१२ वर्षदेखि न्याय खोज्दै बाँदरमुढेपीडित
माडी (चितवन): देवेन्द्रपुरकी ३८ वर्षीय यमकला च्वाईलाई बाँदरमुढे घटना सम्झँदा अझै कहाली लाग्छ। गर्भ परीक्षण गराउन जाने क्रममा उनी घटनामा परेकी थिइन्। चार महिनाको गर्भ परीक्षण गराउन वसन्तपुर जान लाग्दा बसमा चढेको केही समयमै बम विस्फोट भएको थियो । त्यतिबेला उनी २६ वर्षकी थिइन् । एक महिना छाउनीमा उपचार गराएर घर फर्किएकी उनले आफू अझै काम गर्न सक्ने अवस्थामा नरहेको बताइन् ।
त्यसबेला गर्भमा रहेकी छोरीमा पनि शरीर फुल्ने, आँखा पोल्ने, आँसु आइरहने समस्या रहेको यमकलाले जानकारी दिइन् । ‘न्याय माग्दा माग्दै १२ वर्ष बित्यो', यमकलाले भनिन्, ‘काम गरेर खान सक्दिनँ । बच्चा अपांगजस्तै भएको छ । पीडितको माग पूरा भयो भन्छन्, हामीलाई केही थाहा छैन ।'
निर्वाचन नजिकिदै जाँदा आफूहरूले असुरक्षित महसुस गरेको उनको गुनासो छ । घटनाका पीडितले न्याय माग्दा असुरक्षित हुनुपरेको उनको भनाइ छ।
बाँदरमुढे पीडितले सुरुदेखि नै न्यायको मुद्दा अघि सारेका थिए । दोषीलाई कारबाही हुनुपर्ने मागसहित घाइतेको उपचार, क्षतिपूर्ति र जीविकोपार्जनका आधार माग गरेका थिए। १२ वर्षदेखि न्यायका लागि लडेका उनीहरू अझै लडिरहेका छन्। तर, अझै माग पूरा हुन सकेको छैन। अधिकांश घाइते काम गरेर खान नसक्ने अवस्थामा छन् । उनीहरूले उपचार खर्चसमेत पाएका छैनन्। उक्त क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पीडितलाई मनाउन निकै कोसिस गरेका छन् ।
आफ्ना प्रतिनिधिमार्फत कुरा गर्न लगाए पनि उनीहरूले न्यायको मागमा पछि हट्न नसक्ने अडान गरेपछि कुरा मिल्न नसकेको बताइएको छ। पीडितले पटक–पटक दबाब आएको बताएका छन्। विभिन्न प्रलोभनमा पारेर घटना बिर्साउन खाजेको बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेको आरोप छ। ‘न्यायसहित परिपूरण नै मुख्य माग हो', न्यौपानेले भने, ‘न्यायका लागि सयौं वर्ष बित्न सक्छ । हामी सकिए हाम्रा सन्तानले लड्नेछन् ।' घटनामा परी न्यौपानेकी श्रीमतीको ज्यान गएको थियो ।
घटनामा ज्यान गुमाएकाको परिवार र घाइतेले आफ्नो माग पूरा गराउन बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएका थिए । समितिलाई थाहै नदिई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पीडितमध्येका ५ जनालाई भेटेर ३ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको विषयमा अहिले विवाद देखिएको छ । माडी नगरपालिका कार्यालयभित्र पीडितसँग दाहालले छलफल गरेका थिए । घटनामा ज्यान गुमाउनेका परिवारलाई काम गर्न सक्नेलाई रोजगारी, नसक्नेलाई जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था, घाइतेलाई औषधोपचारको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।
बाँदरमुढे घटनाका मृतकको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमुना संग्रहालय बनाउने सहमतिसमेत भएको छ । प्रतिबद्ध पत्रमा उल्लेख भएअनुसार पीडित परिवारको आर्थिक क्षति, उपचार खर्च र बालबालिकाको शिक्षा खर्चको विषयमा माग सम्बोधनका लागि घटनापीडित परिवारबाट तीन जना, माओवादी केन्द्रका तीन जना रहने भनिएको छ ।
माओवादी केन्द्रले गरेको सहमतिमा माडी नगरपालिकाको प्रतिनिधि रहने बताइएको छ । यसबाट पीडितको माग सम्बोधन भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताए । तर, घटनाका अन्य पीडितले आफूसँग छलफल नगरी पीडितको नाममा आफ्नो दल निकटकालाई हस्ताक्षर गराएर पीडितलाई विभाजित गर्न खोजेको समितिका उपाध्यक्ष कृष्ण अधिकारीको आरोप छ ।
‘सुरुदेखि नै हाम्रो पहिलो माग भनेको न्याय हो तर उहाँहरूले न्यायबाहेक अरू माग भनेपछि कुरा नमिलेको हो', अधिकारीले भने, ‘न्याय हराएपछि औषधोपचारको के काम ? ' पीडितले निर्वाचनका बेला आफू अझ असुरक्षित भएको गुनासो गर्दै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुरक्षित गर्न आग्रहसमेत गरेको छ । ०६२ साल जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले सर्वसाधारण चढेको बसमा माडीको बादरमुढे खोलामा बम विस्फोट गराएको थियो ।