भोजपुरमा शेरधन राई विजयी
भोजपुर: बिहीबार साँझदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुर (ख) मा वामगठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री शेरधन राई ठूलो मतान्तरले विजयी भएका छन्। उनी २० हजार ३ सय ३४ मत ल्याउँदै विजयी भएका हुन्।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीलाई १३ हजार २ सय २९ मत अन्तरले पराजित गरेका हुन। कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याउँदा तेश्रो स्थानमा पछ्याईरहेका नेकपा मालेका उम्मेदवार यादव कुमार पाण्डेले सात सय ८९ मत ल्याएका थिए।
मुख्यमन्त्रीका दाबेदार बनेका राईले विजयी घोषणापश्चात अबको सरकारबाट भोजपुरको समग्र विकासको लागि सरिक रहने बताए। उनले आफूलाई अमूल्य मत दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिँदै आभारी प्रकट गरे ।
उनले भने, ‘मलाई भारी मतले विजयी गराउनुहुने सम्पूर्ण भोजपुरबासी जनताप्रति आभारी छु । मेरो अबको काम भनेको भोजपुरको समग्र विकास र समृद्धि गर्ने हो ।’ भोजपुरको सडक, विजुली र स्वच्छ खानेपानीलाई प्राथमिकता राख्दै रोजगारीको सुनिश्चिता गर्ने आफ्नो प्रमुख काम रहेको उनले बताए।।