शशि : द हाउसहोल्डर, द स्टार
'मल्टिट्यालेन्ट’– सायद शशी कपुरलाई यही शब्दले सम्बोधन गर्नु एकदम उपयुक्त हुन्छ। उनी नायक, प्रोड्युसर, निर्देशक सबै हुन्। यी जिनियस ‘मल्टिट्यालेन्ट’ले गत सोमबार (४ डिसेम्बर) ७९ को उमेरमा संसार त्यागे। यी लिजेन्डको महाप्रस्थानपछि श्रद्धाञ्जलिले सामाजिक सञ्जालका भित्ता भरिए।
शशीले डनबोस्को हाइस्कुल, मुम्बईबाट आफ्नो स्कुले शिक्षा पूरा गरे। उनको फिल्मी करिअरको सुरुआतचाहिँ आफ्नै दाजु राज कपुरले बनाएको ‘आग’ सन् १९४८) चलचित्रबाट भयो। यसमा उनी बालकलाकारको भूमिकामा थिए। 'धर्मपुत्र’ (१९६१) फिल्मबाट नायकका रूपमा चिनिए। एक सयभन्दा बढी हिन्दी सिनेमामा काम गरे। उनको अनुहार केही अंग्रेजीभाषी फिल्ममा पनि देख्न पाइन्छ। उनले १२ वटा अंग्रेजी सिनेमामा अभिनय गरे। ‘सेक्सपियर–वाल्ह’ (१९६३), 'द हाउस होल्डर’ (१९६५), ‘अ म्याटर अफ इन्नोसेन्स’ (१९६७)जस्ता उनले अभिनय गरेका अंग्रेजी फिल्म निकै चर्चित रहे। आफ्नै बाबुले निर्देशन गरेको नाटकमा पनि उनले अभिनय गरे, जसले उनलाई सफल फिल्मी कलाकार बनाउन भूमिका खेल्यो। ७० को दशकमा हलिउड फिल्म इन्डस्ट्रीमा सबैभन्दा धेरै पारि श्रमिक लिने कलाकारमा उनको नाम दोस्रो स्थानमा आउँथ्यो।
'जबजब फूल खिले’, 'शर्मिली’, 'प्यारका मौसम’, 'द दिल्ली टाइम्स’, 'सुहाग’जस्ता फिल्मले उनलाई बिर्सनै नसकिने एक कलाकारका रूपमा फिल्म इन्डस्ट्रीमा उभ्याइदियो। शशीलाई उनको लोभलाग्दो अभिनयका कारण धेरैले सम्झन्छन्।
सन् २०१५ मा शशीलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइएको थियो। हिन्दी सिनेमामा यो पुरस्कारको व्यापक चर्चा छ। उनले फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड २०१० पनि प्राप्त गरेका थिए। त्यस्तै सन् २०११ मा पद्मभूषणबाट पनि सम्मानित भए। यी केही प्रतिनिधि पुरस्कारका लिस्ट हुन्। यस्ता धेरै अवार्ड छन् जसले उनको क्षमतासमेत प्रतिविम्बित गर्छ।
फिल्ममा उनले देखाउने क्षमताबाट मात्र होइन, लोभलोग्दो र ‘चार्मिङ’ अनुहारबाट प्रभावित हुने पनि धेरै छन्। उनलाई फ्यानले अहिलेसम्मकै ह्यान्डसम स्टारका रूपमा परिभाषित गरे।
बलिउडका खम्बा मानिने पृथ्वी राज कपुरका चार सन्तानमध्ये शशी कान्छा हुन्। भारतको नाट्य विधा उकास्न पृथ्वी राज कपुरको निकै गहिरो योगदान थियो। उनले मुम्बईमा सन् १९४२ ‘पृथ्वी थिएटर’ नै स्थापना गरेका थिए। बीचमा केही समयका लागि यस थिएटर बन्द भएको थियो, जसलाई सन् १९७८ मा शशीले आफ्नी श्रीमतीसँग मिलेर फेरि सञ्चालनमा ल्याएका थिए। पछि १९७२ मा पृथ्वीको निधन भएसँगै थिएटर पनि बन्द भयो।
शशी नायिका जेनिफर केन्डलसँग विवाहबन्धनमा बाँधिएका थिए। सन् १९८४ मै क्यासन्रका कारण केन्डलको मृत्यु भइसकेको छ। केन्डलको मृत्युबाट शशीलाई निकै ठूलो चोट प¥यो। मृत्युवियोगबाट हतास शशीले केही समय फिल्म नै खेलेनन्। दैनिक रक्सी (भोड्का) सेवनले उनको जीवन नै ध्वस्त हुने अवस्थामा पुगिसकेको थियो। जेनिफर उनलाई कतिसम्म माया गर्थिन् भने शशी मोटाएर भद्दा देखिएलान् भनेर खानासमेत उनी आफैं अड्कलेर दिन्थिन्। शशी बाहिर साथीहरूसँग खाँदा कहिलेकाहीँ भन्ने गर्थे, ‘मैले धेरै खाएँ भने जेनिफर मलाई गाली गर्छिन्।’
‘दिवार’ फिल्ममा शशी कपुरको डायलग छ, ‘मेरा पास मा हे ।’ शशीको महाप्रस्थानपछि उनका फ्यानले यही डायलग सम्झिए ।
शशी र केन्डल जोडीको तीन सन्तान छन्— कुनाल कपुर, करन कपुर, सञ्जना कपुर। लामो समयदेखि किड्नीको समस्या बेहोरिरहेका शशीको पनि मुम्बईको बकोकिलाबेन अम्बानी अस्पतालमा मृत्यु भयो। उनको मृत्युसँगै बलिउडले आफ्नो गर्व गर्नलायक एक नायक गुमायो। रणवीर कपुरले शशीको मृत्यु भएको आधिकारिक जानकारी दिँदा धेरैको आँखामा आँसु भरियो।
उनको निधनमा भावविह्वल हुँदै आमिर खानले श्रद्धाञ्जलि व्यक्त गर्दै स्ट्याटस लेखे, ‘शशी अंकल महान् फिल्म स्टारमात्र होइनन्, राम्रो फिल्म निर्माता पनि हुन्। उनको कामले भारतीय दर्शकलाई आनन्द/मनोरञ्जन दियो। भारतीय थिएटरमा उनको योगदान उल्लेखनीय छ। पृथ्वी थिएटर धेरै दर्शक र कलाकारका लागि पनि ‘फेभ्रेट’ ठाउँ हो। उनको निधनले हामी सबैलाई दुःखी बनाएको छ। अंकलको आत्मालाई शान्ति मिलोस्। माया र सम्मान।’
अमिताभ बच्चन, साहरुख खानजस्ता बलिउडका धेरै स्टारले उनको निधनमा संवेदना प्रकट गरेका छन्। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका छन्, ‘शशी कपुरको क्षमता सिनेमामा र थिएटरमा देख्न सकिन्छ। उनको अद्भुत क्षमतालाई आउने पुस्ताले पनि सम्झनेछ। उनको निधनले दुखी बनाएको छ।’
उनले अन्तिमपटक मोहम्मद अलि जिन्नाको जीवनीमा आधारीत ‘जिन्ना’ फिल्म खेलेका थिए, सन् १९९८ मा। गत वर्ष असीम छब्राले शशीको जीवनी लेखेका छन्, ‘द हाउस होल्डर, द स्टार’ शीर्षकमा। बलिउडका सुपरस्टार यी नायकले ‘दिवार’ फिल्ममा बोलेको एक संवाद बेलाबेलामा चर्चामा आउँछ। उनको मृत्यपछि पनि धेरैले यही ‘डाइलग’ सम्झिए। फिल्मको अन्त्यतिर उनले आँखाभरि आँसु पार्दै भनेका थिए, ‘मेरा पास मा हे।’ हलिउडका अर्का सुपरस्टार अमिताभ बच्चनलाई आमाको महत्व दर्शाउँदै उनले यो वाक्य बोलेका थिए, जसले बच्चनलाई चुप लगाइदिएको थियो।
शशी एकदमै संगीतप्रेमी थिए। घरमा बस्दा पनि उनी ‘म्युजिकल इन्स्ट्रुमेन्ट’ बजाइरहेका हुन्थे। पियानो उनको सबैभन्दा प्रिय बाजा थियो। गीत सुन्न, फिल्म हेर्न पनि खुबै मन पराउँथे। आइतबार बिदाका दिन उनी कुनै पनि काम गर्दैनथे। बिदाको पूरै समय उनी परिवारका लागि छुट्याउँथे।