बुढेसकालसम्म अधुरै भोट हाल्ने धोको

बुढेसकालसम्म अधुरै भोट हाल्ने धोको

हरिणमरी: निर्वाचनको मिति नजिकियो । भोट कसलाई हाल्ने भनी अन्तिम मन्थनमा छन् मतदाता । हरिणमरीकी ६० वर्षीया जागोदेवी चमार भने निर्वाचन नजिकिएसँगै चिन्तामा छिन् । उनका समवयीहरू भोट खसाल्न जाने तयारीमा छन् । उनले भने मतदान गर्न नपाउने भएकी छन् ।

‘मेरा लागि चुनाव नआए पनि हुन्थ्यो', उनी भन्छिन् । छिमेकीले मतदान गरेर नेता चुन्दा उनी नगरिकता नभएपछि मतदानबाटै वञ्चित छिन्् । निर्वाचनका बेला अरू खुसी हुँदा उनको मन भने पोल्न थाल्छ ।

नागरिकता नभएकै कारण उनको नाम मतदाता नामावलीमा समावेश छैन । नागरिकता बनाउनकै लागि उनी १० वर्षदेखि भौतारिँदै आएकी छन् । दैलोमा भोट माग्न आउने नेताहरूलाई उनले नागरिकता बनाइदिन गुहार माग्छिन् । तर, उनको पीरमर्का कसैले बुझेका छैनन् ।

उनका श्रीमान् सत्यनारायण चमारको मृत्यु भएपछि उनी समस्यामा परेकी रहेछन् । ‘ श्रीमान्को नागरिकता छैन । त्यसैले मेरो नागरिकता बन्दैन । उहाँ मरेर जानुभयो । अब कहाँबाट कागजपत्र ल्याउनु ? ', उनले गहभरि आँसु पार्दै भनिन् ।
उनकी १९ वर्षीया एक छोरी छिन् । छोरी शारीरिक रूपमा अपांगता भएकी छन् । बनिबुतो गरेर गुजारा चलाउँछिन् । ‘नागरिकता नभएर भोट पनि खसाल्न पाएको छुइन । सामाजिक सुरक्षा भत्ता पनि दिँदैनन्', उनी भन्छिन्,‘सन्तानको जन्मदर्ता छैन ।'

मतदान केन्द्रमा पुगेर भोट खसाल्ने उनको धोको छ । गरिबको पक्षमा काम गर्ने नेता चुन्ने र सामाजिक सुरक्षा भत्ता थाप्ने आशामा छिन् उनी । ‘नागरिकता छैन, भोट कहाँबाट हालौं', उनी भन्छिन् ।
जागोजस्तै पीडामा छिन् छिमेकी अघनीदेवी सदा । उमेरले ६२ वर्ष पुगेकी अघनीको नागरिकता अहिलेसम्म बन्न सकेको छैन । अघनी पनि एकल महिला हुन् । नागरिकता नबन्दा उनी सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ ।

भोट माग्न आएका नेताहरूलाई उनले प्रश्न गरिन्, ‘नागरिकता भए पो भोट दिइन्छ, छैन कसरी दिनु ? नागरिकताबिना मतदाता नामावलीमा नाम जाँदैन । नागरिकता बनाइदिनुपर्‍यो ।' उनका सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । उनी भन्छिन्, ‘मर्नुभन्दा पहिला मेरो नाम भएको नागरिकता हेर्ने मन छ । भोट खसालेर उक्मेदवार चुन्ने सपना छ ।'

रेश्मा सदा पनि नागरिकता नपाएर चिन्तित छिन् । चार पुस्तादेखि हरिणमरीमा उनको बसोबास छ । श्रीमान् बितेको वर्षौं भयो । उनका श्रीमान्को पनि नागरिकता थिएन । आवश्यक कागजपत्र जुटाउन नसक्दा उनको नागरिकता बन्न सकेको छैन । ‘नेताहरू घरमा भोट माग्न आउँछन् । नागरिकता बनाउने आस देखाउँछन् । गाउँबाट भोट लिएर गएपछि फर्केर आउँदैनन्', उनी भन्छिन् ।

नागरिकता नहुँदा वर्षौंदेखि मतदानबाट वञ्चित रहँदै आएका दलित समुदायका जागो, अघनी र रेश्मा प्रतिनिधि पात्र मात्र हुन् । हरिणमरीका गरिब, दलित, भूमिहीन सुकुम्बासीको नागरिकता नहुँदा मतदानबाट वञ्चित छन् ।

नागरिकता नभएपछि पासपोर्ट बनाएर वैदेशिक रोजगारीमा जान नपाएको सुवदी सदा मुसहरको दुखेसो छ । ‘हामीसँग नागरिकता छैन । सरकारको सेवासुविधाबाट टाढै बस्नुपर्छ । दुःख कसले सुनिदिन्छन् ? ', उनको प्रश्न छ । आसन्न निर्वाचनमा हरिणमरीका मतदाता गरिबको पीर मर्का बुझ्ने उम्मेदवारको खोजीमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.