वस्तु हो र मतदाता ?
‘भोट’ प्रजातन्त्रमा सार्वभौमसत्ता प्रयोगको साधन हो। सँगसँगै यो शासनको वैधानिकताको माध्यम पनि हो। शासकले शासन गर्ने वैधानिकता जनताको भोटमार्फत पाउने भएकाले नै यसलाई सार्वभौमसत्ता प्रयोगको साधन भनिएको हो।संविधानले नै सार्वभौमसत्ता जनतामा निहित भएको व्यवस्था गरेपछि आफ्नो सार्वभौमसत्ता प्रयोग गर्ने प्रणालीमा जनता समाहित हुनैपर्ने भयो। साधारण अर्थमा सार्वभौमसत्ता निर्णय गर्ने क्षमता हो। शासन सञ्चालनमा आफ्नो निर्णय प्रयोग गर्नु नै सार्वभौमसत्ता उपयोग गर्नु हो। प्रजातान्त्रिक प्रणालीमा नागरिकले एजेन्डा र विचार मिल्ने दल वा प्रतिनिधिलाई भोट दिएका एकातिर आफ्नो सार्वभौमसत्ता प्रयोग गर्छन् भने अर्कोतिर निश्चित समयका लागि शासनको वैधानिकता पनि उपलब्ध गराउँछन्।
प्रजातान्त्रिक प्रणालीको यो साधारण परिभाषा वास्तविकताको धरातलमा पुग्दासम्म भने बांगिइसकेको हुन्छ। यो परिभाषा केवल राजनीतिशास्त्रका पुराणहरूमा कैद हुन्छ र व्यवहारमा अर्कै भइसक्छ। कम्तीमा नेपाली निर्वाचन अनुभवले त्यस्तो निष्कर्ष निकाल्न सघाउ पुर्याउँछ। नेपालले निर्वाचनको अभ्यास २०१५ सालदेखि सुरु गर्यो। प्रजातान्त्रिक अभ्यासको सुरुमै महिलालाई पनि मत अधिकार दिने देश हो नेपाल। नबिर्सौं, लामो प्रजातान्त्रिक अभ्यास भएको स्विट्जरल्यान्डले सन् १९७१ मा मात्र महिलालाई मताधिकार प्रदान गरेको हो। स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा घन्काउने फ्रान्सेली क्रान्तिको देश फ्रान्सले सन् १९४५ मा मात्र महिलालाई मताधिकार प्रदान गरेको हो। तर, नेपालले त सुरुदेखि नै महिलालाई मताधिकार दियो। तर, किन आज पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारको संख्या न्यून छ ? युरोपमा कुनै बेला मजदुरहरूलाई मताधिकार थिएन। नागरिकको परिभाषा केवल जमिनदार र पुँजीपतिहरूलाई थियो। नेपालमा त्यसरी मताधिकारमा कहिल्यै पनि विभेद गरिएन। तर, आज पनि दलित समुदायको उम्मेदवारी किन कम छ ?
जब हामी यस्ता प्रश्नबारे घोत्लिन थाल्छौं, समाजको वास्तविक दृश्य देखिन थाल्छ। त्यस्तो दृश्य जो आमसञ्चारका पर्दा र पानामा हतपति अटाउँदैनन्। सार्वजनिक बहसका विषय बन्दैनन्। अनि सुरु हुन्छ अनेकौं प्रश्नको शृंखला— के साँच्चै हरेक मतदाताले आफ्नो मताधिकारको तौल महसुस गरिरहेका छन् ? के उनीहरूलाई आफूहरूले निर्वाचनमार्फत सार्वभौमसत्ताको उपयोग गरिरहेको ज्ञान छ ? के उनीहरूमा आफ्नो प्रतिनिधि कस्ता छान्ने भन्ने राजनीतिक चेतना छ ? के उनीहरू प्रजातन्त्रको प्राण— आवधिक निर्वाचनहरूले आफ्नो जीवन बदलिन्छ भन्ने विश्वास गर्छन् ?
यिनै प्रश्नको सेरोफेरोमा भर्खरै सम्पन्न आम निर्वाचनको दोस्रो चरणको मतदानको दिन नजिकिँदै गर्दा कुराकानी गरिएका तीन पात्रको कथा यहाँ प्रस्तुत छ। उनीहरूको व्यक्तिगत गोप्यताको अधिकारलाई कदर गर्दै नाम र ठेगाना गोप्य राखिएको छ।
पात्र एक
उनी ४६ वर्षे अधबैंसे हुन्। जातले क्षत्री। दुई श्रीमती, चार छोराछोरीसहित सुकुमबासी बस्तीमा बस्छन्। बस्ती नदी किनारमा छ। नजिकै नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइट पनि छ। २१ वर्षदेखि उनी घर बनाउने श्रमिकको रूपमा काम गरिरहेछन्। अहिले ससानो ठेक्का लिन्छन्। मासिक १५÷२० हजार जति कमाउँछन्। केही बाख्रा पालेका छन्। उनको आम्दानीको स्रोत यत्ति नै हो। यही आम्दानीमा चार छोराछोरीलाई बोर्डिङ स्कुल पढाउँछन्। घर खर्च चलाउँछन्। अहिले बसिरहेको घर, घडेरीबाहेक यिनीसँग अरू कतै जग्गाजमिन छैन। उनी सानै छँदा बुवाको निधन भयो। आमाले अर्कै घर गरिन्। उनी कसैकोमा धर्मपुत्र बनेर पालिए। अलि जान्ने भएपछि केही समय भारततिर गए। अनि नेपाल फर्केर ज्यामी काम गर्न थाले। पहिला डेरा गरेर बस्थे। अहिलेको बसिरहेको ठाउँमा सुकुमबासी बस्ती बस्दैछ भन्ने चाल पाएपछि सुरुमै जमिन रोके। घर बनाए। परिवारलाई डेराबाट घरमा सारे।
बर्खामा उर्लिने नदी किनारमा नगरपालिकाको डम्पिङ साइटको गन्ध सहँदै बाँच्नुका चुनौती कम्ता छैनन्। कुनै पनि सहकारी वा बैंकमा बचत छैन। घरपरिवारमा कोही बिरामी परिहाल्यो भने ऋण गर्र्नु वा भएको बाख्रा बेच्नुको विकल्प छैन। दुई वर्षअगाडि राति सुतिरहेको बेलामा उनलाई सर्पले टोक्यो। त्यति बेला त उपचारले बाँचे तर अहिले सर्पले टोकेको औंला काट्नु परेको छ। काम गरिखाने मान्छेको औंला काटिनु भयावह हो। त्यो घटना बताउँदा उनको अनुहार मलिनो हुन्छ। उनैलाई थाहा छ, हरेकपटक आँखाबाट आँसु झर्न नदिन कति कष्ट गर्नुपर्छ। कुनै समय उनी पनि एक राजनीतिक दलमा क्रियाशील थिए। पछि लाग्यो— पार्टीले केही गर्दैन, अनि पार्टी छोडे। अहिले भएको चुनाव प्रतिनिधिसभा र प्रदेशसभा गठनका लागि हो भन्ने पनि थाहा छ। तीनवटा मतपत्रमा भोट हाल्ने हो भन्ने पनि थाहा छ। भोट हाल्ने मतदान केन्द्रसम्म जाने मुडमा पनि छन्। तर, उनलाई चुनावले केही फेरिन्छजस्तो भने लाग्दैन। आफ्नो जीवनमा कुनै पनि दिन सुख नभएको बताउने उनी चुनावले आफ्नो जीवनमा केही पनि परिवर्तन ल्याउला भन्ने एकरत्ति विश्वास राख्दैनन्।
पात्र दुई
जातले उनी विश्वकर्मा हुन्। उमेरले ५१ टेकिसक्यो। ठेलागाडामा मकै पोली बेच्छन्। जीवनयात्राको लामो कथा छ उनीसँग। हरेक दुई दिनको अन्तरमा बिहान ३ बजे उठेर लगभग सय किमी पर पुग्छन् गाडीमा। त्यहाँबाट मकै किनेर ल्याउँछन्। र, त्यहीँ पोली बेचेर केही नाफा कमाउँछन्। श्रीमती, पाँच छोरी र एक छोरासहित त्यही सुकुमबासी बस्तीमा बस्छन्। तीन छोरीको बिहे भइसकेको छ। सानी छोरी अपांगतायुक्त छिन्। छोरीको उपचारका क्रममा ऋण लाग्यो तैपनि छोरी निको भइनन्। उचित वातावरण नपाएर छोराले स्कुल छोडिसकेको छ। बस्तीका मान्छे भन्छन्, बरालिएर कवाड उठाउँदै हिँड्छ।
टिनैटिनले बारेको, टिनले नै छाएको उनको घरमा एउटा मात्रै ढोका छ। बस्तीमा अहिले पानी र विद्युत् आएको छ। तर, उनको घरसम्म पुगेको छैन। पानी जडान गर्न २४ हजार रुपैयाँजति लाग्छ। बिजुलीका लागि मिटर किन्नुपर्छ। दुवैको लागि उनीसँग पैसा छैन। त्यसैले छिमेकीसँग मासिक दुई सय तिरेर पानी खान्छन्। अनि मासिक दुई सय तिरेर एउटा बिजुलीको बल्ब बाल्छन्।
आफ्ना तीन भाइमध्ये यिनी माइला हुन्। सानैदेखि यिनी लामो समय भारत बसे। आमाबुवाको निधनपछि भारतबाट फर्के। रहलपहल सम्पत्ति पनि दाजुभाइले सकिएको बताएपछि विकल्प खोज्नुको विकल्प रहेन उनीसँग। आफूले ल्याएको पैसाले १० कट्ठाजति जग्गा किने सुकुमबासी बस्तीमै। बाँच्नका लागि जंगलबाट दाउरा ल्याएर, कोइला बनाएर बेच्न थाले। यसै क्रममा तीनपटक जेल पनि परे। बीचैमा उनलाई हर्निया भयो। उपचारका लागि साहूसँग ऋण लिए। पछि ब्याज तिर्न पनि सकेनन्। साहूले हरेक दिन पैसा मागेर अत्याउन थाल्यो। बाध्य भएर साहूलाई जमिन बुझाएर, रहलपहल पैसा बोकेर यिनी नयाँ ठाउँ आए।
उनलाई लाग्छ, जीवन हिउँदमा हिउँसँग भाग्ने चराजस्तै त हुँदो रहेछ। आफ्नो पुरानो जमिन सस्तोमा साहूलाई बुझाउनु परेको सुनाउँदा उनको आँखाबाट रोक्दारोक्दै पनि आँसु छचल्किहाल्छ। भविष्यमा यीभन्दा राम्रा दिन आउलान् भन्ने कुनै आशा छैन उनीसँग। उनकी श्रीमतीसमेत भविष्यबारे जिज्ञासा राख्दा भन्छिन्, ‘अझैसम्म दुःखले छोडेन। भोलिका दिनमा झनै दुःख पर्लाजस्तो लाग्छ।’ चुनाव त आयो तर यसले जीवन फेर्ला भन्ने उनलाई केही आशा छैन। तैपनि भोटसम्म खसाउन जाने सोचमै छन् दुवैजना। हुन त कोको उठेका छन् भन्ने पनि थाहा छैन। कसलाई दिने भन्ने सोचेका पनि छैनन् जबकि भोट हाल्ने तरिका पनि थाहा छैन।
पात्र तीन
उनी अलि फरक छन्। रुकुमका क्षेत्री हुन्। माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा पनि सहभागी भएका थिए। उनकै भनाइअनुसार पालुङटार बैठकपछि पार्टीप्रति उनको मन मरयो र उनी पार्टीमा सक्रिय छैनन्। रुकुमबाट उनको परिवार तराईको एउटा गाउँमा बसाइँ सरयो। त्यहाँ उनले आठ कट्ठा जति खेत किने। बाटोको छेउमा एउटा घडेरी पनि किने। त्यहाँ पसल गरेका छन्। तर, अहिले अर्को जिल्लाको सुकुमबासी बस्तीमा आएका छन्। एक्लै बस्छन्। उनको आर्थिक हैसियत अन्य पात्रको भन्दा केही फरक छ। मासिक आम्दानी धेरै नभए पनि अर्को जिल्लामा एक टुक्रा खेत छ। छोराहरू पनि ठूला भइसकेका छन्। केही कमाइ पनि हुन्छ। युद्धका कारण उत्पन्न केही सामाजिक समस्याका कारण उनी रुकुम फर्कन चाहन्नन्।
लामो प्रजातान्त्रिक अभ्यासमा पनि सामाजिक–राजनीतिक हैसियत गुमाएका आमनागरिकको भोट केवल साधन बन्दो रहेछ।केही हैसियतवालालाई विजयी बनाउने साधन। मान्छेको यो निर्जीवीकरणको प्रक्रिया चलिरहँदासम्म कसरी प्रजातन्त्रको आयु लामो होला र ?
बस्तीमा उनी अलि पछि आएका हुन्। सुरुमै जमिन रोकेका पनि होइनन्, किनेका हुन्। केही हदसम्म राजनीतिक चेत पनि छ उनमा। माओवादी विद्रोहमा सहभागी भएका कारण नेताहरूबारे पनि केही थाहा छ। अहिले चुनावमा आयोजना भएका जुलुसमा आफूमात्र सहभागी भएनन्, बस्तीका मान्छेलाई सहभागी पनि गराए। सहभागी हुँदा पाएको टिसर्ट बडो गर्वका साथ देखाउँछन्।
निर्वाचन आयोगले टिसर्ट छाप्न कडा रोक लगाएपछि पार्टीहरूले झन्डा र चुनाव चिह्नबिनाको तर एउटै रङको टिसर्ट बाँडे। एउटा पार्टीले रातो बिट भएको सेतो टिसर्ट र रातो हाफ ज्याकेट बाँड्यो भने अर्को पार्टीले नीलो रङको।उनलाई चुनावबारे, भोट हाल्ने तरिकाबारे थाहा छ। तर, चुनावले खासै परिवर्तन होलाजस्तो भने यिनलाई पनि लाग्दैन। अरूभन्दा अलि फरक, उनलाई सङ्घीय व्यवस्थाप्रति भने आशा छ। कुराकानीका क्रममा उनले पटकपटक दोहोरयाए, ‘संघीय बनेपछि भने केही हुन्छ। के हुन्छ थाहा छैन तर पहिलाभन्दा केही फरक हुन्छ।’
उनको अर्को रोचक पक्ष पनि छ, उनी भोट हाल्न इच्छुक छन्। तर, केही निकट आफन्त र साथीहरू चुनाव बहिष्कार गरेको पार्टीमा सहभागी भएका र उनीहरूले दबाब दिएका कारण भोट हाल्न डराइरहेका छन्।
समानता र विविधता
यी तीन पात्र एकै सुकुमबासी बस्तीका प्रतिनिधि पात्रहरू हुन्। यी तीनको जीवनकथा र जीवन–दृष्टिकोणबाट धेरै निष्कर्ष निकाल्न त नसकिएला तर उनीहरूको जीवनमा केही समानता भने पाइन्छ। तीनैजना पात्र चुनावले जीवन परिवर्तन गर्ला भन्नेमा विश्वस्त छैनन्।
तीनैजना सामाजिक, राजनीतिक हैसियतले फरक छन्। अघिल्ला दुई पात्र भूमिहीन हुन् भने निकट भूमिहीन (नियर ल्यान्डनेस) हुन्। दोस्रो पात्र जातीय संरचनामा दबाइएका पात्र हुन् जसका कारण उनीसँग सामाजिक पुँजी अरूको भन्दा कम छ। अरू दुवै पात्रसँग धारा र विद्युत् छ भने उनी त्यसबाट विमुख छन्। उनमा अन्य दुई पात्रभन्दा राजनीतिक जानकारी पनि कम छ।
सामाजिक र राजनीतिक स्तर फरक हुँदाहुँदै पनि तीनैजनामा एउटा बडो गज्जबको समानता छ। तीनैजना भोट हाल्न भने उत्सुक छन्। जब कि तीनैजना चुनावले परिवर्तन गरिहाल्ला भन्नेमा आश्वस्त छैनन्। यस्तो किन भइरहेछ ? किन मानिस आफूले आशा नगरेको चुनावमा भोट हाल्न भने जाँदैछ। बस्तीका एक अर्का प्रौढ मानिसले भने, ‘सबै बहकाउमा लागेका छन्। बहकिएरै भोट दिन जाने हुन्। कसलाई भोट हाल्ने पनि बहकिएरै दिने हुन्।’ अर्थात्, चुनाव आफ्नो सार्वभौमसत्ताको अभ्यास हो भन्ने थाहा भएर होइन कि रमाइलो जस्तो, मेला पर्वजस्तो लागेर भोट हाल्ने हुन्। सिंगो जीवन रूखो भएको मानिसका लागि चुनाव रमाइलो भएको छ। मनोरञ्जन भएको छ। कुनै खेलजस्तो उत्सव भएको छ।
मान्छेको वस्तुकरण
मानिसको राजनीतिक चेतनास्तर उसको सामाजिक–राजनीतिक हैसियतले निर्माण गर्छ। सामाजिक–राजनीतिक हैसियत अर्थराजनीतिले निर्माण गरेको सामाजिक संरचनाको गाँठोमा अल्झेको हुन्छ। कृषिप्रधान समाजमा जसको जमिनमाथि स्वामित्व छ उसको नै सामाजिक–हैसियत उँचो हुन्छ। राज्य संयन्त्रसँग उसको नै प्रत्यक्ष अन्तरक्रिया भइरहेको हुन्छ।
२०१५ सालमा निर्वाचन हुँदा त्यति बेलाको सामाजिक संरचना कृषिप्रधान नै थियो। पञ्चायतकालमा सामाजिक–राजनीतिक हैसियत गाउँका मुखिया र जिम्दारको उँचो थियो। उनीहरू नै राज्य संयन्त्रको पहुँचमा थिए। उनीहरूलाई नै राजनीतिक गतिविधिबारे थाहा हुन्थ्यो। राज्यका निर्णयहरू थाहा हुन्थ्यो। उनीहरू नै गाउँमा सभा बस्थे।
गाउँ तहका सबैजसो निर्णय उनीहरूकै माथिंगलको चिन्तनले हुन्थ्यो। जमिनको पहुँचमा नहुनेहरू तिनै मुखिया वा जिम्दारको जमिनमा आफ्नो श्रम सस्तोमा बेचेर बाँचेका हुन्थे। उनीहरूको सामाजिक–राजनीतिक हैसियत हुने कुरै भएन। सामाजिक–राजनीतिक हैसियत नै नभएकाहरूले आफ्नो सार्वभौमसत्ताको प्रयोग गर्ने चेतना विस्तार गर्न कहाँ पाउनु ?
सामाजिक–राजनीतिक हैसियत नभएकाहरूको भोट केवल प्रयोग हुँदो रहेछ। उनीहरूको सार्वभौमसत्ता केवल नाटक बन्दो रहेछ। लामो प्रजातान्त्रिक अभ्यासमा पनि सामाजिक–राजनीतिक हैसियत गुमाएका आमनागरिकहरूको भोट केवल साधन बन्दो रहेछ। केही हैसियतवालालाई विजयी बनाउने साधन।
अहिले त मानिसहरूको वस्तुकरण भइरहेको रहेछ। मान्छे मान्छेबाट बदलिएर केवल भोट बनिरहेको रहेछ। केवल एक भोट। चुनावले सीमान्तकृत, सामाजिक सोपानको पिँधका, श्रम बेचेर बाँच्ने श्रमजीवी मान्छेहरूलाई केवल एक भोट गराइरहेछ। राजनीतिमा पुँजीको प्रभाव बढ्दै जाँदा, पैसावाल मानिसमात्र उम्मेदवार हुने परिस्थिति सिर्जना भइराख्दा झनै डरलाग्दो तरिकाले व्यक्तिको वस्तुकरण भइरहेको छ।
माथि उल्लेख गरिएका पात्रजस्तै सामाजिक–राजनीतिक चेत कम भएका मानिस भोट दिन जान्छन्, घन्टौं लाम लागेर तँछाडमछाड गर्दै भोट पनि हाल्छन् र बहकाउमा लागेर कुनै निश्चित चुनाव चिह्नका लागि मारपिट गर्न पनि तयार हुन्छन्। राजनीतिक पार्टीका लागि भन्दा पनि चुनाव चिह्नका लागि। किनभने पार्टीभन्दा पनि चुनाव चिह्न नै प्यारो हुन्छ। तर, त्यो भोटमा लुकेको आफ्नो सार्वभौम शक्तिबारे अनभिज्ञ नै रहन्छन्।
हो, निर्वाचन आयोगले चुनावलगत्तै प्रकाशन गर्ने तथ्यांकमा मतदाताको प्रतिशत बढेकै देखिन्छ। प्रजातन्त्रको लामो अभ्यास गरेका देशभन्दा पनि धेरै नै मतदाता प्रतिशत देखिन्छ। तर, गहिराइमा हेर्दा मान्छे वस्तु बनेर भोट दिइरहेछन्। व्यक्ति केवल भोट भइरहेछन्। मान्छेको यो निर्जीवीकरणको प्रक्रिया चलिरहँदासम्म कसरी प्रजातन्त्रको आयु लामो होला र ? अनि वस्तुकरण भएका मानिसमा चुनावप्रति कुनै आशा नरहनु पनि अस्वाभाविक होइन होला ?
भूपिको यो कवितांश त्यसैले आजपर्यन्त जीवित नै छ—
‘म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ।’