४५ जिल्लामा दोस्रो चरणको चुनाव बिहीबार

४५ जिल्लामा दोस्रो चरणको चुनाव बिहीबार

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा बिहीबार मतदान हुँदै छ।

राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए। बहालवाला प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरू प्रतिस्पर्धामा भएकाले यो निर्वाचन सबैको चासोको विषय बनेको छ।

बिहीबार इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहँु, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुन लागेको हो।
बिहीबार बिहानैदेखि सुरु हुने मतदानका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको तीनवटा छुट्टाछुट्टै सुरक्षा घेराले मतदानस्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्नेछन्।

निर्वाचनको तयारीसम्बन्धमा आयोगले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एकाध घटनाबाट नडराई संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदातालाई अपिल गरे। ‘सरकारले भरपर्दाे सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानस्थलमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गर्दछु’, उनले भने।

मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जनाले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबैभन्दा धेरै मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन् भने सबैभन्दा तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्। निर्वाचनमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागी छन्। समानुपातिकतर्फ ५३ दलको प्रनिनिधित्व छ।
संघीयता कार्यान्वयनका लागि मंसिर १० गते ३२ जिल्लामा निर्वाचन भइसकेको छ। जसमा प्रतिनिधिसभा सदस्य ३७ र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भएको हो। संविधान कार्यान्वयनकै क्रममा मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झैँ मतदाताको व्यापक सहभागितासहित शान्तिपूर्ण एवं व्यवस्थित रूपमा निर्वाचन हुने आयोगले विश्वास लिएको प्रमुख आयुक्त यादवले पत्रकार सम्मेलनमा बताए।

‘यो निर्वाचनमार्फत नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनःसंरचना व्यवहारमै लागू भई विद्यमान संक्रमणकाल अन्त्य हुने हुँदा सबैले आफ्नो मताधिकार प्रयोग गर्न अपिल गर्दछु’, उनले भने। निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको छ भने सुरक्षाका लागि चारवटै सुरक्षा अंगका गरी २ लाख २७ हजार ९३२ जना सुरक्षाकर्मी खटाइएको छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभाका र प्रदेशसभाका लागि दुई अलग–अलग मतपत्र र समानुपातिकतर्फ एउटै सिटमा प्रतिनिधिसभा तथा प्रदेशसभाको मतपत्र गरी तीन प्रकारका मतपत्र प्रयोग गरिएको छ।
प्रतिनिधिसभाका लागि हल्का हरियो रंग र प्रदेशसभाका लागि कालो मसीले छापिएको मतपत्र र समानुपातिकतर्फ हल्का रातो, एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको चुनाव चिह्नअंकित मतपत्र प्रयोग भएको छ।

निर्वाचनमा थोरै दल सहभागी भएकाले मतपत्र पनि छोटो र निकै छरितो बनेको र मतगणना पनि छिटो सकिने आयोगका आयुक्त नरेन्द्र दाहालले बताए। ०७० सालदेखि मतदाता परिचयपत्र लागू गरेकाले मताधिकार प्रयोगका लागि विकल्प पनि आयोगले खुला राखेको छ। मतदानका लागि जाँदा कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई सुनिश्चित गरेको आयोगको भनाइ छ। मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको आयुक्त यादवले बताए।

दोस्रो चरणको बिहीबारै मतपेटिका संकलन गरी मतगणना गर्ने आयोगले जनाएको छ। पहिलो चरणमा निर्वाचन सम्पन्न भई सदरमुकाममा थन्किएका मतपेटिका पनि बिहीबार दिउँसोबाटै गणना गर्ने व्यवस्था मिलाइएको छ।

कडा सुरक्षाबीच निर्वाचन
पहिलो चरण निर्वाचनमा भन्दा सरकारले दोस्रो चरणमा उच्च र कडा सुरक्षा व्यवस्था गरेको छ। मतदानस्थलमा तीनवटा घेरामा सुरक्षाकर्मी रहने छन् भने त्यसको केही निश्चित दूरीमा प्रहरी र सेनाको मोबाइल टोलीसमेत रहनेछन्। स्थल र हवाई गस्ती पनि गरिने भएको छ। आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्था मिलाइएको आयोगको भनाइ छ। पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि आयोगले निर्वाचनको सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा निकायलाई सुरक्षा रणनीति हेरफेर गर्न निर्देशन दिएको थियो।

सोहीअनुसार सुरक्षा रणनीति हेरफेर भएको आयोगका आयुक्त नरेन्द्र दाहालले बताए। आयुक्त दाहालका अनुसार सुरक्षासँग सम्बन्धी सूचना छरितो प्राप्त गर्ने व्यवस्था मिलाइएको तथा शंकास्पद स्थानमा निगरानी बढाइएको तथा नाकामा बढी निगरानी बढाइएको छ। मतदान स्थलमा उम्मेदवार र मतदातालाई चेकजाँच गरेर मात्रै प्रवेश दिने भएको छ। मतदान स्थलको पाँच सय मिटर सुरक्षा घेरामा रहनेछ। पूर्वीपहाड तथा तराईका ८ जिल्लाको अनुगमन गरी फर्किएका आयुक्त दाहालले भने, ‘सुरक्षा व्यवस्था राम्रो छ। सुरक्षाकर्मी उच्च मनोबलसाथ मतदान स्थलमा खटिएका छन्। मतदाता उम्मेदवार तथा मतपेटिकाको सुरक्षाका लागि सबै उपाय अपनाइएको छ।’

त्यस्तै, आचारसंहिता उल्लंघन गर्नेउपर पनि आयोगले कारबाही थालेको अर्का आयुक्त सुधीर शाहले बताए। ‘उम्मेदवारले पैसा बाँडेको तथा गुन्डा प्रयोग गरी मतदाता प्रभावित पारेको केही जिल्लाबाट सूचना प्राप्त भएको छ। उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढेको छ’, शाहले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.