मतदाता तर्साउन क्यानको बोत्तलमा बालुवा
दमक : झापाको दमकस्थित हिमालय माविछेउमा बुधबार शंकास्पद फेला परेपछि त्यसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मतदान केन्द्र तोकिएको हिमालय माविदेखी ३०० मिटर पर खेतमा सो शंकास्पद बस्तु फेला परेपछि राति नै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम भनिए पनि सो शंकास्पद वस्तु क्यान जुसको बोत्तलमा बालुवा भरेर तर्साउन राखेको वस्तु रहेको नेपाली सेनाको २१ नम्बर बाहिनी केरखाले जानकारी दिएको छ । डिस्पोज गर्न आएको टोलीले बिहान एक्सक्लुसिभ बमको प्रयोग गरी डिस्पोज गर्दा ठुलो आवाज आएको स्थानीयले बताएका छन् । बम राखिएको हल्लाले रातभर स्थानीयबासी त्रसित भएका थिए ।
बिहीबारको निर्वाचनलाई मध्यनजर गर्दै कुनै उच्छृङखल समूहले त्यस्तो कार्य गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए । दमकमा रहेका सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको समेत उनले बताए ।