सुफी महोत्सवमा कविता चर्चा

सुफी महोत्सवमा कविता चर्चा

हालसालै जयपुर सहरको डिग्गी पेलेस, राजस्थानमा सम्पन्न सुफी महोत्सव दक्षिण एसियाली राष्ट्रका प्रतिनिधि कवि, लेखक र दार्शनिकहरूका लागि कुम्भ मेला हुन पुग्यो । पाँच दिनसम्म चलेको उक्त कार्यक्रममा नेपालबाट बाह्रजनाले सहभागिता जनाएका थिए । प्राध्यापक केशव सिग्देल, एलबी क्षेत्री र रामप्रसाद पन्तले नेपाली कवितामा भक्तिधारा र सुफी दर्शनमाथि कार्यपत्र प्रस्तुत गरे भने अन्य कविहरूले कविता वाचन गरे ।

कविता वाचन शृंखला हरेक दिन प्रत्येक सेसनसँग जोडिन्थ्यो । वाचन गर्ने कविहरूलाई मञ्चमा राखिन्थ्यो र कुनै एक कविले उक्त कार्यक्रमको अध्यक्षता गर्थे । कविताहरू प्रेम प्रसंगदेखि राष्ट्रियता अनि शान्ति विषयमा ज्यादा सुनियो । दक्षिण एसियाली सुफी पर्वकी संरक्षिका अजित र अपर्ना कौर दुवै वृद्ध थिए । शारीरिक रूपमा कमजोर भए पनि दुवैमा बलियो इच्छाशक्ति थियो । साहित्य र कलाका लागि जीवन समर्पण गर्न लालायित नातामा आमा र छोरी पर्ने यिनीहरूको योगदानको कथा थाहा पाउँदा श्रद्धाले शिर झुक्थ्यो ।

दक्षिण एसियाकै साहित्यिक आमा भनेर चिनिने अजित कौर आफू एक्लै यताउति गर्न सक्तिनन् । कसैको सहयोगमा हिँडडुल गर्ने उनीसँग साहित्यप्रतिको लगाव अटल र अटुट छ । छोरी अपर्नाको आमाप्रतिको प्रेम, सद्भाव र सेवा देख्ता श्रवणकुमारको कथा झल्झल्ती स्मरण हुन आउँछ ।

के हो सुफी दर्शन ?

सुफीलाई विभिन्न कोणबाट परिभाषित गर्न सकिन्छ । सुफी समुदाय मुस्लिमहरूको सदियौं देखिको एक सन्त परम्परा हो । निराकार रूपमा भगवान्को अस्तित्व स्वीकार्छन् उनीहरू । तर, त्यस मार्गमा सजिलै यात्रा गर्न कठिन छ भनी ठान्ने सुफी सन्तहरू प्रेमलाई नै त्यस मार्गको सजिलो यात्राको उपाय ठान्छन् । हिन्दु सन्त परम्परामा भक्ति योग हावी देख्ने सुफीहरू हाम्रा ऋषिमुनिजस्ता देखिन्थे । भजनकीर्तन, नृत्य, एक्लो जीवन सुफीहरूको जीवनचर्या हो । प्रेमगीत गाउँदै भगवान्सँग मिलन खोज्ने तर फेरि पुनर्जन्मको इच्छा राख्तैनन् । कृष्णको धामजस्तै सुखलोकको यात्रामा निस्केका यी सुफीहरू हिन्दु, बौद्ध या सिख सन्तहरूभन्दा फरक लाग्दैनन् ।

सत्य एउटै हुन्छ र अन्ततः त्यही सत्य भेट्नुपर्छ भनी सांसारिक मायामोह त्यागेर परमात्माको खोजी गर्ने सुफीहरूका अग्रज पर्सियाका जलाल अद्दिन मुहम्मद रुमीको एक कथा ‘अन्धाहरू र हात्ती’बारे धेरैले पहिले नै सुनिसकेको हुनुपर्छ । ती सबै दृष्टिविहीनहरूको हात्तीको परिभाषा सत्य नै थियो तर समष्टिगत रूपमा ती सत्यहरू पूर्ण सत्य थिएनन् । सुफी दर्शनमा सत्य प्राप्तिका लागि आध्यात्मिक मार्गको प्रकाश र पूर्ण भक्तिभावको जरुरत पर्छ । बाहिरी दृष्टिले हामी सबै अन्धा नै छौं । अन्तरदृष्टिको प्रकाशले नै हामीलाई सत्यसँग एकाकार गराउँछ ।

त्यस्तै आत्मा र परमात्माको सम्बन्ध पानीको थोपा र समुद्रसँग जोडेर हेर्छ सुफी दर्शन । जबसम्म पानीको थोपा समुद्र नै आएर आफूसँग मिल्ने सपना देख्छ, तबसम्म समुद्रसँग थोपाको मिलन सम्भव छैन । तर, जब पानीको थोपा निःसर्त समुद्रमा खस्छ, तब थोपा थोपा नरही आफंै समुद्र बन्छ । यही नै आत्मा र परमात्माको मिलन बिन्दु हो । एक सुफी सन्त परमात्माको प्रेमी हो । ऊ हरपल आफ्नो प्रेमिकाको यादमा आफ्नो समय बिताउँछ ।

‘मैले तिमीलाई धेरै सम्झेको छु
कि म शिरदेखि पाउसम्म तिमी भैसकेँ
बिस्तारै बिस्तारै तिमी आइपुग्यौ र म बाहिरिएँ ।’

प्राचीन इतिहास या धर्मग्रन्थको अध्ययन गर्दा सिख र हिन्दुहरूसँग सुफीहरूको सम्बन्ध निकै नजिक देखिन्छ । कुनै मूर्ति पूजामा विश्वास गर्ने र भगवान्को आकारमा भक्तिभाव प्रकट गर्नेछन् भने कुनै निराकार निरञ्जन स्वरूपमा विश्वास राख्ने मात्र छन् । प्राचीन भारतका कविर, नानक र इस्लाम धर्मका मुर्सिदहरूमा आत्मा र परमात्माको सम्बन्ध समानान्तर देखिन्छ । सुफी शब्द फारसी भाषामा कपाससँग मिल्दोजुल्दो पाइन्छ । कपासजस्तै नरम र हलुका भन्ने विम्ब बोकेर सुफी शब्द आएको भान हुन्छ ।

सुफी महोत्सवमा कविता

सुफी महोत्सवमा विभिन्न देशका कविले आआफ्ना रचना वाचन गरे । हरेक देशका फरकफरक धारका कविता थिए । नेपाली कविले वाचन गरेका कवितामा प्रेम, दर्शन, राष्ट्रियता, नारी मुक्तिका स्वर थिए भने भुटानी कविका कवितामा देशप्रेम, प्रकृति ज्यादा हावी थियो । भारतीय कवितामा दर्शन, क्रान्तिकारी भावना, प्रेम, प्रकृति, शान्ति, युद्धविरोध बढी देखिन्थ्यो । उता अफगानिस्तानी कविहरूका कवितामा युद्धको डरलाग्दो प्रभाव थियो । अफगान कवयित्री जोराका कविता सुन्दै गर्दा मेरो मानसपटलमा युद्धमा मारिएका निर्दोष अफगानीहरूको लासले बनाइएको ठूलो पर्खाल निर्माण भएको थियो ।

कविता चिन्तन

हामी नेपालमा कविता, अकवितामाथि नानाथरी फलाक्दै घन्टौं समय व्यतीत गर्छौं । तर, सुफी फेस्टिभल मनाएर फर्केपछि यस्तो लाग्दैछ कि यी सारा बहसहरू बेकार हुन् । कवितामात्र कविता हो । यसबाट हामी कविताको देश, काल र समयको जानकारी लिन सक्छौं । कुनै कविताले आफ्नो भूमिको परिचय दिन सकेन भने, कुनै कविता पढेर या सुनेर पाठक÷ श्रोतामा कुनै विचारको जन्म हुँदैन भने, मानसपटलमा कुनै चित्र बन्दैन भने त्यस बेला कविता संकटमा पर्न सक्छ । हरेक कविता आफैंमा मौलिक र फरक विचार बोकेर आउँछन् ।

साहित्यमा सबैभन्दा पुरानो विधा हो, कविता । सनातन वैदिक समयदेखि नै प्रचलनमा आएको यो विधा ग्रिक साहित्यका विभिन्न क्षेत्र हुँदै अंगे्रजी साहित्यमा सेक्सपियरको समयसम्म बर्चस्व कायम गरेको पाईन्छ । कविता अझैसम्म उत्तिकै शक्तिशाली छ । यस्तो लाग्छ कि कविता साहित्यका विभिन्न विधाहरूमा सेरेमनियल विधा हो । यो सम्मानित र खास समयमा वाचन गर्ने परम्परा अझै धेरै मुलुकमा छ । जस्तै अमेरिकामा हरेकपटक नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गर्दाको समय कविता वाचन गरिन्छ ।

जयपुरमा सुफी पर्वमा भाग लिँदा र विभिन्न देशका कविका कविता सुनेपछि यस्तो लाग्दैछ कि साँच्चिकै कवि मनहरूबाट लेखिएका कविताहरू ज्यादै काव्यिक र सीधा श्रोताहरूका मनमस्तिकमा प्रवेश गरी श्रोताहरूमा आनन्दको वर्षा गराउन सक्छन् । कतिपय कविता श्रोताहरूलाई हरसमय जागरुक बनाउन पनि सक्ने हुन्छन् ।
जब हामी एउटै परिवेशमा फरकफरक कविता लेख्छौं, सबै त्यस परिवेशसँग उत्तिकै परिचित छौं भने हामीमा विचार बाझ्न थाल्छ । अनि हामी आफ्नो कवितालाई कविता र अरूका कवितालाई अकविता भन्न पछि पर्दैनौं । कविताबारे बुझ्न सुफी महोत्सवले मलाई धेरै सघायो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.