चुनावीस्थलमा भेटिएको बम सेनाद्वारा निष्क्रिय
डडेल्धुरा: परशुराम नगरपालिकाको लालढुंगा बजार नजिकै रहेको बसपार्कमा बम फेला परेको छ। बम भेटिएको सूचना पाएलगत्तै घटनास्थल पुगेको नेपाली सेनाले उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए। बम भेटिएको हल्ला सुनेपछि बजार क्षेत्र आतंकित बनेको थियो।
वामगठबन्धनले चुनावी सभा गर्ने तयारी गरिरहेका बेला सभास्थलमा बम भेटिएको थियो। सेनाले बम निष्क्रिय पारेपछि गठबन्धनले कार्यक्रम आयोजना गरेको थियो। सभालाई माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सम्बोधन गरेका थिए। बम कसले राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रशासनले जनाएको छ।
आइतबार उक्त स्थानमा नेपाली कांग्रेसले पनि चुनावी आमसभा गरेको थियो। उक्त सभालाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरवहादुर देउवाले सम्बोधन गरेका थिए।