मतपरिणाम तीनदिनभित्रै

मतपरिणाम तीनदिनभित्रै

विदुर : दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिहीबार सकिनासाथ नुवाकोट र रसुवामा मतगणना सुरु गर्ने तयारी पूरा भएको छ। दुवै जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन भइसकेको छ। मतगणनाका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नुवाकोटमा तीन दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने लक्ष्य अनुसार तयारी तीव्र पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बुधबार नुवाकोटको विदुरमा मतगणनामा सहभागी हुने कर्मचारीलाई आवश्यक प्रशिक्षण दिइएको छ। प्रतिनिधिसभाका २ वटा र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं. २ र त्यसअन्तर्गतका प्रदेश सभा र सहकारी डिभिजन कार्यालयको भवनमा स्थापित १ नं. प्रतिनिधिसभा निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका प्रदेश तहको मतगणना बिहीबार बेलुकी पाँच बजेदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए।

दुई वटै निर्वाचन क्षेत्रको मतगणनाका लागि तीन÷तीन वटा समूह परिचालन गरिने उनले बताए। तारजाली लगाउनुका साथै सिसिटिभी क्यामेरा राखिएको मतगणनास्थलमा पारदर्शी, सुरक्षित र व्यवस्थित रुपमा मतगणना गरिने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी यज्ञ पुरीले दिए।

पहिलो चरणमा मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतगणना तत्काल गणना नभएपछि दुई सातासम्म मतदाता, दलका कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको थियो। मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्लास्थित सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयलाई हम्मेहम्मे परेको छ।
प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा दुवै क्षेत्रको मतपेटिका फरक फरक स्थानमा राखिएको छ। क्षेत्र १ को मतपेटिका सदरमुकाम विदुरस्थित डिभिजन सहकारी कार्यालयमा र क्षेत्र २ को कोष तथा लेखा नियन्त्रण कार्यालयमा राखिएका छन्।

मतपेटिका राखिएका चारवटा कोठाको चारैतिर सिसिटिभी, बाहिर प्यासेजमा पनि क्यामेरा, १५ जना प्रहरी तैनाथ गरी कोठालाई बीचमा वेल्डिङ गरेर लगाइएको तारजालीको पर्खालभित्र आधिकारिक मतगणना गर्ने कर्मचारी हुने र बाहिरतर्फ दलका प्रतिनिधि हुने १ नं. निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृष्ण रिजालले जानकारी दिए। नुवाकोटमा पनि बिहीबार साँझ ५ बजेदेखि हुने मतगणनाको तयारी पूरा भएको छ।

मतगणनास्थलमा १५ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन्। मुख्य निर्वाचन अधिकृत लोकजंग शाहकाअनुसार दुवै निर्वाचन क्षेत्रमा तीन÷तीन स्थानमा मतणना गर्ने व्यवस्था मिलाइएको छ। एउटा कोठामा प्रतिनिधि सभा र दुई कोठामा एक÷एक प्रदेशसभा निर्वाचन क्षेत्रको गरी एउटा निर्वाचन क्षेत्रमा तीन वटा मतगणनास्थल तयार गरिएको छ।

डिभिजन सहकारी कार्यालय विदुरमा प्रतिनिधिसभा क्षेत्र नं. १ र त्यस अन्तर्गत दुवै प्रदेशसभाको मतगणनाको तयारी गरिएको छ। क्षेत्र नं. २ को कोष तथा लेखा नियन्त्रण कार्यालयमा मतगणनाका लागि तीन वटा कोठामा तारजाली लगाइ सकिएको छ। तारजालीभित्र आधिकारिक गणकले मतगणना गर्नेछन् भने तारजाली बाहिर सुरक्षाकर्मी र दलका प्रतिनिधि, पर्यवेक्षक तथा पत्रकार रहने व्यवस्था मिलाइएको छ। स्थानीय निकाय निर्वाचनमा मतगणनास्थलमा तारजाली नलगाउँदा केही जिल्लामा भएका घटनाका कारण यसपटक नुवाकोटमा तारजाली लगाएर मतगणना गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।

मतगणनामा खटाउने कर्मचारीको व्यवस्था गरी बुधबार आवश्यक जानकारी दिन प्रशिक्षण दिइसकिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए। मतगणनास्थलको अवस्थाबारे जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिलाई स्थलगत अनुगमन गराइसकिएको भइसकेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए।

उनले अवलोकन गराई मतगणनास्थलको अवस्थाबारे जानकारी दिन बिहीबार बिहान दलका प्रतिनिधिसहित सर्वदलीय बैठक बस्ने तयारी पूरा भएको बताए। आचारसंहिता तयारीका लागि सर्वदलीय समितिको बैठक राखिएको हो। सर्वसाधारण, सरोकारवाला र राजनीतिक दलको मागपछि मतपेटिका राखेका कोठाका ढोका र मतगणनास्थलमा प्राविधिकमार्फत सिसिटिभी क्यामेरा जडान गरिएको छ। त्यस अघिल्तिर हतियारधारी एक प्रहरी जवानले पालैपालो चौबिसै घन्टा पहरा दिइरहेका छन् भने अर्को घेरामा १५ सशस्त्र र ५ नेपाल प्रहरीका जवानले घेरा हाली पहरा दिएका छन्।

मतपेटिका भने बाहिरबाटै देख्न सक्ने गरी बन्द कोठामा सुरक्षित राखिएको छ। साथै थप सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए। दुई चरणको निर्वाचनका कारण मंसिर १० गते सकिएको नुवाकोटको निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि अर्थात मंसिर २१ गते बेलुकी ठीक ५ बजे हुनेछ। मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयको कोठामा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरिएको छ।

गाउँपालिका र नगरपालिकाका गरी ४५ वडा रहेको नुवाकोटको क्षेत्र नं. १ मा १ लाख ५ हजार २ सय ८७ मतदाता रहेकोमा ६६ दशमलव ०५ प्रतिशत अर्थात ६९ हजार ५ सय ३७ मत खसेका मतपेटिका १० दिनदेखि जिल्ला सहकारी कार्यालयको भवनमा रहेको १ नं. क्षेत्र निर्वाचन अधिकृतको कार्यालयमा राखिएका छन्। ४३ वडा रहेको क्षेत्र नं. २ मा १ लाख २ हजार ९ सय ४ मतदाता रहेकोमा ६७ दशमलव ९२ प्रतिशत अर्थात ६९ हजार ८ सय ९७ मत खसेका मतपेटिकालाई कोष तथा लेखा नियन्त्रण कार्यालयमा रहेको २ नं. क्षेत्र निर्वाचन अधिकृतको कार्यालयमा उच्च सुरक्षा घेराबीच राखिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए।

सबै मतपेटिका दलीय सहमतिका आधारमा बन्द कोठाभित्र शिलबन्दी गरेर राखिएको र २४ सै घन्टा सुरक्षाकर्मीले पहरा दिइरहेको उनले बताए। ती मतपेटिका मत मंसिर २१ गते साँझदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत शाहले बताए। भौगोलिक रुपमा विकट रहेको रसुवामा ४५ मतदान केन्द्र थिए। रसुवाका सबै मतपेटिका सदरमुकाम धुन्चेमा राखिएको छ। नुवाकोटसँगै जोडिएको रसुवामा ३२ हजार ३ सय २२ मतदाता रहेकोमा ८० दशमलव ६४ प्रतिशत मत खसेको थियो।

२ सय ९२ मतदाता रहेको रसुवाको लाङटाङमा ६० दशमलव २७ अर्थात १ सय ७२ मतमात्र खसेको थियो। मतदान केन्द्रबाट आइपुगेका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटिकालाई चौबिसै घन्टा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको निगरानीमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.