पूर्वीयकरणको बहस
पूर्वीय विश्व र पश्चिमा विश्व भनेर गरिएको विश्वको विभाजन विशेषतः इतिहास, विकास र प्रभावलाई आधार बनाएर गरिएको जस्तो देखिन्छ। पश्चिमा विश्वलाई पूर्वीय विश्वभन्दा अलग, विकसित, सभ्य र प्रभावशाली मानिनु पछाडि धेरै कारण छन्। अर्थतन्त्र, सामाजिक मूल्य–मान्यता, राजनीति, रहनसहन, धर्मसंस्कृति यसका केही कारक तत्व भने अवश्य हुन्। तर, एडवर्ड सइदका अनुसार पूर्वीय विश्वसँग सम्बन्धित बुझाइलाई अभिव्यक्त गर्ने काम पश्चिमा विश्वले गरिरहेको छ। उनको विचारमा विश्वको एउटा भागबारे विश्वकै अर्को भागले सिर्जना गरेको बुझाइ र मानसिकता भ्रमपूर्ण र गलत छन्। सइदको विचारमा पश्चिमा विश्वले पूर्वीय विश्वलाई गरिब, अविकसित, असफल र असभ्य देख्नुको मूल कारण नै त्यस्ता भ्रमपूर्ण बुझाइबाट उत्प्रेरित विचार हुन्।
यद्यपि, सइदले सन् १९७८ मा प्रकाशित गरेको आफ्नो विश्वचर्चित पुस्तक ‘ओरियन्टालिज्म’मा व्यक्त गरेको उक्त धारणामा केही परिवर्तन भने अवश्य आएको छ। एसियाको समग्र विकासमा चीन, जापान र भारतले पुर्याएको योगदान र उनीहरूले प्राप्त गरेको अतुलनीय आर्थिक विकासले त एसिया महाद्वीप एक्काइसौं शताब्दीको ‘प्रमुख ड्राइभर’ को रूपमा विश्वभरि नै बुझिन थालिएको छ। गिडियोन र्याचम्यानले आफ्नो पुस्तक ‘इस्टरनाइजेसन’मा त्यही पूर्वीयकरणको प्रक्रिया, त्यसको कारण, महत्व र चुनौतीलाई विस्तृत एवं समष्टिगत रूपमा विभिन्न रोचक उदाहरणसहित उजागर गरेका छन्। पश्चिमीकरण भनेर पश्चिमा देशहरूको विकास, समृद्धि, प्रभाव र शक्तिलाई बुझेझैं पूर्वीयकरण भनेर पूर्वीय देशहरूले हासिल गर्न खोजेको विकास, समृद्धि र शक्तिको प्रक्रियालाई बुझिन्छ।
‘फाइनान्सियल टाइम्स’का लागि वैदेशिक मामिलाको विषयमा कलम चलाउने स्तम्भकार र्याचम्यानले आफ्नो पुस्तकमा पूर्वीयकरणको प्रक्रिया अगाडि बढ्नुका दुई प्रमुख कारण औंल्याएका छन्। पश्चिमा देशहरूको राजनीतिक शक्तिमा आएको संकटलाई र्याचम्यानले पहिलो कारणका रूपमा प्रस्तुत गरेका छन्। सिरियामा अमेरिकी विदेश नीतिको असफलता होस् अथवा पश्चिमा देशहरूको रुससँग बिग्रँदो सम्बन्ध होस्, दुवैले पश्चिमा देशहरूको राजनीतिक र रणनीतिक शक्तिमा संकट उत्पन्न गराएको छ। सँगसँगै बेलायतले युरोपियन युनियनबाट आफ्नो हात झिकेलगत्तै युरोपियन युनियनमा आएको संकट, शरणार्थी समस्या, पश्चिमा सहरहरूमा भएका आतंककारी हमलाहरू, सन् २००९ को आर्थिक मन्दीपछि यथावतै रहेको न्यून रोजगारीको समस्याले पनि पश्चिमाकरणको प्रक्रियामा आएको संकटलाई उजागर गर्दछ।
र्याचम्यानको शब्दमा भन्नुपर्दा पश्चिमा देशहरूले राजनीतिक, आर्थिक, सामाजिक र अन्यखालका समस्या भोगिरहेका बेला पूर्वीय देशहरू भने विकास र समृद्धिको बाटोमा अग्रसर बनेका छन्। तथापि, उनीहरूले प्राप्त गरेको विकास र समृद्धि पश्चिमा देशहरूको तुलनामा त्यति साह्रो उल्लेखनीय छैन। र्याचम्यानको धारणा यस अर्थमा सान्दर्भिक छ कि पश्चिमा देशहरूको नेतृत्व लिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफैं खुल्ला व्यापार, बहुपक्षीय सम्झौता, साझेदारी र व्यापार–वाणिज्यको वैश्वीकरणको विरुद्धमा कदमहरू चालिरहेका बेला विशेषगरी चीन र भारत भने पूर्वीय देशहरूलाई आर्थिक रूपमा जोड्ने माध्यमहरूको खोजीमा लागेका छन्। चीनको नेतृत्वमा अगाडि बढेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ त्यस्तै एकअर्कालाई जोड्ने माध्यमहरूको एउटा उदाहरण हो।
पश्चिमा देशहरूले राजनीतिक, आर्थिक, सामाजिक र अन्य खालका समस्या भोगिरहेका बेला पूर्वीय देशहरू भने विकास र समृद्धिको बाटोमा अग्रसर बनेका छन्।
¥याचम्यानले उल्लेख गरेको दोस्रो कारण पनि चीन र भारतको उदय नै हो। उनको विचारमा चीन र भारतको उदयले पूर्वीयकरणको प्रक्रियालाई अगाडि बढाउनको निम्ति ठूलो भूमिका खेलेको छ। यी दुई एसियाली मुलुक बीच तनाव, खटपट र सीमासम्बन्धी विवाद यथावत् रहे तापनि यी दुईको आर्थिक उन्नतिले पूर्वीयकरणको प्रक्रियालाई निरन्तर अघि बढाउनेमा र्याचम्यान ढुक्क छन्। यसका साथै उनी भारत र चीनबीचको विकासको भिन्नताबारे पनि सचेत देखिन्छन्। यो भिन्नता स्पष्ट पार्न र्याचम्यानले आफूसँगको कुराकानीमा भारत सरकारका प्रमुख आर्थिक सल्लाहकार अरविन्द सुब्रमनियनले भनेको भनाइको सन्दर्भ दिएका छन्। सुब्रमनियन भन्छन्– ‘आर्थिक रूपमा भारत चीन जतिको सबल र सक्षम हुन अझै २५ देखि ३० वर्ष लाग्छ।’
एसियाभित्रको पूर्वीयकरणको प्रक्रिया र एसियाबाहिरको पूर्वीयकरणको प्रक्रिया गरी पुस्तकलाई दुई भागमा विभाजन गरिएको छ। प्रथम भागमा पश्चिमीकरणदेखि पूर्वीयकरणतर्फको प्रस्थान, चीनको आर्थिक र सैन्य उदय, त्यसमाथि अमेरिकाको प्रतिक्रिया, जापान र कोरियाको दुविधा र भारत कसरी दोस्रो एसियाली महाशक्तिको रूपमा उदाउँदै छ भन्ने विषयहरूमाथि चर्चा गरिएको छ भने दोस्रो भागमा कसरी मध्यपूर्वी देशहरूमा अमेरिकी विदेश नीतिहरू असफल हुँदैछन् र कसरी रुस तथा युरोपियन मुलुकहरूबीच उत्पन्न भएको संकटले रुसलाई पूर्वीय देशहरूतर्फ फर्कन बाध्य बनाएको छ भन्ने विषयमा विश्लेषण गरिएको छ।
जिरो समवल्र्ड किताबबाट चर्चामा आएका र्याचम्यानको यस पुस्तकलाई भने पूर्वीयकरणको प्रारम्भिक प्रक्रियाको बारेमा मात्र नभइकन एक्काइसौं शताब्दीको शक्ति संघर्षबारे गरिएको एउटा खोजमूलक अध्ययनको रूपमा पनि लिन सकिन्छ। एक्काइसौं शताब्दीको शक्ति संघर्षको दृष्टिकोणबाट हेर्दा पूर्वीयकरणको प्रारम्भिक प्रक्रियाले अनेकौं चुनौतीहरूसँग जुध्नुपर्ने देखिन्छ। उदाहरणको रूपमा चीनविरुद्ध भारत र जापानलाई उक्स्याउने अमेरिकी नीति, भारतलाई चिढ्याउने चीन–पाकिस्तान सम्बन्ध, दक्षिणपूर्वी एसियामाथि उदीयमान शक्तिहरूको संघर्षजस्ता सन्दर्भहरूलाई लिन सकिन्छ।
पत्रकारिता क्षेत्रमा योगदान गरेबापत प्रदान गरिने अरवेल पुरस्कारका विजेता र्याचम्यानले आफ्नो अध्ययनलाई यस पुस्तकमा शक्तिशाली देशहरू र आर्थिक एवं रणनीतिक रूपमा उदीयमान शक्तिहरूमा मात्र केन्द्रित गरेको देखिन्छ। तर, भौगोलिक एवं ऐतिहासिक रूपमा पूर्वीय विश्वभित्र साना तथा मझौला देश पनि अटाएका छन् र उनीहरू पनि आफ्नो तर्फबाट ‘एसियाली शताब्दी’ को निमित्त योगदान गर्न तत्पर छन्।
ठूला, उदीयमान र शक्तिशाली देशहरूबीचमा रहेको कारणले गर्दा साना मानिएका; अझ भनौं नेपालजस्ता देशले उदीयमान देशहरूबाट र समग्र पूर्वीयकरणको प्रक्रियाबाट नै के कस्तो फाइदा लिन सक्छ भन्नेबारे भने यो किताब मौन रहेको देखिन्छ। हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनका अनुसार स्थापित शक्ति र उदीयमान शक्तिहरूबीच सामान्यतया विनाशकारी तनाव हुने गर्दछ जसलाई उनकै भाषामा भन्दा थुसाइडाइड्स ट्र्याप भनिन्छ। यदि पूर्वीयकरणको प्रक्रियामा त्यस्ता किसिमका विनाशकारी तनाव भएको खण्डमा वरिपरिका साना देशहरूको सुरक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डताको रक्षा गर्ने प्रत्याभूति कसले दिन्छ ? यस विषयमा पनि पुस्तकका प्रसंगहरू अनुत्तरित छन्।