टेम्स किनारमा सेक्सपियर

टेम्स किनारमा सेक्सपियर

‘टोक्योमा पनि रहेछ नि ग्लोब थेटर, योभन्दा पनि पुरानो हो रे । लास्ट क्रिसमसमा म उतै थिएँ, तैपनि किन थाहा नपाएको होला है मैले ।’ हँसिली जापानी केटीले उसको गोरे साथीसित फुस्फुसाएको चाहेर हो वा नचाहेर मेरो कानमा घरिघरि घर्षण भइरहन्छ । कारण, ऊ ठीक मेरो अघिल्तिर उभिएकी छे । कुराकानीले बुझिन्छ, उनीहरू लन्डनबाहिरको कुनै विश्वविद्यालयका सहपाठी हुन् । उनीहरू साथीमात्रै हुन् सायद मायालु जोडी भएका भए हामीलाई सजिलोसित नाटक हेर्न कहाँ दिन्थे र ! होची केटीका ओठभन्दा पहिला आँखा बोल्छन् । तर, गोरे केटो अत्यन्त कम बोल्छ ।

सेक्सपियर ग्लोबमा छु । टेम्स नदीको दक्षिणी किनार साउथ¥याकमा अवस्थित यो थिएटर । महान् नाटककार सेक्सपियर र उनका साथीहरूबाट सोह्रौं शताब्दीमा निर्मित ग्लोब थिएटरको ढाँचा र स्वरूपको झल्को दिने गरी निर्माण गरिएको छ । सेक्सपियरियन ग्लोबको वास्तविक अवस्थितिभन्दा करिब दुई सय मिटरमात्रै टाढाको दूरीमा रहेको यो थिएटरमा मेरो छैटौं प्रवेश थियो । संयोगले सेक्सपियरकै नाटक परेछ, ‘ट्विएल्भ्थ नाइट्स’ । तर यो नाटकको दर्शन अघिल्लाभन्दा फरक किन थियो भने एलिजाबेथियन ‘न्यून आयका दर्शकहरू’ले जस्तै म पनि आँगनमा उभिएर नाटक हेरिरहेको थिएँ ।

उभिएर नाटक हेर्नुको मज्जा यो पनि हुँदो रहेछ— आफूसँग उभिएका अरू दर्शकसित पनि आत्मीयता गासिँदो रहेछ । एकअर्काको सुविधाको ख्याल गर्ने, हलुका र छोटा विचारहरू बीचबीचमा आदानप्रदान गर्ने त्यति नभए पनि बेलाबेलामा आपसमा मुस्कान छरिरहने । दाहिनेतिरका एक जोडी वृद्धवृद्धा, अगाडिपट्टिका ती अंग्रेज युवक र जापानी युवतीको जोडीका बीच छरछिमेकीको सम्बन्ध कायम भइसकेको छ । मेरो अर्कोपट्टि बगलमै तीनवटी किशोरी छन् । तीमध्ये कृष्णवर्णीचाहिँ अत्यन्तै चकचके छे । जब ऊ नाटकमा माल्भोलियोको भूमिका गर्ने खिरिलो ज्यानको सानो कलाकार मञ्चमा देखा पर्छ, ऊ बेपत्तासित हाँस्छे । केही क्षणअघि मैले सेल्फी खिच्दा मेरो पछिल्तिर आएर ऊ पो पोज दिइरहेकी थिई । हँसिलो अनुहारकी बूढी आमैचाहिँ नाटकका महŒवपूर्ण संवादमा आफैंले पनि बोली मिलाइरहेकी छन् । उनी मात्रै किन धेरै दर्शकले कलाकार सँगसँगै संवाद दोहो¥याइरहेको पनि देखेँ— केटाकेटीमा हामीले फिल्मका डायलग कलाकारसँगै बोलेजस्तो । तिनमा किशोरकिशोरीको संख्या पनि ठूलो थियो । यति लामालामा संवाद पनि कसरी सम्झिरहेका होलान् जस्तो हैरानी पनि लाग्ने ।
त्यसो त सेक्सपियरका नाटक विद्यालय तहदेखि नै पढिँदै, मञ्चन गरिँदै आएका छन् पुस्तौंदेखि । हुन पनि बेलायती पाठ्यक्रममा सेक्सपियर मात्रै एउटा यस्ता लेखक हुन्, जसलाई अनिवार्य शिक्षामा पढ्नैपर्छ । सेक्सपियरको बारेमा लामो अध्ययन गरेका जोनाथन बेटको विश्वास छ, ‘विलियम सेक्सपियर यी दुई शब्द र उत्कृष्ट साहित्यका पर्यायवाची शब्द हुन् ।’ बेलायती जनजीवनमा सेक्सपियर हरेक क्षेत्रमा घुलिएर आएको मैले आफैं पनि महसुस गरेको छु । तर हरेकपटक म बिल्कुलै भिन्नभिन्न अनुभूति गरेको थिएँ । पहिलो नाटक ‘किङ लियर’ हेर्दा मलाई यो रंगमञ्चको वास्तविक कालीगढी र संरचना सेक्सपियरकै पालाको हो भन्ने भ्रमले गजक्क पर्दैमा समय बितेको थियो । उसमाथि सेक्सपियरको जन्मस्थल स्टार्डफोर्ड अपन एभनको रोयल सेक्सपियर कम्पनी थिएटरमा नाटक हेरेलगत्तै यता पस्दा त हो न हो अब सेक्सपियरको बारेमा त विद्वतै हासिल गरिसकेँजस्तो अनुभूतिले फुलेर नाटकको केही मज्जै भएन । पछिपछि पनि सिटको असजिलो बसाइले नाटकमा भन्दा आफ्नो असुविधामा ध्यान जाने गथ्र्यो । हुन पनि एलिजावेथियन झल्को दिन काठका असजिला बेन्चीहरूका कारण दर्शकले आलोचना पनि गर्छन् । त्यसो त ओछ्याउनका लागि एक पाउन्ड तिरेर चकटी लिन पनि नपाइने होइन । तर, अरू सुविधाजनक थिएटर जाने बानी लागेकालाई सायद यो हैरानीको कुरा पनि हुन सक्छ । तर, सस्तो टिकटमा उत्कृष्ट नाटक हेर्न पाइने र नाटकको सिंगो इतिहासलाई संकेत गर्ने भएकाले यो मेरानिम्ति भने सर्वाधिक प्रिय ठाउँ भइरह्यो ।

काठका असजिला कुर्सीमा कक्रक्क परेर परबाट नाटक हेर्नुभन्दा यसरी स्टेजमै टाँसिएर नाटक हेर्नुको अर्कै मज्जा हुँदा ेरहेछ । टिकट पनि असाध्यै सस्तो । कलाकारकै अगाडि उभिएर तीसित गाँसिएर अभिनय गरिरहेछु जस्तो महसुस हुने । बेलाबेलामा जोडजोडले चिच्याउने कलाकारका मुखबाट उछिट्टिएको अमृत बिन्दु दर्शकका शरीरलाई स्पर्श गर्न पनि आइपुग्ने ! उसमाथि कुनै कुनै चरित्रले सन्दर्भ मिलाएर दर्शकसितै कुरा गर्नसमेत भ्याउने । थाहा छैन मलाई, नाटकमा यो स्वतन्त्रता हुन्छ कि हुँदैन । तर, उभिएर नाटक हेर्ने मजस्ता सयौं दर्शकलाई यो उभिनेहरूले पाएको बोनस वा उपहारजस्तो लागिरहेथ्यो मलाई । म आज अगाडिका कष्टकर बसाइ सम्झिरहेथेँ । नाटक हेर्नुको मज्जाभन्दा बढी ध्यानचाहिँ असजिलो बसाइमा जाने ! उसमाथि उभिनुभन्दा सातआठ गुना महँगो टिकट । त्यो पनि साता दिन अगाडिदेखिको बुकिङ । थिएटरको आधिकारिक जानकारीमा यहाँ आठ सय ५७ सिट छन् र बीचको आँगनमा सात सय जनासम्म उभिन सक्छन् । जहिले जहिले म आएको छु, सिटहरू त भरिभराउ हुन्छन् नै; सँगसँगै उभिनेको पनि घुइँचो हुन्छ ।

दुनोट आकारको थिएटरको बीचमा खुला छानो छ । सिट र स्टेजलाई छानोले छहारी दिए पनि आँगनमा उभिएकाहरू भने बिल्कुलै खुला आकाशमुनि छौं । पूरै प्राकृतिक— ओपन एअर थिएटरजस्तो । गाउँले थिएटरहरू सम्झन्छु । सानो बेलामा दाज पुस्ताले दसैंतिहारमा देखाउने गरेका नाटकहरू सम्झन्छु । त्रिपाल टाँगिएर खाट र बेन्चीहरूमाथि उभिएको रंगमञ्च, दुईतिर मेन्टोल झुन्ड्याइएको, बीचमा रंगीचंगी कपडाको पर्दा । चिसो चौरमा बसेर उत्साहपूर्वक नाटक हेर्ने सयौं दर्शकका भीडमा कतै कोचिएका हामी साना भुराभुरी । अनि अलिक ठूला भएपछि दाजुहरूलाई विस्थापित गरेर उक्लिएको हाम्रो पुस्ता । वातावरण उस्तै, खालि मेन्टोलको ठाउँमा बिजुलीको चिमबाहेक । त्यो मीठो विगतलाई सम्झिएर मुस्कुराएछु ।

काठका असजिला कुर्सीमा कक्रक्क परेर परबाट नाटक हेर्नुभन्दा यसरी उभिएर, स्टेजमै टाँसिएर नाटक हेर्नुको अर्कै मज्जा हुँदो रहेछ । टिकट पनि असाध्यै सस्तो ! कलाकारकै अगाडि उभिएर तीसित गाँसिएर अभिनय गरिरहेछु जस्तो महसुस हुने ।

हरेक सोच, विचार र सोखका मानिसहरूका तिर्खालाई तुष्टि दिनसक्ने विविधता हुनु नै लन्डन सहरको विशेषता लाग्छ मलाई । यहाँको बजारशास्त्रीय विशेषतालाई अलग्याएर हेर्दा मलाई यो थिएटरको सहरजस्तो लाग्छ । लन्डन पस्दाका सुरुआती दिनमा मलाई सबैभन्दा बढी आकर्षण गर्ने कुरा यही थियो । यहाँका मानिसहरूको थिएटर संस्कृति देख्दा र सुन्दा मनै उचालिन्थ्यो । नेपालमा आफू हुन्जेल एउटै गुरुकुल थियो, जहाँ सम्भवतः अत्यन्तै न्यून संख्यामा मात्रै नाटक छुटाइयो होला । गुरुकुलले नाटकको आदत बसाइदिएको थियो । त्यो आदत यहाँ आएपछि झनै जग्मगाएको थियो । तर, यस सवालमा पनि उत्साही हुनेभन्दा खिस्रिक्क पर्ने ठाउँ धेरै निस्किए । राम्रा थिएटरका टिकट यति महँगा हुने कि (मेरो कमाइको सापेक्षतामा) आँट नै नआउने । उसमाथि राम्रा नाटकको बुकिङ त महिनौंअघि भइसक्ने । सुरुसुरुमा सस्ता टिकट खोजेर बेक्कारका नाटक पनि हेरियो । भद्दा र वाक्कलाग्दा सेक्स कमेडी र क्लासिक्स उपन्यासलाई नाटकीकरण गरिएका यस्ता प्रदर्शनले नाटक आस्वादनको मेरो तृष्णा पूरा भइरहेको थिएन । तर, राम्रा नाटकका प्रदर्शनीसम्म पुग्न धेरै कुराले बाधा दिइरहन्थे । कहिलेकाहीँ त लाग्थ्यो ‘थिएटर एलिटहरूको सोखको विषय हो ।’ त्यसो त बेलायतमा थिएटर धनीमानी, आफूलाई सुसंस्कृत मान्ने गोरा मानिसहरूको मात्रै पहुँचको विषय बनेको कुरालाई लिएर यहाँ बेलाबेलामा बहस भएको पढेको र सुनेको पनि थिएँ । आफैंले भोगेपछि त यो पक्का पनि लाग्यो, पहुँचको कारणमात्रै होइन, अक्सर क्लासिक्समा रमाउने यिनीहरूको रंगमञ्च देख्दा यो विश्वास अझै प्रबल छ ।

मलाई यसको सैद्धान्तिक यथार्थ अथवा बजार वा समाजशास्त्रीय अवस्थासित सरोकार भएर पनि सरोकार थिएन । मतलब यो मेरो पहुँचभन्दा बिल्कुलै बाहिरको कुरा भयो । म त एउटा नाटक हेर्न रहर गर्ने मान्छेमात्र थिएँ र त्यही रहर पूरा गर्न कल्पिरहन्थेँ । र, यही खोजीले मलाई सेक्सपियर्स ग्लोबसम्म ल्याइदिएको थियो । यो थिएटरले मेरो रहरलाई केही हदसम्म पूरा गरिदिएको पनि थियो ।

तर, मैले लामो समयसम्म नाटककोे ‘इन्जोय’ गर्न सकिरहेको थिइनँ । एउटा त भाषा र ज्ञानगत कारण थियो । नाटकमा प्रयोग भएका धेरैै किसिमका ‘ह्युमर’ अथवा कतिपय सामाजिक सांस्कृतिक एवं इतिहासगत सन्दर्भ समझमा नआउने एउटा समस्या थियो । अर्को मेरो लघुताभाष हो यो, या नोस्टालजिया अरू केही नाम छन्— म आफ्नै अनौठो समस्याले ग्रसित थिएँ ।

सुरुसुरुमा म नाटकका पात्रहरूमा नेपाली कलाकारहरू आरोपित गरेर हेर्थेँ, आफूले हेरेका वा मन पराएका कलाकारहरू । नेपालमा छँदा सचेत रूपमा गुरुकुलबाहेक कहीँ नाटक हेर्न पाइएन । प्रज्ञाप्रतिष्ठानमा बेलाबखत हेरिएका नाटकमा मनले कहिल्यै अपनत्व महसुस गरेन । आरोहणको ‘आरुका फूलका सपना’को विशेष प्रदर्शनी पहिलेको राष्ट्रिय नाचघरमा छापामार शैलीमा हेरेको थिएँ, त्यसको आफ्नै रमाइलो कथा छ । त्यसैले मैले गुरुकुल र त्यससित जोडिएका भन्दा बाहिरका कलाकारका नाटकहरू मुस्किलले हेरेको छु । जब यहाँ नाटक हेर्छु, मेरा आँखामा गुरुकुल र तिनका कलाकारहरूका हाउभाउ, भागभंगी नाच्न थाल्छन् । सबैभन्दा पहिला सुनिल पोखरेल नै आउँछन् । अनुप बराल पनि सम्झिरहन्छु । घिमिरे युवराज सूत्रधार भएर आउँछन् । कहिलेकाहीँ त यस्तो हुन्थ्यो, रंगमञ्चमा म हाम्रा निशा शर्मा, सरिता गिरी, सौगात मल्ल, अरुणा कार्की, सुरेश चन्द, भोला सापकोटा, राजन खतिवडा आदिलाई पो देख्थेँ । सुरुसुरुका नाटकहरू मेरो समय यही तन्द्रामै बित्थ्यो । धेरै समय लाग्यो मलाई यो ह्याङबाट बाहिर निस्कन ।
मेरो विचारमा नाटकको दर्शक हुनु आफैंमा कलाकार हुनु हो । मञ्चमा कलाकारको प्रस्तुति र संवादमा गाँसिएर दर्शक पनि उनीहरू सँगसँगै नाटक गरिरहेको हुन्छ । नाटक हेर्दा रंगमञ्चबाट आउने सानाभन्दा साना आवाज र क्रियाले मेरा इन्द्रियलाई बाँधेर राख्छन् । मलाई कलाकारका हातगोडाभन्दा तिनका आँखा र ओठका चालले बढी आकर्षित गर्छन् । तिनलाई तिनका अभिनयमा नजिकबाट नियाल्दा मेरा रोम रोम पर्यन्तमा एउटा यस्तो तरंग फिँजारिन्छ कि त्यसले अनौठो आनन्दको अनुभूति दिएर जान्छ । र, त्यो अनुभूति घरसम्मै आइपुग्छ । कलाकार र दर्शक बीचको बोलचालबिनाकै एउटा सांकेतिक आत्मीयता हुन्छ । दर्शकका आँखा कलाकारमा र कलाकारका आँखा दर्शकमा एकाकार भएका हुन्छन् । कलाकारले आफ्नो भूमिकामार्फत पोख्नुपर्ने संवेगलाई छरिरहेका हुन्छन् र तिनलाई टिपेर दर्शकले प्रत्युत्तर त्यही भाव र संवेगमा दिइरहेका हुन्छन् । मलाई नाटकको सबैभन्दा सुन्दरतम पक्ष यो लाग्छ ।

बिरिर्र पानी पर्छ । यहाँको मौसम अघिसम्म त उज्यालो थियो । सिटमा बस्नेहरू त सुरक्षित छन् । हामी उभिनेको बिजोग हुन्छ कि क्या हो, जानु कि बस्नु । मैले छट्पटाएर हेरेँ । तर, कोही हलचल गर्ने मुडमा थिएन । टोपी भएका जम्पर ज्याकेट लगाउनेहरूले टाउको ढाके । कसैले झोला टाउकोमाथि पनि राखेको देखियो । मसितै उभिएकी आमैले आफ्नो रेनकोटको फस्नर बन्द गरिन् र टाउको छोपिन् । अनि मतिर फर्किन् र आफ्नो रोनकोटको बाहुला देखाएर इसारा गर्दै मलाई इख्याएझैं ठट्टैमा मुस्कुराइन् । मैले ‘प्राक्टिकल’ भन्दै टाउको हल्लाइदिएँ । ‘चिन्ता नगर, यो त नाटककै एउटा दृश्य हो । एकैछिनमा अर्को दृश्य सुरु भइहाल्छ ।’

‘बाउ, कति मज्जाको कुरा ।’ संयोग पनि त्यस्तै नाटकमा ओरसिनोको प्रेम सन्देश लिएर ओलिवियाकहाँ पुगेर फर्किरहेको सेजारियोको दुःखद अनुभूति छ । मानौं त्यसलाई अझै दुःखद बनाउन प्रकृतिले पनि साथ दिएजस्तो । कसरी एकाकार हुँदारहेछन् मानिसहरू नाटकसँग । मैले यसका परिकल्पनाकारलाई धन्यवाद दिएँ मनमनै । सिटमा बसेको भए यो किसिमको अलग्गै अनुभूति मिल्थ्यो त ?

सोह्रौं शताब्दीको एलिजाबेथियन समयको झल्को दिने गरी थिएटरको छानो छ्वालीले छाइएको छ । यसमा काठ र कंक्रिटमात्रै प्रयोग गरिएको छ । स्टिलसमेत प्रयोग गरिएको छैन । उतिबेलाका जस्तै फरकफरक लेबलहरू छन् भने यो उभिएर नाटक हेर्न मिल्ने संरचना पनि उही समयकै उपज हो रे । मतलब सेक्सपियरको समयमा कम पैसा हुनेहरू यसैगरी उभिएर नाटक हेर्ने गर्थे भन्ने पनि बुझियो । जे होस्, १६औं शताब्दीका एलिजाबेथियन थिएटरहरूकै आभास लिन सकिँदो रहेछ उभिएर नाटक हेर्दा । अझ सबैभन्दा रमाइलो कुरा अर्धखुला आकाशमुनि संवेदना र मुस्कानको मि श्रणले पैदा गर्ने अर्कै किसिमको गुञ्जन दर्शकदीर्घामा प्रत्यक्ष महसुस गरिने रहेछ । झन् उभिँदा त एकअर्काको श्वासको गति एवं संवेगको तीव्रता दुवैको महसुस हुनुले नाटकको वास्तविक अर्थलाई बल्ल बुझाइरहेको थियो मलाई ।

सेक्सपियरको ग्लोब थिएटरसँगको किस्सा पनि बडो रमाइलो छ । एभन नदीको किनारमा उभिएको सानो सहरबाट उदाएका तन्नेरी सेक्सपियरको प्रतिभाले फराकिलो आकाश खोज्यो । उनी लन्डन आइपुगे । विभिन्न थिएटर ग्रुपसित मिलेर काम गरे । मुख्य रूपमा उनी त्यति बेलाका उदाउँदा लेखक थिए र आवश्यक परेको खण्डमा कहिलेकाहीँ सानातिना भूमिकाहरूमा पनि देखा पर्थे । उनी ‘कर्टन थिएटर’सँग जोडिए । तर, पछि त्यहाँ केही समस्या आयो । क्रिसमसको मौका पारेर सेक्सपियर र उनका साथीहरूले थिएटर बेचिदिए र त्यहाँका काठपात निकाले । हिउँदमा टेम्स नदीमा यति ठाँटो जम्थ्यो कि मानिसहरू आफ्ना जुत्ताका तलुवामा जनावरका हड्डी टाँसेर त्यसमाथि हिँड्थे । काठपात पार गराउन सेक्सपियरहरूले नदीको बहावलाई कुर्नै पथ्र्याे । जब नदी सफा हुँदै गयो, उनीहरूले पानीमार्फत त्यसलाई टेम्सको दक्षिणी किनार अर्थात् अहिलेको साउथवकमा सारे र टेम्सको यही किनारमा सात महिना लगाएर हजारौं दर्शक अट्ने गरेर थिएटरको निर्माण गरे, जसलाई ग्लोब थिएटर नाम दिइयो । पछि हेनरी सातौंको प्रदर्शनीका क्रममा आगलागी भएर ध्वस्त भयो । तर, एक वर्षभित्र यसको पुनर्निर्माण भएपछि सेक्सपियरको जीवनकालभरि यो सुचारु नै थियो । सेक्सपियरको मृत्यु भएको २६ वर्षपछि १६४० मा अरू थिएटरहरूजस्तै यो पनि ‘प्युरिटन’हरूको सिकार भयो । भनिन्छ, यसलाई भत्काउन दुई घन्टा समय पनि लागेको थिएन । यसपछि लामो समयसम्म यसले फेरि उभिने सम्भावना नै रहेन । यसको ठ्याक्कै तीन सय वर्षपछि त्यति बेलाका चर्चित अमेरिकी रंगमञ्चकर्मी साम वानमेकर जब लन्डन आए र महान् नाटककारको नाममा एउटा स्मृति प्लेटमात्रै देखेपछि उनले फेरि टेम्सको किनारा सेक्सपियरको ग्लोब उभ्याउने निर्णय गरे । त्यही अठोटको उपजस्वरूप झन्डै पचास वर्षपछि यसको निर्माण कार्य सुरु भएको थियो ।

लगभग सबै प्रतिभालाई आफ्नो समयले नचिन्न सक्छ । प्रतिभाको नाम, सम्मान अथवा उसको सिर्जनाको अर्थ शासकको मुड र स्वार्थमा पनि भर पर्ने रहेछ । ‘प्युरिटन’ हरूको सिकार भएको सेक्सपियरको ग्लोब तीन शताब्दीसम्म गुमनाम हुनु यसैको उदाहरण हो । अझ गज्जबको कुरा त विश्व साहित्यका पर्याय बनिसकेका सेक्सपियरलाई लन्डनले पछिसम्म पनि सम्झनु आवश्यक ठानेन । देशबाहिरका कुनै अर्कै रंगमञ्चकर्मीले यता आएर सम्झाइदिनुप¥यो— ल है, तिमीहरूले गर्व गर्ने गरेका सेक्सपियरको नाममा थिएटर यहाँ फेरि ठड्याउनुप¥यो । तर, त्यो प्रक्रिया पनि कहाँ सहज थियो र, त्यसका निम्ति वानमेकरको परि श्रमको आफ्नै गाथा छ । करिब आधा शताब्दीको अनवरत प्रयासपछि यसले अहिलेको स्वरूप ग्रहण गरेको थियो ।

छिमेकी जापानी केटीले टोकियोको जिकिर गर्दा मैले उदास भएर हाम्रा सुनिल पोखरेललाई सम्झिएँ । हाम्रा लागि त सुनिल पोखरेल वानमेकरभन्दा ठूला हुन् नि ! व्यक्तिगत रूपमा मैले सुनिल पोखरेलसित आजसम्म दोहोरो कुरा गरेको छैन । तर, ती मेरा निम्ति सबैभन्दा प्रिय नाटककर्मी हुन् । ‘नाटक’ भन्यो कि मेरो दिमागमा सुनिल पोखरेल नाउँको त्यो कलाकारको छवि उभिन्छ, जो वर्षौंदेखि एउटा नाटकघरको सपना देखिरहेछ । त्यसो त नेपालमा अहिले केही नाटकघर नियमित सञ्चालनमा छन् । तैपनि खै किन हो, त्यो जापानी केटीले आफ्नो साथीलाई टोक्योमा पनि ग्लोब थिएटर छ नि भन्दा स्वैरकल्पना नै सही, काठमाडौंमा पनि ‘खत्रा’ नाटकघर छ नि भनेर यही आँगनमा कसैलाई धक्कु लगाइरहेको कल्पना गरिरहेथेँ म ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.