छुटेका यादहरू
मंसिरको घुर्मैलो बिहान । अबेरसम्म सुतिरहन मन लाग्ने याम । बाहिर मान्छेहरू मर्निङ वाकमा निस्केका थिए । मलाई भने कहिल्यै बिहान नहोस्, रात नै परिरहोस् भन्ने लागिरहेको थियो । तर, मेरो कोरा सपना कहाँ पूरा हुन्थ्यो र । हेटौंडा बजार उज्यालो बनाउँदै पूर्वबाट उज्यालो छायो । मेरो मन भने भारी र अँध्यारो हुँदै थियो । किनकि मैले छाडेर जानु थियो त्यस दिन घरपरिवार, आमा अनि बाल्यकालका साथीसंगी सबैसबै ।
त्यस बेला म कक्षा ६ पास गरेर ७ मा प्रवेश गरेकी थिएँ । मलाई काठमाडौं ठूलोबाबाकोमा पढ्न पठाउने तयारी भइरहेको थियो । मेरो मन भारी भइरहेको थियो । एकातिर काठमाडौं सहर हेर्न पाउने उमंग मनमा नाचिरहेको थियो । अर्कोतिर नरमाइलो पलले चिमोटिरहेको थियो । म त्यही सहरमा कतै हराउने छु जस्तो लागिरहन्थ्यो, बारम्बार ।
म सानै अलि जिद्दी । मलाई काठमाडौं जान पटक्कै मन थिएन । तर म आमाको निर्णयलाई अस्वीकार गर्न सक्दिनँ थिएँ । दसैंमा किनिदिएको नीलो जिन्स र धर्के टिसर्ट लगाएँ । मनमा कुनै उत्साह थिएन । न कतै उमंगको घन्टी बजेको नै थियो । थियो त मात्रै आफ्नो ठाउँ छाडेर जानुको पीडाबोध । देखाउने कसलाई । सुन्ने को ? भारी मन लिएर काठमाडौं जान तयार भएँ ।
बजार ओर्लेपछि मलाई लाग्यो– मैले सबै भेटेँ । छुटेका धेरै कुरा एकैपटक पाएँ । लाग्यो बजारलाई नै अँगालो मारेर धेरै बेर रोऊँ । तर, त्योभन्दा छिटो पुग्नु थियो मलाई घर ।
मलाई भन्न मन थियो, ‘आमा तिमीलाई छाडेर जान मनै छैन ।’ तर, सकिनँ । रातो टीका निधारमा टाँसेर दुई थुंगा फूल हातमा राखिदिँदै हजुरआमाले भन्नुभयो, ‘नानी तँ यही फूलजस्तै मुस्कुराएको हेर्न मन छ ।’ पीडाले छोपेको मेरो अनुहार न्याउरो थियो । त्यो मैले मात्रै अनुभव गरेको थिएँ । म निःशब्द थिएँ त्यस बेला । मेरो स्कुलको डे«ेस मलाई हेर्दै हल्लिरहेको थियो नजिकै । उसलाई समातेर बेस्सरी रुन मन थियो । तर, सकिनँ । मनमनै खुब रोएँ । टुटेको थियो स्कुलसँगको नाता । छुट्दै थिएँ मेरा बालसखाहरूसँग ।
सबैभन्दा बढी याद मलाई उसैको आएको थियो । जसले मलाई चोरीचोरी हेथ्र्यो । त्यस दिन पनि ऊ उसैगरी हेरिरहेको थियो । तर, बोल्न सकेन । मैले जान्छु भन्न पनि सकिनँ । उसले हात हल्लायो या हल्लाएन, त्यो पनि हेक्का रहेन । विस्तारै घर मबाट टाढा हुँदै थियो । तर, म झन्झन् घरलाई मनको कुनामा च्यापिरहेको थिएँ । अलि पर आएर एकपटक फर्केर हेरेँ । मेरो घरले मलाई बोलाइरहेँझैं लाग्थ्यो ।
बसपार्क आइपुगेर आमा, हजुरआमा र म गाडी चढ्यौं । गाडीको बेगले हेटौंडालाई ओझेल पा¥यो । मबाट विस्तारै छुट्टिँदै गए राप्ती पुल, स्मारक, सान्नानीटार, मनहरी बजार र लोथर... । तर, मेरो मन भने त्यतै कतै अल्झिएको थियो । जालमा अल्झिएको माछाजस्तै ।
बस मुग्लिन पुग्यो । स्मृतिमा घुमिरहेको थियो घरको याद, साथीसंगी अनि बर्थडेमा उपहार । लाग्यो सबै थोक छुट्यो जिन्दगीबाट । साथी छुट्यो । खेलौना छुट्यो । एउटा मीठो याद छुट्यो । फगत म, मात्र म थिएँ गाउँदेखि टाढा । साथमै थिइन् आमा । तर, म आमाविहीन थिएँ । साच्चै गाउँघरको याद पनि यस्तो हुँदो रहेछ । म अवाक हुन्थेँ सम्झिएर । बसको
झ्यालमा बसेर मनमनै साच्थेँ, ‘अब म कोसँग खेल्ने ? कहिले बनाउने साथी ? कसले खेल्छ मसँग ? खोइ मेरा गट्टाहरू ? कसले खेलाउँछ लुकामारी ? कसले रोपिदिन्छ मेरो कपालमा सुटुक्क गुलावको फूल ? कसले हेर्ने अब मलाई लुकीलुकी ? म बिछोडिन्थेँ एक्लै । रोइदिन्थेँ आँखाभित्रै । गाडीमा बजिरहने गीत कर्कश ध्वनि लाग्थ्यो । कसैसँग नबोली नौबिसेको उकालो आइपुग्यो ।
राती मामाघरमा बस्यौं । हजुरआमाको माइती । आमाको मामाघर र मेरो बूढा मावली । गाडी थानकोटको प्रहरी चेकपोस्टमा रोकियो । नजिकै मामाघर पुगेपछि हजुरआमा आमा सबै खुसी हुनुभयो । तर, म दुःखी थिएँ । मनमा खुसीको कुनै बहार थिएन । आमाहरूले राति कुरा गरेको सुनेको थिएँ । उहाँहरू भन्दै हुनुहुन्थ्यो, ‘यो बिहे गर्ने उमेरमा अब कहाँ छोरीलाई पढाउन सहर ल्याएको, खुरुक्क बिहेबारी गरेर नपठाएर ।’ आमा र हजुरआमाले खुब गाली खानुभयो । मेरो मनमा बल्ल भने सन्तोष भयो । मनमनै भनेँ, ‘थाहा पायौ नि मलाई सहर ल्याउनुकोे परिणाम ।’ फेरि एक मनले लाग्थ्यो, ‘मलाई यहीँबाट फर्काएर बिहे गरिदिए भने ? ’ डरले काँप्दै हजुरआमालाई भनेँ, ‘म धेरै पढ्न चाहन्छु । ठूलो मान्छे बन्न चाहन्छु । तपार्इंहरूको नाम उच्च राख्न चाहन्छु ।’ त्यसपछि म सुतेँ । हजुरआमा र आमाको गाली खाने क्रम भने अझै चलिरहेको थियो ।
बिहानै बिदा मागेर हामी त्यहाँबाट सहर पस्यौं । झिलिमिली काठमाडौं । मान्छे नै मान्छेको भीड । हरेक पल बजिरहने गाडीका हर्नहरू । बाटोभरि नै बेच्नका लागि थुपारिएको लुगाको थुप्रो । मलाई दिक्क लागिसकेको थियो । सुन्धाराको गल्लीबाट छिरेपछि ठूलोबाबाको घर आउँथ्यो । ठूलोबाबा कामको सिलसिलामा बाहिर हुनुहुन्थ्यो । केही समयपछि घर आउनुभयो । खाना बनाउन ढिला हुने भएकाले बाहिर होटलमा नै खायौं । छोरीलाई यहीँ छोडिदिने र आफूहरू फर्कने निर्णय गर्नुभयो आमाले । मामाको जिम्मा लगाएर आमा फर्कनुभयो । आमा र हजुरआमा भ¥याङमा उहाँको जुत्ताको आवाजमात्रै टक्टक् बजेको कानसम्म आइपुग्यो । अब भने मेरो जिन्दगीबाट सबै कुरा छुटेजस्तो लाग्न थाल्यो । म एक्लो नितान्त एक्लो भएँ । त्यसपछि आँखाबाट आँसुको भल बगिरह्यो निरन्तर निरन्तर ।
म नयाँ स्कुलमा भर्ना भएँ । नयाँ ड्रेस लगाएर स्कुल जान थालेँ । ठूलोबाबाले माया गर्नुहुन्थ्यो । बाबाको स्पर्श थाहा नपाएको म उहाँको स्पर्शले बाबाको याद दिलायो । लागिरह्यो मेरो बाबा भएको भए म त्यो छाडेर यहाँ आउनु पर्दैन थियो ।
मैले बिर्सन सकिनँ आफ्नो घरपरिवार, आमा दिदीबहिनी, साथीभाइ, गोरेटो, भाँडाकुडी, पुतली, स्कुलको माया । मेरा मस्तिष्कहरू विस्तारै शून्यशून्य हुँदै गए । म खाली भएको थिएँ । स्मृतिमा आइरहने घरको यादले मलाई पलपल मारिरहेको थियो । आमाको स्पर्श नपाउँदा म विल्कुलै टुहुरी भएको थिएँ । दुईतीन दिनको बसाइमा नै मैले घर जान हजारौं कोसिस गरिसकेकी थिएँ । मलाई रमाइलो लागेन । मेरो मन खुसी भएन । म रम्न सकिनँ । ठूलोबाबाको मायाले मेरो हृदय पगाल्न सकेन । उहाँले दिएको मायाले म पूर्ण त भएँ तर तृप्त हुन सकिनँ । दिनभर उहाँको उपस्थिति हुँदैन थियो । मलाई बिरानो लाग्थ्यो ।
काठमाडौं बसाइको पाँचौं दिन एक साँझ कसैले थाहा नपाउने गरी लुगा प्याक गरेँ । खाना बनाएँ, खानै सकिनँ । रातभरि आँखामा निद्राको एक झुल्को कतै देखिएन । छतमा गएर निकै बेर ताराहरूसँग गफ गरेँ । गुलाफको फूल टिपेर फ्याँकिरहँे । गाई र त्रिशूल गरेँ । त्यसले जा भन्यो । सबैभन्दा ठूलो अनुमति मनसँग माग्नु थियो, उसले पनि मलाई जा यहाँ नबस । तँ ठूली त बन्लिस् तर असल बन्न गाह्रो हुन्छ । तँ देशविदेश घुम्लिस् तर आफ्नै ठाउँ बिर्सनेछेस । तैंले साथीहरू त पाउलिस् तर तेरो साँच्चै साथी पाउन गाह्रो छ । तँ हर रात निदाउलिस् तर आमाको काखमा निदाउने अवसर कहिल्यै पाउनेछैनस् । जा तँ जा भनेर अनुमति दियो । मनको अनुमतिको अगाडि मेरो केही लागेन र म घर फर्कन तयार भएँ ।
बिहान उठेर चिया पकाएँ । दसैंमा किनिदिएको पेन्ट र धर्के टिसर्ट लगाएँ । ठूलोबाबा आफ्नो काममा गइसक्नुभएको थियो । ढोकामा ताल्चा लगाएँ र घरबाट निस्केँ । मलाई थाहा थिएन, बस कहाँ लाग्छ ? म कहाँ जाँदैछु, केही थाहा थिएन । आमाले दिनुभएको बीसको नोट साथमा थियो । ठूलोबुवाले तरकारी किन्नको लागि दिएको पचासको नोट बोकेर निस्केँ । लगभग दुई घन्टाजति त सुन्धाराको गल्लीमा भौंतारिइरहेँ । बस र टिकटदेखि आजित भएर म रोडको किनारामा ब्यागकै कुर्सी बनाएर बसिरहेको थिएँ । कोही मान्छे मेरो छेउमै आएर उभियो र सोध्यो, ‘नानी, साझा बस आयो । मेरो ११ बजेको टिकट थियो तर मलाई अहिले जान नपर्ने भयो टिकट फिर्ता गर्नुपर्ने ।’ मलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भएको थियो । जुरुक्क उठेर भनेँ, ‘मलाई दिनु न त्यो टिकट । म हेटौंडासम्म पुग्नु छ ।’ उसले मलाई टिकट दियो । मैले पाइन्टको खल्तीबाट बीसको नोट निकालेर दिएँ । मलाई टिकटको कति पर्छ पनि थाहा थिएन ।
म फेरि त्यही ब्यागको कुर्सीमै बसिरहेँ । एकपटक मुसुक्क मुस्कुराए । जिन्दगीको यात्रामा टिकटले पनि मलाई जाने अनुमति दियो ११ बजे आउने बस १२ बजे आइपुग्यो । बसमा चढेँ । लास्ट सिटको रहेछ । भोक प्यासको पनि कुनै मतलब थिएन । बस नौबिसे हुँदै दामन पालुङको बाटो दगुरिरह्यो । लास्ट सिटमा जाँदा नमीठो लागेको गीतको संगीत मीठो मान्दै हेटौंडा बजार ओर्लिएँ ।
बजार ओर्लेपछि मलाई लाग्यो— मैले सबै भेटेँ । छुटेका धेरै कुरा एकैपटक पाएँ । लाग्यो, बजारलाई नै अँगालो मारेर धेरै बेर रोऊँ । तर, त्योभन्दा छिटो पुग्नु थियो मलाई घर । टेम्पो चढेँ । घरअगाडि ओर्लिएँ । घर पुग्दा झमक्कै रात परिसकेको थियो । आमा धारामा लुगा घोइरहनुभएको रहेछ । मलाई देखेर अचम्म मान्नुभयो र सपक्क अँगालोमा बेरेर धेरै बेर रुनुभयो । आँसु दबाउँदा दबाउँदै थाकेकी म आमाको काखमा धेरै बेर रोइरहेँ, रोइरहेँ... ।