बमले रोकेन वृद्धवृद्धालाई

बमले रोकेन वृद्धवृद्धालाई

 

गोदावरी (ललितपुर) : गोदावरी नगरपालिकाको ठैवमा बिहीबार एकाबिहानै घरै हल्लिने गरी शक्तिशाली विस्फोट गराइयो। भूकम्पमा झैं वरिपरिका घर हल्लिए। सिसाका झ्यालहरू चर्किए।

‘चार बजेर १० मिनेट जाँदा चर्को आवाज आयो। सुतेका मान्छे ब्युँझिए। मैले बाहिर निस्केर हेरेँ। आकाशमा धुवाँको मुस्लो उडेको देखेँ,' ठैव दसघर चोकका प्रह्लाद महतले अन्नपूर्णसँग भने, ‘घर थर्किंदा मैले त भूकम्प नै गएको भन्ठानेको थिएँ तर बम पड्किएको रहेछ।' ठैवस्थित महतको घरनजिकैको फुलचोकी मावि मतदान केन्द्रलाई लक्ष्य गर्दै विस्फोट गराइएको थियो। उक्त केन्द्रमा १२ सय ३३ मतदाता छन्। तर, विस्फोटबीच पनि त्यहाँ वृद्धवृद्धाले समेत उत्साहपूर्वक मत खसाले।

त्यहीँ नजिकै रहेको नगरपालिकाको, १ वडास्थित मूलपानीको मतदान केन्द्रनजिक राखिएका दुईवटा बमलाई बिहान सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको थियो। बमको डरले वृद्धवृद्धा र महिला केही समय रोकिए पनि साढे सात बजेपछि मतदानमा सहभागी भए। मतदान सुरु भएलगत्तै ९० वर्षकी व्यतिमाया शाहीले फुल्चोकी मावि केन्द्रमा मतदान गरिन्। त्यसपछि ८५ वर्षका नरबहादुर नापितले मत हाले। ‘बम विस्फोट भए पनि मतदान सुरु भएसँगै वृद्धवृद्धा, महिला सबैले उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका छन्,' फुल्चोकी मावि ‘क' केन्द्रका मतदान अधिकृत ध्रुव सुवेदीले अन्नपूर्णसँग भने, ‘महिलाको सहभागिता झन् उत्साहवद्र्धक छ।'

गोदामचौरकै विसंखुनारायण मावि केन्द्रमा पनि ९० वर्षकी कुमारी कार्कीले मत खसालिन्। सोही केन्द्रमा अर्की ८० वर्षीया सावित्री आचार्यले पनि मतदान गरेकी छन्। यही केन्द्रमा अर्का ८७ वर्षका तुलाध्वज कार्कीले पनि मतदान गरे। यस केन्द्रमा पनि मतदानपछि नगरपालिकाको वडा नम्बर १, मूलपानीका ८८ वर्षीय हरिबहादुर राना र उनकी ८४ वर्षीय पत्नी भेटिए। ‘हामीले यो उमेरमा आइपुग्दा यस्ता बम गोली धेरै पचाइसक्यौं। अब केको डर ? ,' कार्कीले फुर्तीसाथ भने। सोही केन्द्रमा अर्की ८५ वर्षीया मनोदरी खड्काले पनि ढुक्कसँग मत हालिन्।

‘हामीले यो उमेरमा आइपुग्दा यस्ता बम-गोली धेरै पचाइसक्यौं। अब केको डर ? '
- तुलाध्वज कार्की

उता, वडा नम्बर २ को किटाचौरमा रहेको केन्द्रमा ९५ वर्षकी टीकाकुमारी विष्ट मतदानमा सहभागी भइन्। ‘यहाँ एकदम राम्रोसँग निर्वाचन भयो। यतिसम्म कि सुरक्षाका लागि प्रहरीले मोबाइल, सुर्ती र गुट्खासम्म पनि मतदान केन्द्रसम्म लैजान दिएन,' वडा नम्बर २ का वडाध्यक्ष वीरेन्द्रकुमार बस्नेतले भने, ‘धेरै उत्साहसाथ महिला भोट हाल्न आएका छन्।' कतिपय महिला आफ्ना साना नानीबाबु बोकेर मतदानको लाइनमा उभिएका थिए।

यता, ५ नम्बर वडा कार्यालयको बुथमा ९७ वर्षका हर्कलाल नगरकोटीले मतदान गरे। सोही केन्द्रमा ९४ वर्षका खड्क कार्की पनि मतदानमा सहभागी भए। लेले तिलेश्वरस्थित सरस्वती उच्च मावि केन्द्रमा पनि ९५ वर्षका मानबहादुर महतले मत खसाले। यही केन्द्रमा ९४ वर्षीया वृद्धा सानुमाया महतले मत दिएकी छन् भने ८४ वर्षकी कान्छी पन्थ पनि सहभागी भइन्।

ललितपुरका कतिपय मतदान केन्द्रमा प्रदेशसभाका लागि आफूले चाहेअनुसारको चुनाव चिह्न नपाएको भन्दै मतदाता अलमलमा परेको भेटिएको छ। मतदाताले नै मतदान अधिकृतलाई ‘मेरो चिह्न खोइ ? ' भन्दै सोधेका थिए। यता, ललितपुरको क्षेत्र नम्बर ३ अन्तर्गत वडा नम्बर १२ को कोइलाक्षी केन्द्रमा पतिको किरियामा रहेकी राममाया डंगोल र किरियापुत्री दुई छोराले मतदान गरेका छन्। आयोगको कमजोरीले यो केन्द्र निकै साँघुरो भएको गुनासो मतदाताको थियो। ग्रामीण क्षेत्रको मतदानमा पुरुषभन्दा महिलाको उपस्थिति उल्लेखनीय देखिएको छ।

महिलालाई तेस्रोलिंगीको परिचयपत्र

क्षेत्र नम्बर १ मा रहेको लेलेस्थित सरस्वती उच्च मावि केन्द्रमा मत हाल्न पुगेकी स्थानीय गंगा घलानको मतदाता परिचयपत्रमा निर्वाचन आयोगले ‘तेस्रोलिंगी' उल्लेख गरेपछि केहीबेर विवाद भयो। उनको १७३४२४८६ नम्बरको परिचयपत्रमा यस्तो लेखिएको भेटिएपछि घलान आफ्नो पहिचान बदलेको भन्दै आक्रोशित भएकी थिइन्। केहीबेर विवाद भएपछि आयोगले गल्ती गरेको भन्दै घलानलाई सम्झाइबुझाइ गरिएको थियो। उक्त केन्द्रमा खटिएका मतदान अधिकृत राजु पराजुलीले आयोगको त्रुटिले लिंग फरक पर्न गएको बताए। ‘उहाँ महिला नै हो तर यस्तो भूल भएछ,' पराजुलीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.