आठ दिनभित्रै सबै मतपरिणाम, यसरी मिलाइएको छ व्यवस्था
काठमाडौं : निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ ।
मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्छ । मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छैाँ ।’
स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ ।दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार मतदान हुँदै छ । यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको चुनाव भएको थियो ।
दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ ।आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ । उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।
पहिलो चरणमा चुनाव भएका क्षेत्रको मतगणना बिहीबार दिउँसोबाट सुरु गर्ने आयोगको तयारी छ । दोस्रो चरणमा बिहीबार ४५ जिल्लाका १५ हजार ३४४ केन्द्रमा हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ ।
सबै मतदान केन्द्रमा मंगलबार नै आवश्यक सुरक्षाकर्मी पुगिसकेको आयुक्त पौड्यालले जानकारी दिए । उनले भने, ‘मतदान केन्द्रका साथै मतपेटिका र मतगणना स्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।’
यस्तो छ गणना व्यवस्थापन
प्रतिनिधिसभा प्रत्यक्ष, प्रदेशसभाका दुई वटा र समानुपातिकतर्फ पनि प्रनिनिधिसभा र प्रदेशसभाको अलगअलग गरी चार वटा मतगणनास्थल हुनेछन् ।एकै समयमा सबै तर्फको गणना गर्न नसकिए प्रत्यक्ष प्रणालीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको गणना एकै पटक गरिनेछ ।
प्रत्यक्षको गणना सकिएपछि समानुपातिक तर्फको गणना गर्ने आयोगको तयारी छ । मतगणना कार्यमा शिक्षक बाहेकका कर्मचारी परिचालन हुनेछन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अनुगमनमा खटिएका तालिमप्राप्त कर्मचारीलाई गणनाका लागि परिचालन गरिनेछ । आयोगले निर्वाचन प्रयोजनका लागि २ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ । सदर र बदर मतपत्रको निर्णय मतगणना निर्देशिकाअनुसार गरिनेछ ।
उम्मेदवारका प्रतिनिधि अनुपस्थित रहे वा उपस्थित भए पनि सही छाप नगरे पनि अन्य व्यक्ति एवं कर्मचारीको सहीछाप गराई मतगणना कार्य अघि बढाउन सकिने व्यवस्था गरिएको छ । गणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिने भएको छ । मतगणना स्थलमा उम्मेदवार तथा प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी छेकबार गराउन साथै उच्च सुरक्षा प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।
मतगणना स्थलसम्म प्रवेश पाउनेले पनि लाइटर, सलाई र एसिडजस्ता प्रज्वलनशील सामग्रीसहित घातक सामग्री लैजान नसक्ने गरी सुरक्षा जाँचको बन्दोबस्त मिलाउन आयोगले निर्देशन दिएको छ । गणना स्थलमा लाहाछाप लगाउने प्रयोजनका लागि पनि सलाई वा त्यस्ता वस्तु लैजाँदा पनि उच्च सतर्कता अपनाउन आयोगले निर्देशन दिएको छ ।