'कर्मचारीलाई घुस खुवाउनु नपरोस्'

'कर्मचारीलाई घुस खुवाउनु नपरोस्'

काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नं ६ र ७ का बासिन्दाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान हालिरहँदा अब निर्वाचित हुने प्रतिनिधिहरूले सरकारी सेवा प्रभावकारी र चुस्त दुरुस्त बनाउनु पर्ने माग गरेका छन्। मतदान गर्न विभिन्न मतदान केन्द्रमा आएका युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैले सरकारी कार्यालयमा जाँदा दुःख र झन्झट मात्रै होइन घुस खुवाउनु पर्ने बाध्यता रहेको भन्दै दुःखमनाउ समेत गरे।

काठमाडौं क्षेत्र नं ६ मा पर्ने तारकेश्वर नगरपालिका-६ धर्मस्थलीमा मतदान गरेका ७१ बर्से स्थानीय समाजसेवी रामबहादुर महर्जन खासै उत्साहित थिएनन्। मत खसालीसकेपछि उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘के गर्ने जतिपटक भोट हाले पनि हामीले दुःख नै पाउने हो।' उनको आक्रोश नेताका साथै सरकारी कर्मचारीप्रति पनि उत्तिकै थियो। विगतमा विभिन्न कामका लागि मालपोत, नापी, जिल्ला प्रशासन, भूमिसुधारलगायत कार्यालय जाँदा आफूले असाध्यै दुःखकष्ट बेहोर्नुपरेको उनको गुनासो थियो।

अब निर्वाचित भएर सरकार चलाउने नेताहरूले पहिलो काम सरकारी सेवा जनप्रिय बनाउनु पर्ने उनले बताए। उनका अनुसार धेरै पल्ट जग्गासम्बन्धी कामले मालपोत कार्यालय डिल्लीबजार र मनमैजु जतिपल्ट जाँदा पनि घुस बिना काम नभएको सम्झेर मन खिन्न हुने उनले बताए।

यस्तै गुनासो काठमाडौं क्षेत्र नं ७ कै पुरानो गुह्येश्वरी, लोलाङ हाइट केन्द्रमा मतदान गर्ने तथा क्षेत्र नं ६ को तारकेश्वर महांकाल क्षेत्रका मतदाताहरूले पनि गरे। उनीहरू लामो लाममा बसेर मत खसाल्ने पालो कुरिरहेका थिए। पुरानो गुहेश्वरी मतदान केन्द्रमा भेटिएका तारकेश्वर-७ का झंकप्रसाद तिमिल्सिनाले सुशासन कायम हुन नसकेको र कर्मचारीले सर्वसाधारणलाई दुःख र झन्झट दिने गरेको पीडा पोखे। उनले केन्द्र र प्रदेश दुवै ठाउँका नेताहरूले सरकारी सेवा प्रभावकारी बनाउन पहिलो प्राथमिकता दिनुपर्ने बताए। सरकारी सेवा प्रभावकारी हुने गरी प्रदेशले नयाँ योजना र कार्यक्रम ल्याउनु पर्ने उनको सुझाव छ।

‘हिजोका कर्मचारीले जनतालाई धेरै दुःख दिए। अब संघीय शासनमा पनि जनताले कर्मचारीबाट दुःख पाए संघीय शासन सफल हुन सक्दैन', उनले भने। उनले केही समयअघि निर्वाचन कार्यालयकै कर्मचारीबाट समेत आफूले धेरै दुःख र झन्झट बेहोर्नु परेको सम्झिए। सरकारी कार्यालयमा जाँदा घुस मागेर कर्मचारीले दिक्क पार्ने अनुभव पनि उनले सुनाए।

विभिन्न स्थानमा भेटिएका मतदाताहरूको एउटै आवाज थियो, ‘सबै नेता र कर्मचारी मिलेर जनताको काम गर्नुका साथै देशको विकास, प्रगति र समृद्धिमा ध्यान दिनुपर्छ।' केहीले मतदान गर्ने मन नभए पनि नेताहरू फेरि सच्चिएर आउलान्कि भन्ने आसले भोट हाल्न आएको बताए। तारकेश्वर- ५ लोलाङ हाइटका अगन्धर तिवारीले भने, ‘अब त नेताहरू सच्चिन्छन् होला र जनताको सुखदुःखमा साथ देलान् जस्तो लागेको छ।' केहीले नेताहरू जनता नचिन्ने रोगले ग्रसित नहोलान् भन्ने अपेक्षा गरे।

अधिकांश मतदाताहरू नेता चुनावमा मात्रै आउने त्यसपछि नाकमुखै नदेखाउने भन्दै खिन्नता व्यक्त गरे। क्षेत्र नं ६ धर्मस्थली मतदान केन्द्रमा मत खसाल्न आएका बालकृष्ण नापीत र जीतबहादुर महर्जनले नेताहरूलाई निर्वाचनपछि रतन्धो लाग्ने गरेको भन्दै व्यंग्य गरे। उनीहरू दुवै जना २०४६ सालको जनआन्दोलनका घाइते हुन्। लोकतान्त्रिक आन्दोलनमा लाग्दा दुवै जनाको टाउको फुटेको थियो।

‘हामीले रगत बगाएर लोकतन्त्र ल्यायौं, तर हाम्रो समस्या अहिले पनि जस्ताको तस्तै छ', उनीहरूले भने। उनीहरू पनि सरकारी कार्यालयका सेवाप्रति असन्तुष्ट छन्। लोलाङ, धर्मस्थली, पुरानो गुहेश्वरी, काभे्रस्थली, मनमैजुलगायत विभिन्न ठाउँमा मतदाताहरूले उनीहरू राजधानी नजिकका गाउँबस्तीमा भए पनि बत्तिमुनि अँध्यारो भनेजस्तो भएको बताए। आफ्नो गाउँ टोलमा बाटो, खानेपानी अभाव, ढल, असुरक्षालगायत समस्या यथावत रहेको उनीहरूको गुनासो थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.