रातको चिसोमा पनि ब्यालेट बक्सकै चिन्ता

रातको चिसोमा पनि ब्यालेट बक्सकै चिन्ता

बैतडी : पाटन नगरपालिका १ का २९ वर्षीय तर्क ठगुन्ना मंसिर ११ गतेदेखि दशरथचन्द नगरपालिका कार्यालयमा मतपेटिकाको पहरामा खटिएका छन्। वाम गठबन्धनका तर्फबाट मतपेटिका सुरक्षामा खटिएका उनी न दिनरात भन्छन्, न त जाडो नै।

‘मतदान सकिएकै दिन गणना भएको भए समस्या हुने थिएन। रातभर चिसो सहेर ड्युटी गर्नुपर्छ', उनी भन्छन्, 'कसको के भर? जे पनि हुन सक्छ। त्यसैले मतपेटिका सुरक्षामा खटिएको छु।’

जिल्लाको मेलौली नगरपालिका २ का श्यामदत्त भट्ट लोकतान्त्रिक गठबन्धनका तर्फबाट मतपेटिका सुरक्षामा खटिएका छन्। उमेरले ६० नाघिसकेका भट्ट रातभर मतपेटिका भण्डारण गरेको स्थल बाहिर  पहरा दिइरहेका छन्।

‘हामीले दिएको मतमा बदमासी नहोस् भनेर दिनरात मतपेटिका सुरक्षामा खटिएको छु। आलोपालो मिलाएर दिनरात ड्युटी गरिरहेका छौँ’उनी भन्छन्, ‘मंसिरको रातमा चिसो त हुन्छ नि तर मलाई चिसो भन्दा मतपेटिकाकै चिन्ता छ। सुत्ने पालो परेको दिन पनि निद्राबाट ब्युझिँदा झसंग हुन्छु।’

बैतडीमा मंसिर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका मतपेटिका भण्डारण भएका स्थानमा सुरक्षा निकायसँगै दलका प्रतिनिधिहरुले पनि पहरा दिइरहेका छन्। राजनीतिक दलहरूकै रहोबरमा मतपेटिका सिलबन्दी गरेको र उनीहरूको आग्रहमा दलका प्रतिनिधिलाई पनि मतपेटिकाको पहरा दिन सहमति दिइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए।

‘मतपेटिका सुरक्षाका लागि हामीले प्रशस्त व्यवस्था गरेका छौं। मतपेटिका भण्डारण गरेको स्थलमा लाहाछाप लगाएर ताला लगाएका छौं। सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन्’, उनले भने, ‘सुरक्षा निकायसँगै दलका प्रतिनिधिले पनि मतपेटिकाको सुरक्षाका लागि पहरा दिइरहेका छन्।’

मतपेटिका सुरक्षाका लागि खटिएका दलका प्रतिनिधिहरूलाई भने मंसिरको चिसो भन्दा मतपेटिका सुरक्षाकै चिन्ताले सताएको छ। ‘मतदान गरेको ११ दिन सम्म मतगणना हुन सकेन। मतपेटिका सुरक्षा गर्नै पर्‍यो। मंसिर २१ कहिले आउला र गणना शुरु होला भन्ने लागेको छ’,वाम गठबन्धनका तर्फबाट मतपेटिकाको सुरक्षा लागि खटिएका कमल बोहराले भने, ‘मंसिरको रातिमा चिसो कसलाई नहोला? त्यो पनि बरण्डामा सुत्न? चिसो भन्दा मतपेटिका सुरक्षाको चिन्ता छ।’

मतपेटिका भण्डारण गरिएको दशरथचन्द नगरपालिकामा सशस्त्र प्रहरी,नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन् भने राजनीतिक दलका पदाधिकारीहरूले पनि पहरा दिइरहेका छन्। दुवै गठबन्धनका २० भन्दा बढी प्रतिनिधिहरूले मतपेटिकाको पहरा दिइरहेका हुन्।

‘खाना समेत हामी पालो मिलाएर खाने गर्दछौँ। चिसोले रुघाखोकी लागेको छ। मौसम पनि चिसो हुँदै गएको छ तर मतगणना गर्ने दिन नजिक आएकाले मतपेटिकाको सुरक्षामै बढी खटिएका छौं', लोकतान्त्रिक गठबन्धनका तर्फबाट मतपेटिका कुरिरहेका डम्मरबल्लभ जोशीले भने, ‘मतदान सकिएलगत्तै गणना भएको भए राम्रो हुन्थ्यो। हामीले हाम्रो मतको सुरक्षा कसरी गर्नुपर्दोरहेछ भन्ने कुरा पनि सिक्यौं।’

मतगणनाको तयारी

मतगणनाको प्रतीक्षा पूरा हुँदैछ। दोस्रोचरण अन्तर्गत मंसिर २१ मा ४५ जिल्लामा निर्वाचन सम्पन्न भएसँगै देशभर मतगणना शुरु हुनेछ। मतगणनाको दिन आवश्यक सुरक्षा व्यवस्था, गणनास्थल, गणनास्थलमा कम्प्युटर र कर्मचारीको व्यवस्थाका लागि तयारी गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

'हामीले मतगणनास्थलमा तारजाली लगाउने तयारी गरेका छौं। तारजाली भित्र मतगणना हुन्छ। तारजाली बाहिर दलका प्रतिनिधि हुन्छन्। यसरी गणना गर्ने तयारी गरेका छौं’, उनले भने।

मंसिर २१ गते साँझ ५ बजेपछि मतगणना हुने भएपछि बुधबार राजनैतिक दल र उम्मेदवारसँग बैठकको तयारी गरिएको गौतमले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.