लोकतन्त्र नेतालाई मात्रै आयो, जनतालाई आएन

लोकतन्त्र नेतालाई मात्रै आयो, जनतालाई आएन

भरतपुर : २००७ सालदेखि अहिलेसम्मको राजनीतिक यात्रामा बलिदानपूर्ण वैचारिक जीवन बिताएका एकै उमेरका दुई वयोवृद्ध दुई धु्रवमा उभिएका छन्। तर उनीहरूको अनुभव र अभिव्यक्ति भने एउटै छ। ‘२०१५ सालको संसदीय निर्वाचनमा नैतिकताका पाका उम्मेदवार र जमानाका पाका मतदाता थिए तर अहिले सत्ताका पाका उम्मेदवार र स्वार्थका पाका मतदाता छन्', उनीहरूले भनेका छन, ‘त्यसैले अब डेमोक्रेसी इज् फर दि लिडर, वाई दि लिडर बन्न पुगेको छ। नट् फर दि पिपुल, वाई दि पिपुल।'

२०१५ सालमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्र र प्रतिबद्धता त्योभन्दा धेरै उचाइमा कार्यान्वयन भएको स्मरण उनीहरू गर्छन्। २८ वर्षअघि प्रजातन्त्र आएदेखि अहिलेसम्म यिनै कांग्रेस र कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्र आश्वासनका पुलिन्दामात्र बनेन्, पार्टी विभाजनसमेत भए। बहुमत प्राप्त कांग्रेस ७४ र ३६ मा परिणत भयो। गणेशमान र किशुनजीलाई कांग्रेस परित्याग गर्ने वातावरण सिर्जना गर्नु प्रजातन्त्रको लागि दुर्भाग्य भएको धारणा उनीहरूको छ। सत्ताको दुरुपयोग गर्दै कांग्रेसले मित्रराष्ट्रले दिएका औद्योगिक संस्थासमेत कौडीको भाउमा बेचेकोमा उनीहरूले खेद व्यक्त गरेका छन्।

२०४९ सालदेखि अहिलेसम्मका उम्मेदवार सत्ताका पाका र मतदाता स्वार्थका पाका बनेको उनीहरूको भनाइ छ। ती दुई पात्रमा वाम गठबन्धनका मतदाता रामराजाप्रसाद सिंहको पार्टीका प्रवक्ता ७७ वर्षीय गोविन्द उपाध्याय र कांग्रेसको तर्फबाट २०३७ सालमा चितवन भरतपुर मैघौली गाविसका पूर्वप्रधानपञ्च, पटकपटक क्षेत्रीय अध्यक्ष हुँदै अहिलेसम्म कांग्रेसको क्रियाशील पार्टी सदस्य रहेका ७७ वर्षीय गोपालप्रसाद जोशी हुन्।

सप्तरी गोविन्दपुरमा जन्मिएका उपाध्याय दिल्लीस्थित अल इन्डिया रेडियोमा काम गर्ने सिलसिलामा जनवादी मोर्चाका अध्यक्ष सिंहसँग निकट र कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठ (माइला दाइ)सँग सामान्य सम्पर्कमा रहेका थिए। ‘पुष्पलालसँग मेरो पहिलो भेट दिल्लीस्थित भारतीय विश्व परिषद्को कार्यालयमा पत्नी किरण मि श्रमार्फत भएको हो। पत्नी किरण त्यही रेडियोमा कार्यरत थिइन्', उपाध्यायले स्मरण गरे, ‘मैले पुष्पलाललाई देख्नासाथ उनको अनुहारमा सुवासचन्द्र बोसको झझल्को पाएको थिएँ।'

पुष्पलाल बनारसबाट दिल्ली बारम्बार आइरहन्थे। त्यहाँ उनलाई माइला दाइका रूपमा सबैलै चिन्थे। माइला दाइले नेपालमा परिवर्तनका संवाहक जन्माएको उपाध्यायको भनाइ छ। पुष्पलाल श्रेष्ठको सिंगो जीवनचक्र मूल्यांकन गर्दा त्यो उच्च कदको कम्युनिस्ट नेताको राजनीति जीवनदेखि मृत्युपर्यन्तसम्म बलिदानभन्दा केही नरहेको स्मरण गर्दा उपाध्याय भक्कानिए।

तत्कालीन मालेले ‘गद्दार' पुष्पलाल भने पनि त्यसका इमानदार कमान्डर मदन भण्डारीले अन्ततः संस्थापक अध्यक्षको रूपमा स्विकारे। पुष्पलालमा रहेको विचारयुक्त बलिदानीपूर्ण संघर्षको झझल्को मधेस आन्दोलनका क्रममा नेपालमाथि लगाइएको नाकाबन्दीका समय एमाले अध्यक्ष केपी ओलीको भूमिकामा आफूले पाएको उनको भनाइ छ।

नाकाबन्दीको समयमा ओलीको बोलीलाई उपहासमा उडाउनप्रति व्यंग्य कस्दै उपाध्यायले भने, ‘घरघरमा ग्यास पुर्‍याउने कुरा ठूलो होइन, पुग्छ। पानीबाट भन्दा हावाबाट विद्युत् उत्पादन सहज र सरल हुन्छ।' विचार र सोचको ऊर्जा सच्चा राष्ट्रवादी नेता ओलीको राष्ट्रप्रतिको इमानदारितालाई सम्मान गर्दै मंसिर २१ गतेको निर्वाचनमा आफूले वामपन्थी उम्मेदवारको पक्षमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा मतदान गर्ने जानकारी पनि दिए।

समाजवादी आन्दोलनकै प्रणेता बीपी

पर्वतको कुश्मामा जन्मिएका ७७ वर्षीय गोपालप्रसाद जोशी २००७ सालको क्रान्तिमा नौ वर्षका थिए। उनले आफ्ना काकाबाबुका साथ प्रजातन्त्र आएको खुसीमा उनी पनि उफ्रँदै बजारसम्म आएका थिए। २०१५ देखि २०३९ सालसम्म पटकपटक भारत र काठमाडौंस्थित जयबागेश्वरीमा रहेको कोइराला निवासमा बीपीसँग भेटेका जोशीले उनीबाट प्रजातन्त्र र कांग्रेसको सिद्धान्तका बारेमा बुझ्ने अवसर पाए।

विचार र व्यवहार दुवै कुराले धनी भएकाले बीपीको कांग्रेस आजसम्म जनताबीच टिकेको उनको भनाइ छ। जनमतसंग्रहको परिणाम बीपीले स्वीकारे पनि हामी स्वीकार्दैनांै भन्दै गणेशमान सिंहको नेतृत्वमा भन्न जाँदा बीपीले ‘फुटबल खेल्न गयौं, गोल गर्न सकेनौं हार्‍र्यौं, अब स्वीकारौं' भन्दै राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्को उदाहरण दिएर कार्यकर्तालाई मनाउन सफल भएको स्मरण जोशीसँग छ।

बीपीको त्यो कांग्रेस अहिले अस्तित्वविहीन हुनुको कारणबारे आफ्नो धारणा राख्दै जोशीले भने, ‘किशुनजीलाई चुनाव हराउँदै पैसा, गुन्डा र राज्यशक्तिको भरमा कोइराला साम्राज्य सञ्चालन गर्ने नीतिमा गिरिजाप्रसाद लाग्नु नै हो।' २०१९ सालमा पर्वतबाट चितवन सरेका जोशी कांग्रेसको निर्देशनमा भरतपुर महानगरपालिका वडा नं. १ सहिदचोकमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएका छन्।

२०१७ सालमा महेन्द्रले जननिर्वाचित सरकारलाई ‘कु' गरेको दाबी गर्दै भन्छन्, ‘कांग्रेसका शीर्षस्तरकै केही नेताले समेत त्यसबेला महेन्द्रलाई साथ दिएका थिए।' जोशीले बीपी कोइरालाको भनाइ स्मरण गर्दै भने, ‘मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जस्तो आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ त्यो सफल भएको भए त्यसको असर मलाईभन्दा अरूलाई बढी पर्ने थियो। त्यो सफल नभएकोमा मलाई चिन्ता हुन्छ। तर मेरो व्यक्तिगत सफलता या असफलताको कुनै महत्व छैन।' बीपीको यही भनाइको सम्मान गर्दै कांग्रेसको निर्देशनमा मतदान गर्न आफू प्रतिबद्ध रहेको उनले बताए। जोशीले बीपी राजनीतिक सिद्धान्त र रणनीतिमा प्रखर र व्याख्याकारसमेत भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.