‘संविधान जीवन्त होस्'

‘संविधान जीवन्त होस्'

 

जहरसिंहपौवा (काठमाडौं) : शकुन्तला तामाङको बूढीऔंठामा कालोमसी धसिएको यो पहिलोपल्ट होइन । शंकरापुर-३, कात्तिकेबाट जहरसिंहपौवा मतदान केन्द्रमा भोट खसालेर बाहिरिँदै गरेकी उनलाई खसोखास थाहा पनि थिएन, यो चुनाव किन हुँदै छ । तर, आफ्नो एक भोट उनले अर्पण गरिदिइन्, दुई वर्षअघि जनप्रतिनिधिले बनाएको संविधान अमर होस् है भनेर !

तामाङको गाउँमा उम्मेदवार बनेर एमाले नेता माधव नेपालदेखि कांग्रेस नेता दीपक कुइँकेलसम्म पुगे । हात जोड्दै भोट मागे अनि संविधान कार्यान्वयनदेखि विकास दिलाउने वाचा गरे । ‘मैले नेताको सबै कुरा त बुझिनँ तर संविधान लागू गर्ने, विकास गर्ने यस्तै के-के भन्नुभयो,' उनले अन्नपूर्णसँग भनिन्, ‘मलाई नेताको कुरा धेरै विश्वास लाग्दैन तर भोट लाउनुपर्छ भन्ने थाहा छ ।'

गाउँतिर पुग्दा थाहा हुन्छ- उदाउँदो संघीय गणतन्त्रका नेताहरूको बोलीमा नागरिकको भरोसा बढिहालेको छैन तर यो संविधान कार्यान्वयन गरिछाड्ने प्रतिबद्धताहरू छन् । माओवादी युद्धको अन्त्यपछि शान्ति र लोकतन्त्र आएको थाहा छ । गणतन्त्र, संघीयता, राज्यका सबै निकायमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा छ भन्ने पनि थाहा छ तर जनता अब शक्तिशाली भइसके भन्ने तर्कमा तिनका आशंका कायमै छन् । यो चुनावले जनतालाई बल थप्ने तिनको विश्वास छ ।

शंकरापुरमै मतदाता झुरुप्प भेला भएर भन्दै थिए, ‘जनता शक्तिशाली भइसकेका छैनन् । उनीहरूले जिताएका प्रतिनिधिलाई त संविधान नबनाई संविधानसभा विघटन भएको पनि टीभीमा हेरेर थाहा भयो ।' यसरी बोल्नेमध्ये कतिपयलाई लाग्छ, अझै पनि राष्ट्रिय शक्तिहरू राजनीतिमा निर्णायक भइसकेका छैनन् । अनि यो संघ÷प्रदेश चुनाव पनि समयमा नहोस् ता कि संविधानै कार्यान्वयन हुन नसकोस् भनी बाह्य शक्तिले इच्छाएको तिनले सुनेका रहेछन् । तिनैमध्ये एक स्थानीय व्यापारीले भने, ‘हाम्रो भोट हामी केही गर्न सक्दैनौं भन्नेका लागि जवाफ हो ।'

 

‘यो चुनावले ठूलो विकास केही गर्ने होइन तर अब कतिवटा संविधान ल्याउने ? यो संविधान हामीले बचाउनुपर्छ ।'
सोमनाथ ढुंगाना, डाँछी

डाँछी, थलीस्थित कान्तिभैरव मावि मतदान केन्द्रमा भेटिएका ७२ वर्षीय सोमनाथ ढुंगाना भन्दै थिए, ‘यो चुनावले ठूलो विकास केही गर्ने होइन, यसमा स्पष्ट भए हुन्छ तर अब कतिवटा संविधान ल्याउने ? यो संविधान हामीले बचाउनुपर्छ ।' ढुंगानाले पहिले खसालिएका मत पाँच वर्षे सरकार र संविधान निर्माणका लागि भएको तर यसपल्टको भोट संविधान रक्षाका लागि भएको व्याख्या पनि दिए । उनले अब स्थायी सरकार आएर बूढाबूढीको भत्ता बढाउनुपर्ने माग पनि राखे ।

यो चुनावको अर्को सबल पक्ष- विप्लव समूहको बम आतंकसँग नागरिकहरू एकरत्ति तर्सिएको प्रमाण फेला परेन । भक्तपुरको बालकोट मनहरा खोलामा बम राखिएको हल्ला चलेपछि सेना र प्रहरी कडा पहरामा खटिए । छेवैका दुई मतकेन्द्रमा वृद्धदेखि युवा, अपांगदेखि सांग निर्धक्क मतदान गर्दै थिए । यो चुनाव हिंसाविरुद्धको जनमतसमेत भएको बताए, अमरबहादुर तामाङले । कुनै बेला शम्भुराम श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट लिगका कार्यकर्ता रहेका तामाङ अहिले कुनै पार्टीमा छैनन्, वामपन्थी अनुराग भने बाँकी छ । शंकरापुर मतकेन्द्रमा भेटिएका उनले भने, ‘नेपालीको जनमतविरुद्ध अब कोही पनि शक्ति जानु हुँदैन । त्यो जनादेशको अपमान हो ।'

डाँछी-७ मा भेटिएका पूर्वफुटबलर राजीव श्रेष्ठले जसले चुनाव जिते पनि अब देश स्थिर राजनीतिक व्यवस्थामा जाने, त्यसैबाट विकास र समृद्धि हुने उनले अपेक्षा राखे । निर्वाचन आयोगको प्रारम्भिक प्रक्षेपणअनुसार दोस्रो चरणको संघ प्रदेश चुनावमा झन्डै ६७ प्रतिशत मत खसेको छ । यो सूचकांकले भन्छ, जीवन्त लोकतन्त्रमा बहुविचार हुन सक्छन् तैपनि बहुसंख्यक जनता ठिकै निर्णय गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.