भारतीय इन्जिनियरले पत्ता लगाए प्लास्टिकबाट पेट्राेल, डिजेल बनाउने प्रविधि

भारतीय इन्जिनियरले पत्ता लगाए  प्लास्टिकबाट पेट्राेल, डिजेल बनाउने प्रविधि

 

नयाँ दिल्ली : फोहोरमा फालिएको प्लास्टिकबाट पेट्रोल बनाउने प्रयास नौलो होइन । तर अहिलेसम्म यस्ता प्रयास सार्थक भएर व्यावसायिक उपयोग सम्भव भएको यस्तो प्रविधि विकास हुन नसकिरहेका बेला एक भारतीय मेकानिकल इन्जिनियरले सम्भव बनाएका छन् ।

भारतको हैदराबादका इन्जिनियर सतिसकुमारले फोहोरमा फालिएको प्लास्टिकबाट इन्धन बनाउने मात्र होइन व्यावसायिक उपयोग गर्न सकिने प्रविधि विकास गरेका छन् ।फोहोर प्लास्टिक पूर्णरुपमा कुहिन वा नष्ट हुन सयौं वर्ष लाग्छ र अहिले विश्वभर नै यस्तो स्थिति छ कि फोहोर प्लास्टिक बगेर समुद्रमा जम्मा भइरहेको छ ।

सन् २०१५ मा भारत सरकारले तयार पारेको एउटा प्रतिवेदनअनुसार भारतका ६० वटा सहरले दैनिक ३ हजार ५ सय १ टन प्लास्टिकको फोहोर उत्पादन गरिरहेका छन् । हैदराबाद पनि ती ६० सहरमध्ये एक हो, जसले दैनिक २ सय टन फोहोर प्लास्टिक उत्पादन गरिरहेको छ ।

यस्तो फोहोर प्लास्टिक नष्ट गर्नु ठूलो समस्या हो । खासमा प्लास्टिक रिसाइकल (फेरि प्रयोग) गर्न सकिन्छ । तर ६ पल्ट रिसाइकल गरेपछि प्लास्टिकलाई रिसाइकल गर्न सकिँदैन । त्यसपछि बाँकी रहेको प्लास्टिकको कुनै उपयोग गर्न सकिँदैन ।

तर हैदराबादका इन्जिनियर सतिसकुमारले यस्तो प्रविधि विकास गरेका छन्, जसबाट काम नलाग्ने भइसकेको ‘डेड प्लास्टिक’लाई पनि उपयोग गर्न सकिन्छ ।‘कुनै उपयोग गर्न नसकिने प्लास्टिक फोहोर र रिसाइकल गर्न नसकिने प्लास्टिक उपयोग गर्नुपर्छ भन्ने लाग्यो र अनुसन्धान गर्न थालें’, हाइड्रोक्सी सिस्टम्स एन्ड रिसर्चका संस्थापक सतिसकुमार भन्छन्, ‘यो प्रक्रियामा डेड प्लास्टिकलाई हामी विशेष प्रक्रियाबाट गुजार्छौं, जसबाट हामी सिन्थेटिक डिजेल, सिन्थेटिक पेट्रोल, हवाईजहाजको सिन्थेटिक इन्धन, पेट्रो केक र यहाँसम्मकि पेट्रोलियम ग्यास पनि उत्पादन हुन्छ । हामीले बेकामे ठानेर फाल्ने प्लास्टिक फोहोरबाट यी सबै उत्पादन गर्न सकिन्छ ।’

सतिसकुमारले प्लास्टिक फोहोरलाई अन्य वस्तुहरूसँगै भ्याक्युम च्याम्बरमा हालेर ३ सय ५० देखि ४ सय डिग्री सेल्सियससम्म तताए । यो प्रक्रियाबाट सामान्यतया ५ सय किलोग्राम प्लास्टिक फोहोरबाट ४ सय लिटर इन्धन उत्पादन हुने उनी बताउँछन् ।

उनले ५ सय किलोग्राम प्लास्टिक फोहोरबाट २ सयदेखि २ सय ४० लिटर डिजेल, ८० देखि सय लिटर हवाईजहाजको इन्धन, ६० लिटर पेट्रोल र २० लिटर अन्य पदार्थ उत्पादन हुने दाबी गरेका छन् ।

उनी प्रत्येक महिना १५ टन फोहोर प्लास्टिक यसैगरी तह लगाउने गरेको बताउँछन् ।
युनिभर्सिटी कलेज अफ टेक्नोलजी हैदराबादमा केमिकल इन्जिनियरिङका प्रिन्सिपल प्रोफेसर आर श्यामसुन्दर भन्छन्, ‘यो प्रविधि उत्तम र पर्यावरणअनुकूल छ । यो प्रक्रियामा कुनै पनि हानिकारक रसायन उत्सर्जन हुँदैन, सबै प्लास्टिक अर्को वस्तुमा परिवर्तन हुन्छ र जे बाँकि रहन्छ त्यसलाई पनि उपयोग गरिन्छ ।’

कति व्यावहारिक

तर अन्य विशेषज्ञ भने यो प्रक्रियामा अत्यन्त धेरै ऊर्जा खपत हुने र अत्यधिक मात्रामा ग्रिनहाउस ग्यास उत्सर्जन हुने बताउँछन् । तेलंगाना राज्य सरकारले भने सतिसकुमारले विकास गरेको प्रविधिको व्यावहारिक उपयोग गर्न सकिने सम्भावना देखेको छ ।

नेसनल इन्स्टिच्युट फर माइक्रो, स्मल एन्ड मेडियम इन्टरप्राइजेजसँग आबद्ध डा. दिव्येन्दु चौधरी भन्छन्, ‘यो प्रविधिबारे हामीले छलफल गर्दा यसको व्यावसायिक उपयोग गर्न सकिने सम्भावना देखेका छौं । अहिले प्लास्टिक सबैका लागि टाउको दुखाइ भइरहेका बेला एउटा सामाजिक जागरुकताको सन्देश पनि जोडिएको छ । त्यसैले यदि हामीले प्लास्टिकलाई प्रभावकारी रुपमा इन्धनमा परिणत गर्न सक्यौं भने समाजका लागि पनि यसले निकै महत्व राख्छ ।’

सतिसकुमार आफ्नो कारमा आफूले प्लास्टिकबाट उत्पादन गरेको पेट्रोल नै प्रयोग गर्छन् । तर जबसम्म हामी प्लास्टिकको दैनिक प्रयोग घटाउँदैनौं प्लास्टिक फोहोरको समस्या समाधान हुनु लगभग असम्भव हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.