ठगिएका युवा

ठगिएका युवा

 

पहिलो चरणको संघ÷प्रदेश चुनाव सकिएर दोस्रो चरण आउनै लाग्दा अवसरका लागि बिदेसिने युवाको संख्या हजारौं छ । मुलुकको भविष्य निर्धारण गर्न महत्वपूर्ण भनिएको चुनावलाई समेत बेवास्ता गर्दै विदेश लागिरहेको युवाको लस्करले लोकतन्त्र र समग्र राज्यलाई व्यंग्य गरिरहेजस्तो लाग्छ ।

चालु आर्थिक वर्ष ०७४÷७५ को चार महिना, साउनदेखि कात्तिकसम्म आफू ठगिएको भन्दै ७ सय ९४ युवाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरूले ठगिएको भन्दै उजुरी दिएका हुन् । विभागका अनुसार यसरी उजुरी दिनेको संख्या बढ्दै गएको छ ।

रोजगारीका लागि दैनिक १ हजार ५ सय भन्दा बढी युवा विदेश जाने गरेका छन् । चालु आवको चार महिनामा मात्रै डेढ लाखभन्दा बढी युवा विदेश गइसकेका छन् । व्यक्तिगत ठगीका बढी उजुरीमा विद्यार्थीलाई बाहिर पढाउन पठाउने वैदेशिक शिक्षा परामर्शदाता (कन्सल्टेन्सी)हरूबाट ठगिएका बढी छन् । सबै ठगिएकाहरू उजुरी गर्ने झन्झटमा फस्न नचाहने हुनाले वास्तवमै ठगिएकाहरू योभन्दा धेरै बढी छन् ।

मुलुकमा बेरोजगारीको अवस्था भयावह छ । सरकारी आँकडामा बेरोजगारी ३ प्रतिशतभन्दा कम देखाइएको भए पनि बेरोजगारी त्योभन्दा धेरै बढी हुन सक्ने श्रम क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन् । रोजगारी नै पाए पनि युवाहरूले सुरक्षित जीवनयापन गर्न सक्ने अवस्था छैन । त्यसैले लाखौं संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि जान बाध्य भएका छन् ।

तिनीहरूले पठाएको विप्रेषण(रेमिट्यान्स)ले उनीहरूको परिवारको भरणपोषण मात्र गरेको छैन, मुलुकको अर्थतन्त्रलाई समेत धानेको छ । नेपालको कुल गार्हस्थ उत्पादन, कुल राष्ट्रिय आय, विदेशी मुद्रा सञ्चितीजस्ता महत्वपूर्ण आर्थिक सूचकांकमा विप्रेषणको अत्यन्त ठूलो योगदान छ । विप्रेषणको विकल्प नेपाली अर्थतन्त्रमा अहिलेलाई देखिएको छैन ।

चुनावलाई केन्द्रित गरेर दलले जारी गरेका घोषणापत्रमा युवाका लागि आकर्षक योजना छन् । सत्तारुढ कांग्रेसको घोषणापत्रमा युवाबारे नसमेटिएका विषय भेट्टाउन गाह्रो छ । उक्त दलको घोषणापत्रमा युवामा उद्यमशीलता प्रोत्साहन गरी स्वरोजगारीका विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ।

बिदेसिएका युवाले पठाएको विप्रेषणको उपयोगका आकर्षक उपाय पनि घोषणापत्रमा उल्लेख गरिएका छन् । वाम गठबन्धनले ‘उद्यमशीलता वृद्धि गरी युवालाई स्वरोजगारतर्फ आकर्षित गरिने र शिक्षित र दक्ष युवालाई देशभित्रै उच्च पारि श्रमिक आधारित रोजगारी सिर्जना गरिने’ घोषणापत्रमा जनाएको छ । अरू दलका घोषणापत्रमा पनि युवाबारे यस्तै आकर्षक योजना छन् । संविधानले रोजगारीलाई मौलिक हकका रूपमा व्याख्या गर्दै राष्ट्रिय विकासमा युवा सहभागिता बढाउने उल्लेख गरेको छ ।

युवाको सशक्तीकरणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा विशेष अवसर प्रदान गर्दै राज्यको सर्वांगीण विकासमा योगदानमा सहयोग गर्ने संविधानमा उल्लेख छ । राष्ट्रिय युवा नीति २०७२ले कुल जनसंख्याको ४०.३ प्रतिशत रहेका युवालाई नेपालको संविधानले दिएका अधिकार सुनिश्चित गर्नेतर्फ युवा तथा खेलकुद मन्त्रालय प्रतिबद्ध भएर लाग्ने बताएको छ ।

संविधान, दलका घोषणापत्र र राष्ट्रिय युवा नीतिमा जे आदर्श उल्लेख गरिए पनि राज्यले युवालाई उच्चस्तरको शिक्षा र रोजगारी दिन सकेको छैन । स्वरोजगार र उद्यमशीलता विकास पनि कागजमै सीमित भएको देखिएको छ । राजनीतिक र सामाजिक अस्थिरताका कारण युवा विदेश पलायन हुन बाध्य छन् । राष्ट्रनिर्माणका लागि प्रयोग गरिनुपर्ने युवा विदेश जान बाध्य हुनुपर्ने र त्यसक्रममा उनीहरू ठगिनु राज्यले नै शरम मान्नुपर्ने विषय हो । यसका लागि सरकारी तवरबाटै संयन्त्र बन्न र सक्रिय प्रयास हुन जरुरी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.