विवेकी मतदाता

विवेकी मतदाता

 

 मतदाताले प्रस्ट शब्दमा मतदानको आधार जातीय नबनाउने धारणा व्यक्त गर्नु प्रशंसनीय हो । राजविराजका स्थानीय जनता र बुद्धिजीवीले अन्नपूर्णकर्मीसँग मुलुकको आर्थिक विकास र समृद्धिमा योगदान गर्नसक्ने र त्यस्ता क्षमता भएका व्यक्तिलाई जिताउनुपर्ने सकारात्मक सोच राखेको पाइएको छ । यसलाई सबैले सकारात्मकरूपमा ग्रहण गर्नु उचित हुन्छ ।

पहिलो संविधानसभा निर्वाचनताका राजनीतिक मात्र नभई सामाजिक तहमै पनि उग्र जातीय नारा लगाइएका थिए । ७ भदौ २०७२ को टीकापुर काण्डपछि कतै मुलुक जातीय द्वन्द्वमा होमिने त होइन भन्ने आशंका उत्पन्न भएका थिए । नियन्त्रणबाहिर गएको जातीय, धार्मिक र साम्प्रदायिक द्वन्द्वले मुलुक र समाज आक्रान्त बनेका प्रशस्त उदाहरण छन् ।

रुवान्डा, श्रीलंका, अफगानिस्तानलगायत मुलुकका इतिहास र म्यानमारको हालसालैको घटनाले साम्प्रदायिक हिंसाले लिनसक्ने भयावह रूप देखाउँछन् । नेपालमा जातीय विद्वेष र नकारात्मक ध्रुवीकरण मत्थर छ । यो खुसीको कुरा हो ।

जातीय पहिचानमा गर्व गर्नु, जातीय आधारमा हुने विभेदका विरुद्धमा आवाज उठाउनु जातीय आधारमा गोलबद्ध हुनुलाई नराम्रो भन्न सकिँदैन । तर समाज र राजनीतिका हरेक विषयलाई जातीय चस्माले मात्र हेरेर र तदनुरूप व्यवहार निर्देशित हुनु उचित होइन । जातीयतालाई अनावश्यकरूपमा गिजोलेर जातीय विग्रह र विभाजन निम्त्याउने गतिविधि अनुचित हुन्, त्यस्ता प्रवृत्तिको अन्त्य हुनैपर्छ ।
नेपालमा विभिन्न जात र वर्णका मानिस शताब्दीऔंदेखि मिलेर बस्दै आइरहेका छन् । तर उनीहरूको सम्बन्ध समानताको आधारमा थिएन, मानिस कथित उच्च र तल्लो जातमा विभाजित थिए ।
जातीयता राज्यसञ्चालनको मार्गनिर्देशक आधार पनि बनेको थियो । यस्ता कारणले समाजमा जातीयताले गहिरो जरो गाड्यो । फलस्वरूप कथित तल्लो जातका मानिसले खासगरी दलित समुदाय सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिकरूपमा नराम्रोसँग सीमान्तकृत हुन पुगे । विसं. २०२० सालमा जारी भएको नयाँ मुलुकी ऐनले जातीय आधारमा हुने भेदभाव उन्मूलन गरेको भए पनि मानिसको मनोविज्ञान र समाजमा जरो गाडेर बसेको र मानिसबीच विभेदको कृत्रिम पर्खाल खडा गरेको जातीय कुप्रथा पूर्णरूपमा हट्न सकेन ।

जातीय आधारमा हुने विभेदलाई दण्डनीय अपराध मानिए पनि जातीय आधारमा हुने भेदभाव यद्यपि कायम छन् । समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणका लागि ठूलो बाधकको रूपमा रहेको यो जातीय कुप्रथालाई निमिट्यान्न पार्नुपर्छ । त्यसका लागि सक्रिय र निरन्तररूपमा मनोवैज्ञानिक, सामाजिक, शैक्षिक, कानुनी र राजनीतिक पहल गरिनुपर्छ ।

अहिलेको चुनावमा पनि हिमाल, पहाड र मधेस सबैतिर जातीय आधारमा भोट माग्ने र मतदातालाई लोभ्याउने प्रयास भइरहेका छन् । दलहरूले बाहिर नभने पनि जातीयरूपमा अनुकूल हुने गरेर उम्मेदवारी दिने गरेका छन् । उम्मेदवार छान्दा सकेसम्म सक्षम र क्षेत्रको समग्र विकास गर्नसक्ने उम्मेदवार छान्नुपर्छ । मतदातालाई त्यसअनुसार बुझाउनु पनि दलहरूको दायित्व हो । जातीयता जस्तो संवेदनशील विषयलाई चलाउँदा कहिलेकाहीं यसले विस्फोटक रूप लिन सक्छ ।

विश्वकै ठूलो लोकतन्त्र छिमेकी मुलुक भारतमा राजनीतिक कारणले भएका जातीय र धार्मिक द्वन्द्व र तिनका नकारात्मक असर पनि हामीले देख्दै आइरहेका छौं । हाम्रै सन्दर्भमा पनि माओवादीले सशस्त्र द्वन्द्वका दौरान र त्यसपछिका दिनमा जातीय÷क्षेत्रीय आधारमा संगठन निर्माण गर्दा त्यसका दुष्परिणाम यसबीच देखिए ।

जनताले त्यो कुरा बुझेकाले अहिले जातीयताको नारा उछाल्न खोज्दैमा त्यो बिक्ने अवस्था छैन । विवेकी नेपाली जनताले यो मतदानमा त्यो कुरालाई पुष्टि गर्ने संकेत दिएका छन् । विभिन्न सम्प्रदायका नेपाली जहिले पनि मिलेर बस्न सक्ने र सहिष्णु देखिएका छन् । निर्वाचनको मुखमा जातीयताका आधारमा भन्दा पनि क्षमताका आधारमा उम्मेदवारलाई मतदान गर्ने मतदाताको धारणा यस अर्थमा स्वागतयोग्य छ ।A


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.