१२ हजार पाँच सय ९१ मत अन्तरले योगेश भट्टराई विजयी
ताप्लेजुङ : एक मात्र प्रतिनिधिसभा सदस्य रहेको ताप्लेजुङमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका सचिव योगेश भट्टराई भारी मत अन्तरले विजयी भएका छन् ।
भट्टराई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार पाँच सय ९१ मतले हराउँदै विजयी भएका हुन् । भट्टराई २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी दाहालले १६ हजार ८ सय ८८ मत ल्याएका छन्।
को हुन् योगेश भट्टराई ?
योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो। भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका थिए।
उनी २०४० सालमा पञ्चाय विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परे। २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भए। २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए।
२०६२-६३ को जनआन्दोलनमा एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौं महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भए। भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए।