उनी बेलाबेला फेसबुक लाइभ पनि गर्छन् । उनी भन्छन्, ‘अरूले हजारौं फ्लेक्स बोर्ड बनाए । मैले थोरै बनाएर केही चोकमा टाँगेको छु ।’

प्रचारमा चिठी

साना दलका उम्मेदवारले प्रचारमा कुनै कसर बाँकी राखेका छैनन् । सामाजिक सञ्जालका साथै चिठी लेखरै मतदातालाई दिइरहेका छन् । घरदैलोमा पुगेपछि उनीहरूले प्रत्येक घरबाट सम्पर्क नम्बर संकलन गर्छन् । त्यसपछि फोन र एसएमएस गर्छन् । विवेकशील साझाकी बस्नेत भन्छिन्, हामीप्रति सकारात्मक मतदाताबाट सम्पर्क नम्बर संकलन गरिरहेका छौं । त्यसपछि एकसाथ सबै जनालाई एसएमएस र फोन गर्छौं ।’ फोन मात्रै होइन, चिठीसमेत पठाउने गरेको उनले बताइन् । चिठीको व्यहोरामा धन्यवाद पत्र भए पनि आफ्नो एजेन्डा र पार्टीको उपस्थिति उद्यमीबीच पुर्‍याउने नीति रहेको उनी स्विकार्छिन् ।

नयाँ शक्तिका उम्मेदवार रिजालसँग संयोजक बाबुराम भट्टराईले मतदातालाई सम्बोधन गरी लेखेको चिठी छ । उनी घरदैलो कार्यक्रममा जाँदा उक्त पत्र घरबेटीको नाममा सम्बोधन गरी प्रेषित गर्छन् । संयोजक भट्टराईको चिठीबाट आफूले मत हासिल गर्नेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘संयोजक बाबुराम भट्टराईज्यूको पत्रले जनमानसमा प्रभाव पार्ने सम्भावना छ ।’

संघीय समाजवादीका घिसिङले भने चिठी पत्र बाँडेका छैनन् । उनले ब्रोसरमा मिहिनेत गरेको देखिन्छ । गणतान्त्रिक मोर्चाका पंगेनीसँग पनि कुनै पत्र छैन, बरु आर्थिक सहयोगका लागि ‘अनुरोधपत्र’ छ । ‘चुनाव लड्न केन्द्रबाट आर्थिक सहयोगका लागि अनुरोध पत्र आएको छ । त्यही बाँड्दै छौं’, उनी भन्छन् ।

‘जित होइन उपस्थिति मात्रै’

उनीहरू जित्नका लागि नभई आफ्नो पार्टीको उपस्थिति देखाउन मात्रै चुनावी मैदानमा उत्रिएको बताउँछन् । नयाँ शक्तिका उम्मेदवार रिजाल भन्छन्, ‘केही मत पाउने आशा छ । पहिलो नै हुन्छु भन्नेचाहिँ दाबी छैन ।’ लोकतान्त्रिक मोर्चाका पंगेनी आफ्नो उम्मेदवारी जितका लागि नभई संगठन सृढृढीकरणका लागि भएको बताउँछन् ।

त्यस्तै, संघीय समाजवादीका घिसिङ चुनावमा जित नै हुन्छ भन्नेमा विश्वस्त छैनन् । भन्छन्, ‘जित सुनिश्चित नभए पनि उपस्थिति देखाउने हाम्रो मनसाय हो ।’
उनीहरू ठूला दलका उम्मेदवारले मतदातालाई विवेकहीन बनाउन खोजेको र आचारसंहितासमेत उल्लंघन गरेको आरोप लगाउँछन् । ‘जनतालाई विवेकहीन बनाउने कोसिस भएको छ’, उनी भन्छन्।

रिजाल र बस्नेत पनि आफूले आचारसंहिता पालना गरिरहेको बताउँछन् । उनीहरू भन्छन्, ‘हामी सरकारमा छैनौं । हामीसँग आचारसंहिता उल्लंघन गर्ने आँटै छैन । समाचार संस्थाहरूले हामीमाथि भेदभाव गरिरहेका छन् ।’

निर्वाचन आचारसंहिता, २०७२ मा सामान्य आचरण र विषयगत आचरण उल्लेख छ । जसअन्तर्गत राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचार-प्रसार गर्दा प्रत्येक दिन बढीमा ७÷७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने उल्लेख छ । त्यस्तै, उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा चारपटक र एकपटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने व्यवस्था छ । तर, आचारसंहितामा अनलाइन, सामाजिक सञ्जाल र युट्युब च्यानलजस्ता माध्यमको उल्लेख छैन । यी माध्यमबारे निर्वाचन आयोग मौन देखिन्छ ।

आयोगका प्रवक्ता नवराज ढकाल मतदातालाई उम्मेदवारले चिठी लेख्दा आचारसंहिता उल्लंघन नहुने बताउँछन् । उनी भन्छन्, ‘मतदाताले नम्बर दिएपछि आबद्धता देखिन्छ । त्यसमा फोन किन गर्‍यो भन्नु उचित हुन्न । अत्यधिक मात्रामा ‘भोट गर्नुस्’ भन्ने फोन र एसएमएस आयो र आयोगमा उजुरी पर्‍यो भने मात्रै कानुनी कारबाही अगाडि बढाउन मिल्छ ।’

साना दलको प्रचारशैली

- काठमाडौं ४ मा विवेकशील साझा पार्टीकी सुबुना बस्नेत टेम्पो रिजर्भ गरेर प्रचारमा जुटिरहेकी छन् । उनी प्रचारमोहले नभई वातावरणमैत्री टेम्पो चढेर स्वावलम्बनको उदाहरण दिन खोजेको तर्क गर्छिन् ।
- ललितपुर १ मा संघीय समाजवादी फोरमका योगेन्द्र घिसिङ आफ्नै जीवनकथालाई स्केच बनाएर बाँडिरहेका छन् । उनले बाल्यकालमा हलो जोतेको, गोठालो गएको, स्कुल गएको र युद्धमा घाइते भएको स्केच ब्रोसरमा छापेका छन् ।
- काठमाडौं ७ मा नयाँ शक्तिका ईश्वर रिजाल र नवलपरासी बर्दघाट सुस्तापूर्व २ मा देशभक्त गणतान्त्रिक मोर्चाका नारायण पंगेनी मोटरसाइकलमार्फत प्रचार गरिरहेका छन् । उनीहरू बेलाबेला फेसबुक लाइभ पनि गर्छन् ।
- साना दलका उम्मेदवारले फोन, एसएमएस र चिठीमार्फत पनि भोट दिन आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.