मुख्यमन्त्रीका दावेदार शंकर पोखरेल भारी मतले विजयी

मुख्यमन्त्रीका दावेदार शंकर पोखरेल  भारी मतले विजयी

दाङ : वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क)को प्रदेश सभामा विजयी भएका छन् ।

पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन् । २ (क) को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय ९४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन् ।

५१ हजार ७ सय मतदाता रहेका यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो । दाङ २ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेका पोख्रेल मुख्यमन्त्रीको पक्का भए पछि प्रदेशमा झरेर कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाका लागि ठाउँ छोडिदिएका थिए । एमाले स्थायी समिति सदस्य रहेका पोख्रेल पाटीभित्र बौद्विक र तार्किक नेताको रुपमा चिनिन्छन् ।

अर्थशास्त्रबाट स्नाकोत्तर गरेका पोख्रेल यस अघि २०५१ सालमा पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७० सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट काग्रेसका जिल्लास्तरीय नेता बुद्धिराम भण्डारीसँग हार बेहोरेका थिए । दाङ दुई नम्वर क्षेत्रका संघ र दुई वटै प्रदेशमा गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडी छन् । जिल्लामा ३ (क) बाहेक अन्य सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ ।
जिल्लाको निर्वाचन क्षेत्र ३ (१)मा भने काग्रेस उम्मेदवार डिल्ली बहादुर चौधरीले अग्रता लिएका छन् । गठबन्धनका उम्मेदवार भन्दा अहिले सम्म आठ सय मतले चौधरी अघि देखिएका छन् ।

को हुन् पोखरेल

विक्रम सम्वत २०१९ साल फागुन १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलमा उदाहरणीय मानिन्छन् । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा भूमिका खेलेका उनी अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष हुन् । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेल अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

२०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५/४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२/६३ को जनआन्दोलनमा काठमाडौको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।

माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उनी सचिव बनेका थिए । संविधानसभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्षका साथ उनले पार्टीमा राज्य पुनसंरचना सम्बन्धी लिखित दस्तावेज समेत प्रस्तुत गर्ने व्यक्ति हुन् । पहिलो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल दोस्रो संविधान सभाको निर्वाचनमा भने प्राविधिक भने संसदमा पुग्न सकेनन् । ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट ससदमा निर्वाचित भएका पोख्रेल उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गरेका पोख्रेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्येका एक हुन् । हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका छन् । विगतमा पार्टी सचिवको रुपमा काम गरिसकेका पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् ।

पटकपटक जेल र दर्जनौ पटक हिरासतमा बसेका राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये एक मानिन्छन् । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव छन् । उनीहरुका दुई छोरी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.