भ्रम फैल्याउनेहरुसँग सचेत रहनुहोस् : ओली
विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका बेला जनतामाथि भ्रम फैल्याउने र झुटा आश्वासन बाँड्नेहरुसँग सचेत रहन आग्रह गरेका छन्। ‘निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एउटा पक्ष भ्रम फैल्याउने काम गरिरहेको छ,' उनले भने, ‘अर्को पक्ष उहीसँग गएर चुनावी तालमेल गरिरहेको छ।' लुटलाट र ठगी गर्नेहरुले नेपाली जनतालाई गुम्राहमा राखिरहेको बताउँदै उनले भने, ‘यस्ता अलोकतान्त्रिक तत्वलाई नेपाली जनताले चिनिसकेका छन्। उनीहरुको हविगत चुनाव पछि थाहा भइहाल्छ।'
कांग्रेस प्रति लक्षित गर्दै ओलीले देश टुक्राउन खोज्नेसँग तालमेल गरेर राष्ट्रको रक्षाका लागि लड्ने शक्तिकाविरुद्ध गतिविधि गरिरहेको आरोप लगाए। ‘देश बनाएर जनतालाई सुख दिनुपर्छ भन्नेका सपना भिन्दै छन्,' पूर्व प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्ने र पैसा कसरी कमाउन सकिन्छ भनेर लागेकाहरुको जपना भिन्दै छ।'
राजनीति देश र जनताका लागि गर्नु भन्दै उनले कतिपयले राजनीतिलाई ठगी खाने भाँडो बनाउँदै कमाउने धन्दाका रुपमा दुरुपयोग गरेको आरोप लगाए।
वीपीको समाजवादको सिद्धान्तलाई एमालेले अंगिकार गरिरहेको र कांग्रेसले त्यसलाई भुलेर गएको उनको दावी छ। कांग्रेस बनाएका गणेशमान सिंह र कृष्णप्रसाद भट्राई जस्ता नेताले पछि पार्टी काम नलाग्ने भयो भनेर कांग्रेस छाडेको स्मरण गर्दै ओलीले भने, ‘वाम गठबन्धनको एजेन्डामा नेपाली जनताले सहमति जनाइसकेका छन्। कांग्रेससंग मुलुक बनाउने कुनै एजेन्डा नै छैन।' देशको स्वाभिमान र स्वाधिनताको रक्षाका लागि संधै भरी एमाले लडिरहेको उनको दावी छ।
ओलीले कसैलाई थिचोमिचो गर्ने स्वभाव नेपालीहरुसँग नभएको पनि बताए। ‘हामी कसैलाई थिचोमिथो गर्दैनौ,' उनले भने, ‘अरुले गरेमा सहँदैनौं पनि।' ओलीले नेपालीहरु सिर नझुकाउनेका सन्तान भएको स्पष्ट पार्दै भने, ‘हामीले भारतले गरेको नाकाबन्दीको डटेर सामाना गर्यौं।' ओलीले मुलुकको रक्षाका लागि तोपका अगाडि खुकुरीका बलमा लडेकाका सन्तान भएका कारण पनि मुलुकको स्वाभिमानमा सबै नेपालीले गर्व गर्नुपर्ने बताए। ‘मुलुकको रक्षाका लागि पुर्खाले गरेको बलिदानको कदर गर्नु पर्छ,' उनले भने, ‘त्यही भएर नेपालीहरु नाकाबन्दीका बेला पानी मात्रै खाएर भएर पनि त्यसको सामाना गर्न तयार भए। हामी राजनैतिक हिसावमा मुलुकको हित हुने गरी त्यसलाई हटाउन सफल भयौं।'
ओलीले छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउँदै लम्पसारवादको विरोध गर्नुपर्नेमा जोड दिए। उनले कुनै पनि छिमेकीले अबका दिनमा नेपालीको आन्तरिक मामिलामा हस्तक्षेप गर्नै नसक्ने दाबी गरे। ‘मुलुकको स्वाधिनता र स्वतन्त्रताको रक्षा गर्न हामी सक्षम छौं,' ओलीले भने, ‘नेपालको आन्तरिक मामिलामा कसैले हात हाल्न खोजे पोल्छ मात्रै।' मुलुकको सिर उचो बनाउनका लागि र सिर झुक्न नदिनका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गर्नुपर्ने उनको जीकिर छ। उनले भने, ‘देशको हित गर्न, मुलुकलाई बचाउन, स्थायित्व प्रदान गर्न र स्वाधिनताको रक्षा गर्नका लागि वाम गठबन्धनलाई बहुमत चाहिएको छ।'
वाम गठबन्धनले बहुमत ल्याए मात्र मुलुक समृद्विको बाटोतर्फ अगाडि लम्किने बताउँदै भने, ‘मुलुकमा अब कायापलट गर्नुपर्ने छ। पाँच वर्षभित्र मुलुकलाई आत्मनिर्भर बनाउन जरुरी छ।' उनले कांग्रेसको अरु दलसँगको मिलेमतोलाई लोकतान्त्रिक नभई अलोकतान्त्रिक र दक्षिणपन्थी गठबन्धन भनेका छन्। ओलीले पुष्पलालको सालिकमा माल्यार्पण पनि गरे।