प्रदेशका उम्मेदवार चिन्दैनन् मतदाता
काठमाडौं : निर्वाचन हुन चार दिन बाँकी छँदा पनि मतदाताले उम्मेदवार चिन्दैनन् भन्दा पत्याउन कठिन पर्न सक्छ तर राजधानी काठमाडौं, ललितपुर र भक्तपुरकै वास्तविकता हो यो । सोमबार राति १२ बजेबाट मंसिर २१ को निर्वाचनका लागि प्रचारप्रसारको समय सकिँदै छ तर मतदाता भने आफूले मत हाल्ने प्रदेशसभाका उम्मेदवार नै चिन्दैनन् ।
राति १२ बजेबाट मंसिर २१ को निर्वाचनका लागि प्रचारप्रसारको समय सकिँदैछ तर मतदाता भने आफूले मत हाल्ने प्रदेश सभाका उमेद्वार नै चिन्दैनन् । महालक्ष्मी नगरपालिका ७ चाँगाथलीनिवासी यमुना भट्टराई विगतमा सबै उमेद्वार चिन्थिन्, घरदैलो र चुनावी सभामा पनि जान्थिन् । ‘म राजनीतिक कार्यकर्ता त होइन तर सबैले जाऔं भनेपछि उमेद्वारका लागि भोट माग्न पनि हिँडेकी छु’, यमुनाले आइतबार अन्नपूर्णसँग भनिन्, ‘कतिलाई जिताइयो पनि, भोट माग्दा विकासका थुप्रै कुरा गरे, गर्छौं भने पत्याइयो भोट पनि दिइयो जिते पनि तर कसैले भनेका काम गरेनन् ।’
४४ वर्षीया गृहिणी यमुनालाई अहिले पनि चुनावी सभा र घरदैलोमा हिँड्न मन नलागेको होइन, समय पनि छ तर अहिलेका उमेद्वारले आफूमा आशा जगाउनै नसकेको उनको भनाई छ । ‘रुची र चासो दुवै नभएर होला, प्रदेश सभाका लागि उठेका कुनै दलका पनि उमेद्वारलाई चिन्दिनँ’, घरदैलोका नाममा उमेद्वारहरु बाटैबाट हिँड्ने गरेको सुनाउँदै उनले थपिन्, ‘राजनीति देश सञ्चालनको मियो हो थाहा छ तर पनि पछिल्ला वर्षहरुमा वितृष्णा बढी भयो यो पनि नेताकै कारणले ।’ उमेद्वार नचिने पनि आस्थाका आधारमा भोट हाल्ने बताउने उनी जित्नेले उसको अधिकार र आफूले आफ्नो मतको अधिकार प्रयोग गर्नेमा प्रष्ट छिन् ।
ललितपुरकी यमुना भट्टराईमात्र होइन, भक्तपुरका नवराज कोइराला पनि प्रदेश सभामा उठेका कुनै उमेद्वार पनि चिन्दैनन् । मध्यपुरठिमी नगरपालिकास्थित बोडेका बासिन्दा उनले भने, ‘मंसिर २१ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हो, सोमबारदेखि प्रचारको समय पनि सकिँदैछ । निर्वाचनबारे धेरै थाहा छ तर उमेद्वार चिनेकै छैन, कसरी कसलाई भनेर भोट दिनू ? ’ ४४ वर्षीय कोइराला किरानाको होलसेल व्यापार गर्छन् । बिहान जुरुक्क उठेदेखि रातको ८-९ बजेसम्म उनलाई प्रचार प्रसारबारे चासो देखाउन त के ? ग्राहकबाहेकसँग बोल्न पनि भ्याउँदैनन् । प्रचार प्रसारका क्रममा थुप्रै दलका कार्यकर्ता उमेद्वारसहित पसलसम्म नआएका होइनन् । आउनेले पनि पर्चा र पम्प्लेट पसलमा हुर्याएर गएको उनको भनाई छ ।
‘नभ्याएरमात्र होइन, धेरैपटक भोट दिए पनि देशका लागि कसैले केही गरेनन्’, भक्तपुर क्षेत्र नम्बर २ क मतदाता उनले भने, ‘उमेद्वारले अनुहार देखाएर कसैले पनि भोट मागेको थाहा छैन, मत दिने उमेद्वार चिन्न पाउनु मतदाताको अधिकार होइन र ? ’ उमेद्वार माला लगाएर कार्यकर्ताको वरिपरि सडकमा हिँड्दैमा आफूलाई सबैले चिनेको भ्रममा पर्नु उनीहरुकै लागि दुर्भाग्य भएको कोइरालाको बुझाई छ ।
युवा उमेरका भट्टराई र कोइरालामात्र होइन, ७५ वटा भोटो फटाइसकेका काठमाडौं क्षेत्र नम्बर १ का मतदाता ऋषिराज रेग्मी पनि आफ्नो क्षेत्रबाट प्रदेश सभाका लागि उमेद्वार बनेका कसैलाई चिन्दैनन् । नयाँ बानेश्वरनिवासी उनले भने, ‘राजनीतिमा गहिरै चासो राख्थें, धेरैलाई सरकारमा
पुर्याइयो सत्ताको स्वाद चखाइयो तर उनीहरुले जनतालाई विकासको स्वाद चखाउनै सकेनन् ।’
निर्वाचन जितेपछि जनतालाई बिर्सने बानीले आममतदाता उमेद्वारप्रति आकर्षित नभएको उनको टिप्पणी छ । ३० वर्ष भारत भूमिमा जीवन अर्पेका उनले निर्वाचनमा नेपाल सम्झेर थुप्रैपटक मत हाल्न गोजीको खर्च पनि गरे । ‘दलहरुले पनि जितेपछि काम गर्ने र नगर्ने छुट्याएर उमेद्वारका लागि योग्य ठानेनन्, सधैं लाहाछाप लगाइरहे’, उनले थपे, ‘नचिनेकोभन्दा चिनेको र चिनेको भन्दा किनेको काम लाग्छ भन्ने लागेर प्रदेश सभामा उठेका म बस्ने काठमाडौं महानगरपालिका ८ कै छिमेकीलाई भोट हाल्दैछु ।’ रेग्मीलाई आफूले प्रदेश सभाका उमेद्वार नचिनेकोमा भन्दा दलका शीर्ष नेताले राजनीति नबुझेर संघीयतामा होमिएकोमा आपत्ति छ ।
‘पहिलो कुरो त यी उमेद्वार जनताको विकासका लागिभन्दा आफ्नै स्वार्थ पूरा गर्न उठेका हुन्’, उनी थप्छन्, ‘शीर्ष नेताले यो अत्यन्तै खर्चिलो संघीयतालाई कसका खर्चले कति धान्छन् ? मेरो चासोको विषय यो हो ।’ उनले अब जसले जिते पनि राजधानीका बासिन्दाले धुलोधुँवा खान नपर्ने र पानी खाउन पाउने दुईवटामात्र काम गरे उमेद्वार नचिनी भोट हाले पनि केही फरक नपर्ने बताए ।