रसुवामा लोकतान्त्रिक गठवन्धनका आचार्य विजयी
नुवाकोट: मंसिर १० गते आइतबार सम्पन्न पहिलो चरणमा भएको मतदानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेश तह रहेको रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।
रसुवामा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनका मोहन आचार्य विजयी भएका छन् । उनले १० हजार चारसय ५३ मत प्राप्त गरी विजयी भएको रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्दी एमालेका जनार्दन ढकालले १० हजार दुई सय ७८ मत प्राप्त गरेको खनालले बताए। रसुवामा २६ हजार ८७ मतगणना हुँदा एकहजार एकसय ४५ मत बदर भएको बताइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ लहरेपौवा घर भएका ४३ वर्षीय आचार्य पेशाले इन्जिनियर हुन्। एक दशकदेखि कांग्रेसमा आवद्ध आचार्य कांग्रेसको महासमिति सदस्यसमेत हुन्।
प्रदेशसभामा पनि लोकतान्त्रिक विजयीः
रसुवाका दुई वटै प्रदेश तहमा लोकतान्त्रिक गठबन्धन विजयी भएको छ। शनिवार बिहानको अन्तिम मतपरिणाम अनुसार रसुवाको प्रदेश ख मा लोकतान्त्रिक गठवन्धनका उम्मेदवार नयाँ शक्ति पार्टी रसुवाका संयोजक प्रेमवहादुर तामाङ विजयी भएका छन्।
विजयी तामाङले सात हजार ४० र उनका निकटतम प्रतिद्वन्दी वामगठबन्धनका इन्द्र गौतम जगतजंगले पाँचहजार ६ सय ९२ मत प्राप्त गरे।
रसुवाको प्रदेश सभा क मा पनि शुक्रवार कांग्र्रेसका प्रभात लामा विजयी भएका छन्।
उनले ६ हजार नौ सय ७७ र उनका निकटतम प्रतिद्वन्दी एमाले रसुवाका अध्यक्ष कन्र्याल लामाले ५ हजार एकसय ५२ मत प्राप्त गरे। रसुवामा विजेताहरुको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरिसकेको छ।