दाङमा ६८ प्रतिशत मतदान
दाङ: दाङमा ६८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाभरको अन्तिम रुजु गर्दा थोरै संख्यामा घटबढ हुन सक्ने अनुमान गरिएको छ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको मतदान दाङमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा रहेका १ सय ५१ मतदान स्थल र ३ सय ९४ मतदान केन्द्रमा उत्साहजनक तरिकाले शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
‘जिल्लाको मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको छ', दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले भने। उनले सुरक्षा मतदान केन्द्र केन्द्रित हुँदा छिटपुट घटना मात्रै भएको प्रतिक्रिया दिए।
उनले निर्वाचनको लागि मतदाताहरु अत्यन्तै उत्साहित भएको र सुरु देखि नै मतदानमा सक्रिय भएको बताए। विहान चिसोका कारण केहि समय ढिला गरी मतदान सुरु भएको थियो भने बेलुका ६ बजेसम्म मतदान भएको थियो। जिल्लामा २ लाख ३२ हजार ९ सय ५२ मतदाता रहेका थिए।