मतदातालाई भोज खान भ्याई-नभ्याई
गौर : मौन अवधिमा रौतहटका अधिकांश दलित तथा गरिब बस्तिका मतदातालाई भोज खान भ्याई–नभ्याई छ । सबै जसो उम्मेदवारले आफूलाई मत दिन आग्रह गर्दै गरिब तथा दलित बस्तिमा भोजको व्यवस्था गर्दै आएका छन् ।
मतदातालाई फकाउन सोमबार राति कुखुरा बाड्ने क्रममा रौतहटमा दुई पक्षबीच झडप भएको थियो । गढीमाई नगरपालिका ६ धरमपुरटोलमा कांग्रेस कार्यक्रर्ताले कुखुरा वितरण गरेपछि राजपा नेपालका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो ।
झडपमा राजपाका कार्यकर्ता विश्वम्भर यादव र नन्दु यादव घाइते भएका छन् । रौतहटका चार निर्वाचन क्षेत्रका दलित तथा गरिब बस्तिमा बंगुर, सुगुर, राँगा, कुखुरा र माछा वितरण भइरहेका छन्। उम्मेदवार र कार्यकर्ताले मतदातालाई मासु, चिउरा र मदिराको भोज दिइरहेका छन्।
एउटै टोलमा धेरै उम्मेदवारले एकै दिन भोजको व्यवस्था गर्ने भएकाले कतिपय बस्तिका मतदातालाई जिउँदो राँगा, कुखुरा समेत वितरण गरेको पाइएको छ । नेताले मतदातालाई भोज खुवाउन थालेपछि कुखुराका र्फममा ब्रोइलर कुखुरा सकिएको व्यपारीले बताएका छन् ।
बढी प्रतिस्पर्धामा रहेका उम्मेदवारले पैसाको मतलव नराखी दलित बस्तिमा भोजको व्यवस्था गर्ने गरेको रौतहटका दलित समुदायका एक अगुवाले जानकारी दिए ।