लुकुमकी मन्त्री

लुकुमकी मन्त्री

सात वर्ष अघिकी रुकुम र अहिलेकी रुकुमले काँचुली फेरेको रहेछ। चारपाँच तलाका घर, सफासुग्घर आकर्षक होटल। नागबेली बान्कीको पक्की सडक। रुकुमकी सदरमुकाम मुसीकोट। मानौं, नवआगन्तुक पाहुनालाई आफ्नो सौन्दर्य देखाउन आतुर थिइन्। हामीलाई भने पुग्नु थियो, लुकुम। मेरा लागि नाम र भूगोल दुवैले नौलो ठाउँ।

Devaki-Bista-photoलुकुमका लागि रुकुम मुसीकोट छोडेपछि थाहा लाग्यो, सडक रहेछ ज्यानमारा। ज्यानको माया मारेरै हिँड्नुपर्ने। बानी परेकालाई त सामान्य लाग्ने भइहाल्यो। भीरमा खोपिएको सडकमा मुस्ताङ जिप राजा भइदियो। जिप यसरी चल्थ्यो; मानौं जिप र भीर एकअर्काका लागि बनेका हुन्। चालकको त झन् कुरै नगराैं। सडकले भने प्रत्येक मोडमा परीक्षा लिन्थ्यो। चुक्यो कि गयो ज्यान। नभन्दै यही महिना लुकुमकोटबाट रुकुम फर्कंदै गर्दा मुस्ताङ जिप दुर्घटनामा पर्दा नवविवाहित प्रहरी इन्स्पेक्टर जोडीसहित सातजनाले ज्यान गुमाउनु परेको थियो। सिपालु चालकले नचलाएकाले दुर्घटना भएको बाटोका अनुभवी यात्रुको आकलन रहेछ। फिल्म निर्देशक सुवर्ण थापाले क्यामरामा कैद गरिरहेका थिए ज्यानमारा सडकलाई। जे होस्, रुकुमबाट ९ बजे हिँडेका हामी साँझ ६ बजे मात्रै लुकुम पुग्यौं।

ओर्लनासाथ देखिए, ढुंगाले छाएका एकैनासका घरहरू। प्रत्येक घरको बार्दलीमा मकैका झुत्ता। ती पनि रातो, कालो र कलेजी रङका। पहिला सेतो र पहेँलो मकै मात्र देखेकी म नयाँ रङका मकै देख्दा रल्लै परिगएँ। साँझको मिर्मिरे उज्यालो थियो, तैपनि लुकुमको सौन्दर्य प्रस्ट देखिन्थ्यो।

त्यति नै बेला मन तानिन् एक महिलाले। लुकुमेली महिलाले जस्तै शिरमा लपेटा बाँधेकी तर वर्ण गोरो, ट्र्याक सुटमाथि हाफ ज्याकेट भिरेकी। चिनजान भइहाल्यो। नाम आना दी सेल्स, फ्रान्सेली नागरिक। नेसनल सेन्टर फर साइन्टिफिक रिसर्चको तर्पmबाट आएकी। २८ वर्षअघि पहिलोपटक नेपाल आएकी उनलाई यो देशले मोहनी लगाएछ। पटकपटक आउन थालिन्। अहिले धामीझाँक्रीबारे अनुसन्धान गरिरहेकी रहिछन्। उनका सहयोगी रहेछन् स्थानीय दीपक झाँक्री, सारै मिजासिला। आना त गाउँमा पूरै परिचित भइसकेकी रहिछन्। नचिन्ने कोही भेटिएन। स्थानीय खाम भाषा बोल्न र बुझ्नसक्ने रहिछन्। नेपाली पनि राम्रै जान्दी रहिछन्।

आना, सुवर्ण थापा, दीपक र मसहितको टोली हिँड्यो गाउँ घुम्न। गाउँमा आनाले नचिन्ने पनि कोही भेटिएनन्। उनकै आँखाअगाडि हुर्किएका बच्चाहरू अब त अधबैंसे भइसके, नचिनून् कसरी ? आनीले सुरुमा भेटेका झाँक्रीमध्ये एकदुईबाहेक अरूको त मृत्यु भइसकेछ। आना आफैं पनि त ५० आसपासकी भइसकिन्। २० वर्षे हुँदा आएकी रहिछन् उनी पहिलोपटक लुकुममा। पाँच दिन लगाएर भरियाहरूसँग लुकुम आएकी उनी १८ महिना नेपालमै बसिछन्। लुकुमेलीहरूको रहनसहन सबै सिकिछन्। आना हामीसँग कुरा गर्दा कुनै बेलामात्र अंग्रेजी बोल्थिन् नत्र भने नेपालीमा कुरा गर्थिन्। सुवर्ण सर र आना भने फ्रेन्च भाषामा कुरा गर्थे।

लुकुममा आएको परिवर्तनको साक्षी हुन्, आना। उनले लुकुमेलीहरूको जीवनशैलीदेखि चेतनास्तरमा आएको परिवर्तन देखेकी छन्। ‘पहिलोपटक लुकुम आउँदा मलाई हेर्न सबै घेरिएर बस्थ्ये। म जति बेला पनि गाउँलेले घेरिएकी हुन्थेँ’, अनुभव सुनाइन् आनाले, ‘दिसा गर्न पनि लुकेर जानुपथ्र्यो। मलाई देख्नासाथ गोरी आई भनेर मेरो पछि लाग्थे।’

लुकुम बिहानदेखि रातिसम्म मद (कोदोको रक्सी) खाएर झुम्म पर्दो रहेछ। नपिउने पुरुष त भेट्नै गाह्रो। हामी बसेको घरमालिक मास्टर रुझीधनले पिउनुहुँदो रहेनछ। जसको घरमा जाँदा पनि मदले स्वागत गर्ने अचम्मको चलन ! नपिए आलङमालङ हुन्छ भनेर दीपकले मलाई र सुवर्ण सरलाई बेलाबेला जिस्क्याइरहे। त्यसको अर्थ स्वागतलाई अस्वीकार गर्दा पिचासले दुःख दिन्छन्। पछि थाहा पाएँ, मद (रक्सी) नखानेले सक्कसक्क भन्दै आकाशतर्फ औंलाले चढाउनुपर्ने रहेछ। त्यसपछि कसैले मद पस्किनासाथ मैले सक्कसक्क गर्न थालेँ।

यात्राकै क्रममा भेटिइन्, मन्त्री। नाम नै मन्त्री। उमेरले १६। मायालु अनुहार। पटपट फुटेका पैताला। चुलबुले स्वभाव। कसैले तिम्रो नाम कसले मन्त्री राख्यो भनी सोध्यो भने जवाफ दिन्थिन्, ‘मन्त्री होइन अब म प्रधानमन्त्री बन्छु।’

‘पुमसिने’मा आएकी थिइन् उनी। पुमुसिने धामीझाँक्रीको भेलाजस्तै रहेछ जहाँ आत्मालाई बोलाएर ज्ञान दिने गरिँदो रहेछ। गुरु झाँक्रीबाट मन्त्र सिक्न नयाँ झाँक्रीहरू जम्मा भएर पुमुसिने आयोजना गर्दा रहेछन्। सोच्दा र सुन्दा पहिले विश्वास लागेको थिएन। आफ्नै आँखाले देखेपछि विश्वास नगरी धर लागेन।

विवाहकै दिनदेखि मन्त्रीको शरीरमा कम्पन सुरु भएछ। अस्पतालभन्दा धामीझाँक्री नै सहज छ अझै पनि लुकुमेलीका लागि। उनलाई झाँक्रीकहाँ लगियो।

पुमुसिनेमा १५ जना झाँक्री भेला भएका थिए। तीमध्ये सबैभन्दा कान्छी थिइन्, मन्त्री। सबैभन्दा ऊर्जाशील देखिन्थिन्। कहिले लाग्थ्यो, उनको ऊर्जा आगोको कोइलाझैं सकिएर खरानी बन्दैछ तर मौन रहेँ। जब उनीमा आत्मा चढ्थ्यो। सबैभन्दा अगाडि बलिरहेको आगोमा नाच्थिन्। तातो खरानी मुहारमा दल्थिन्। अनि मयूरझैं नाच्दै घरभित्र गएर नराम्रो आत्मा हटाउँथिन्। कोइलामा नाच्दा, तातो खरानी दल्दा पक्कै केही भयो होला। तर, नियालेर हेरेँ— उनको अनुहार र पैतालामा केही भएको थिएन। आफ्नै आँखाले देखेपछि विश्वास नगरूँ कसरी ?

पुमुसिनेमा झाँक्रीहरू विभिन्न जनावरका छाला झुन्ड्याएर नाचिरहेथे। जुन झाँक्रीलाई जुन जनावर मन पर्छ त्यसैको छाला लगाएर नाचिरहेका थिए। कसैले रेडपान्डा, कसैले बाँदर त कसैले चितुवाको छाला पिठ्यूँभरि बोकेर नाचिरहेका थिए। सबैको शिरमा डाँफेको प्वाँख भने छुटेको थिएन। डम्फुको धुन सुन्दा हामी पनि लठ्ठ हुन्थ्यांै। लाग्थ्यो, उनीहरूसँगै नाचूँ। गुरु झाँक्रीले नाचेर भेडाको मुटु झिकेर मुखमा राख्दै रूखमा गएर नाचेको दृश्य भने हेर्न नसकिने थियो। दुर्लभ मानिएका जनावरका छाला लगाएको दृश्य पनि त कानुनविपरीत थियो। तर, उनीहरूले भने, ‘यो जनावरको छाला अरूलाई बेच्दैनौं। हाम्रो परम्परा हो। त्यसैले हामीलाई प्रहरी–प्रशासनले केही गर्दैन।’

स्रोह वर्षीया मन्त्रीको कथाव्यथा भने बेग्लै रहेछ। दुई वर्षअघि अर्थात् १४ वर्षे उमेरमै बिहे भएको रहेछ उनको। विवाहकै दिनदेखि मन्त्रीको शरीरमा कम्पन सुरु भएछ। अस्पतालभन्दा धामीझाँक्री नै सहज छ अझै पनि लुकुमेलीका लागि। उनलाई झाँक्रीकहाँ लगियो। झाँक्रीले भने, ‘मन्त्रीको मामा मरेपछि उनको शरीरमा आत्मा बनेर चढेका छन्, जो अब सधैं कामिरहनेछन्।’

त्यहाँबाट नै सुरु भएको रहेछ मन्त्रीको झाँक्री जीवन। अहिले उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। त्यसो त जीवनको यौवनकालमा छिन् उनी। उनलाई पनि मन लाग्छ अरूजस्तै रमाउन, जिन्दगीको मज्जा लिन। भनिन्, ‘मुलाइ यो सबै मन पर्दैन तर के गर्नु भाग्यमा यस्तै लेखेको रहेछ। दिक्क मानेर पनि भयान।’ आफ्ना साथीहरूको बच्चा भइसकेको सुनाउँदैै आँखाभरि आँसु भरिए उनका।

मन्त्रीलाई उपचारका लागि काठमाडौंसम्म पु¥याइएको रहेछ। ‘तर, निको भएन’, उनी भन्छिन्, ‘एउटा डाक्टरले यहीँ बस तिमीलाई सन्चो हुन्छ भन्थ्यो तर म बस्न सकिनँ अर्काको ठाउँमा। जस्तै भए नि आफ्नै गाउँ प्यारो लाग्छ। त्यही भएर फर्कें लुकुम।’

झाँक्रीहरूले केही बेर वि श्राम गरेको मौका पारेर मन्त्रीसँग कुरा गर्न पाएकी थिएँ। दुई दिन दुई रात सम्मेलनमा पुमुसिनेमा बस्दा पनि उनमा भने कुनै थकान देखिँदैनथ्यो। भन्थिन्, ‘जब आत्मा चढ्छ, जति जे गरे पनि थकाइ लाग्दैन। भोक लाग्दैन।’

मन्त्री र आनाको सम्बन्ध भने बेग्लै थियो। आनालाई देख्नासाथ मन्त्री जिस्क्याउन पछि पर्दैनथिइन्। आनाले भने उनलाई छोरीलाई जस्तै माया गर्थिन्।

फर्किंदै गर्दा बाटोभरि मेरो मनमस्तिष्कमा मन्त्री घुमिरहिन्। मेरो मनमा रिल चलिरह्यो, उनी आगोमा नाचेको। खरानी मुहारमा दलेको। विभिन्न जनावरको छाला पिठ्यूँमा झुन्ड्याएर शिरमा डाँफेको श्रीपेच लगाएर नाच्दै गरेकी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.