चुनाव अवधिभर मदिरा बिक्रीमा रोक
धरान : स्थानीय प्रशासनले दोस्रो चरणको निर्वाचन अवधिभर सुनसरीमा मादक पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न मंसिर २५ गतेसम्म मादक पदार्थ बिक्रीवितरणमा रोक लगाएको हो।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचनविरोधी गतिविधि गरिरहेको तथा भारतसँग खुला सिमानाका कारण सुरक्षा चुनौती भएकाले मदिरा बिक्रीमा रोक लगाइएको एसपी विद्यानन्द माझीले जानकारी दिए। होटेल व्यवसायीले जबर्जस्ती मादक पदार्थ बिक्रीवितरण गरे पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने उनको भनाइ छ।
सुनसरीका धरान, इटहरी, तरहरा, झुम्का, कोसी ब्यारेज, दुहबीलगायत स्थानमा बढी मात्रामा मादक पदार्थ बिक्रीवितरण हुने गर्छ। निर्वाचनका बेला मादक पदार्थका कारण आपराधिक घटना बढी हुने भएकाले बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको माझीले बताए। स्थानीय प्रशासनले बेलुका ७ बजेदेखि होटेल तथा रेस्टुराँ सञ्चालनमा पनि रोक लगाएको छ।
भारतसँगको नाकासमेत स्थानीय प्रशासनले बन्द गरेको छ। सोमबारदेखि सुनसरीका भन्टाबारी, लौकही, कप्तानगन्ज, देवानगन्ज, अमडुवालगायत सबै नाका सिल गरी सीमा क्षेत्रको सुरक्षा मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए।