४४ मतपत्र धेरै भेटिएपछि गोरखा २ मा मतगणना रोकियो
गोरखा : गोरखा क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना रोकिएको छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा रहेको क्षेत्रमा विवाद हुँदा एक घण्टादेखि मतगणना रोकिएको हो। चतुरमाला माविको मुच्चोकको मतपेटिकामा मुचुल्कामा उल्लेख भएको भन्दा ४४ मतपत्र धेरै भेटिएपछि विवाद उत्पन्न भएको हो।
मुचुल्काभन्दा धेरै मतपत्र भेटिएपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले मतगणनामा अवरोध गरेका हुन्। गोरखा २ मा बाबुराम भट्टराई कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् भने नारायणकाजी वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।
विवाद हुनुअघि बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने नारायणकाजीले ९ हजार ७ सय ४९ मत पाएका छन्।