महिला र लेखन परिवेश
साहित्यिक वा अन्य लेखनमा महिलाको उपस्थितिको सन्दर्भमा अझै पनि चियागफ, बौद्धिक भेला, सभा सेमिनार वा अन्य जमघटमा सतही रूपमा टिप्पणी हुन्छ। महिलाहरू समाजलाई पूर्ण रूपमा प्रस्तुत गर्न सक्दैनन्, लैंगिक सवाल र पारिवारिक पृष्ठभूमिमा नै उनीहरूको लेखन उभिएको हुन्छ। यो सन्दर्भलाई राम्रोसँग बुझ्न यसलाई समाजसँग जोडेर हेर्नुपर्छ।
हाम्रा आमा, हजुरआमाहरूको जीवनसँग तुलना गर्ने हो भने आजको समाजले ठूलो फड्को मारिसकेको छ। यद्यपि विकसित मुलुकको तुलनामा हामी अझै पनि चरम लैंगिक विभेद, अन्धविश्वास, कुरीति र हिंसाको अवस्थाबाट गुज्रिरहेका छौं, जसको प्रस्ट अनुभव जति महिलाले गर्न सक्छन् त्यो पुरुष मानसिकतामा प्रवेश नै गरिसकेको हुँदैन कतिपय सन्दर्भमा।
महिला लेखन निश्चित विषयवस्तु र परिवेशमा सीमित रहनु र पुरुष लेखकसँगको प्रतिस्पर्धामा पछि परेको व्याख्या गरिनुका पछाडि धेरै कारण छन्। यस सन्दर्भमा यहाँ प्रोफेसर अभि सुवेदीले श्यामदास वैष्णवको साहित्यिक योगदानको सन्दर्भमा ‘अन्नपूर्ण पोस्ट्’को ‘फुर्सद’ संस्करणमा समावेश ३१ असारको लेख ‘सूक्ष्म कथाका एक वाचक’ले मेरो मस्तिष्कमा एउटा विचार क्लिक गरायो। कतै हाम्रो समाजका महिलाको लेखन उनीहरूको बाहिरी समाजमा घुमफिर गर्ने, भेटघाट गर्ने तथा छलफलमा सम्मिलित हुने, आफ्ना रचना आदानप्रदान गर्ने र परिस्कृत बनाउने परम्पराको स्थापना नै नभइसकेकाले नै कमजोर भएको त होइन ? राणाकालीन अवस्थामा साहित्यिक प्रकाशनमार्फत सूक्ष्म रूपमा विद्रोह गर्नमा योगदान पु¥याएको वैष्णवको ‘अलिखित इतिहास’बाट प्रभावित हुनुभएका अभि सर वैष्णवकी छोरीमार्फत उहाँ (वैष्णवजी)को घरमा आफैं जानुहुन्थ्यो भन्ने जानकारी पाइयो। यसबाट फुरेको ‘साहित्य, साहित्यकार र उनीहरूको नगरक्षेत्र र बाहिर हिँड्ने बानी’को सन्दर्भले मलाई लेख लेख्ने हुटहुटी जाग्यो।
हाम्र्रो समाजमा हरेक राजनीतिक तथा सामाजिक आन्दोलन र त्यसबाट सिर्जित परिवर्तनसँगै महिलाको सन्दर्भमा पनि नियम, कानुन र नारामा पक्कै पनि धेरै सुधार भएको छ। तर, नारालाई कानुन र कानुनलाई कार्यान्वयनको अवस्था हेर्ने हो भने लैंगिक चेतनामा विश्व समुदायले मारेको फड्कोको तुलनामा हामी धेरै पछि छौं। यसो हुँदाहुँदै पनि देशलाई समृद्धितिर धकेल्न यसको आधा हिस्सा महिलासँग हरेक तहमा समानान्तर रूपमा हातेमालो गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो। यो अपरिहार्य साहित्यको सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण छ।
साहित्य समाजको ऐना हो। त्यसैले लेखकले सामाजिक, सांस्कृतिक, लैंगिक, राजनीतिक, मनोवैज्ञानिक, वैचारिक र मानवीय समवेदना तथा समाज परिवर्तनको दिशानिर्देशलाई सतही रूपमा नभएर गहिराइमा पुगेर विश्लेषण गर्नुपर्छ। सायद सामाजिक परिवेशमा भिज्ने र विश्लेषण गर्ने क्षमता नभएको वा यस्तो अवसरबाट वञ्चित रहेको जोकोही पनि साहित्यमा समाजको जीवन्त चित्रण गर्न सक्दैन।
जहाँसम्म साहित्यमा महिला सहभागिता, गुणस्तर र दायराको प्रश्न छ; भर्जिनिया उल्फले भनेजस्तै महिलाका लागि लेख्ने ठाउँ र आर्थिक स्रोतको अभाव नै साहित्यिक यात्राको बाधक हो। त्यत्तिकै महत्वपूर्ण छ समय व्यवस्थापन। एउटा शिक्षित महिलाका लागि पेसागत दायित्वले जति बाँधेको हुन्छ, त्योभन्दा बढी सामाजिक र पारिवारिक दायित्वले थिचेको हुन्छ। नयाँ ठाउँ घुम्ने, सम्बन्ध विस्तार गर्ने, बिहानको शीतलतामा रम्ने, पत्रपत्रिका पढ्ने, बेलुकाको हावामा सयर गर्ने, दिउँसोको चियागफ, रात्रि सभासमारोह, भोजभतेर, अचानक आइपर्ने प्राकृतिक तथा मानवीय परिघटनामा छलफल, स्थानीय तहमा प्रदान गरिने न्यायनिसाफ, सञ्चारमाध्यममा पहूँच, पारिवारिक व्यवस्थापनको बाहिरी पक्ष आदिमा खेलेको भूमिकाले पक्कै पनि पुरुष मानसिकता ज्ञान र अनुभवले मजबुत भएको हुनुपर्छ। यो अर्को अनुसन्धानको विषय हो।
अतः यो स्पष्ट नै छ, बाहिरी समाजमा घुमफिरको अवसर नपाएका वा अवसरको खोजी गर्नुुपर्छ भन्ने पत्तो नपाएका शिक्षित महिलाको मस्तिष्कले कसरी समाजको हरेक पक्षलाई उत्तिकै सशक्त ढंगले साहित्यमा उजागर गर्न सक्छ ? अनि मस्तिष्क मन्थनका लागि भरपूर समयको अभावमा कसरी लेखनले उत्तिकै रूपमा समग्र पाठकलाई छुन सक्छ ? त्यसैले होला, आज पनि महिला लेखन तुलनात्मक रूपमा साँघुरो परिवेश र सीमित घेरामा रुमलिएको। तर, यसो भनिरहँदा महिलाको लेखन ‘मात्र’ पारिवारिक परिवेशमा सीमित हुन्छ भनेर सामान्यीकरण गर्नु अन्यायपूर्ण हुन जान्छ। लैंगिक समस्यासँगै आजका महिला लेखकहरूलाई राजनीतिक सवाल, सामाजिक विसंगति, वातावरणीय विनाश, आधुनिक मानवीय जीवनका विकृतिलगायत विषयले पक्कै पनि छोएको छ।
बाहिरी समाजमा घुमफिरको अवसर नपाएका शिक्षित महिलाको मस्तिष्कले कसरी समाजका हरेक पक्षलाई उत्तिकै सशक्त ढंगले साहित्यमा उजागर गर्नसक्छ ?
त्यसो त महिला लेखनको साँघुरो घेराको सवाल हाम्रोजस्तो पछाडि परेका मुलुकहरूमा मात्र होइन, मानव सभ्यता नै कुनै न कुनै समयमा यही अवस्थाबाट गुज्रेर आएको पाउँछौं। अंग्रेजी साहित्यमा १९औं शताब्दीको मध्यतिर साहित्यिक उचाइ चुम्न सफल बेलायती महिला लेखकहरू जस्तै जेन अस्टिन तथा ब्रन्टी दिदीबहिनीले पनि महिला सवाललाई नै प्राथमिकतामा राखेका थिए। जर्ज इलियट आफैं पनि महिला लेखनलाई भौतिक परिवेशले असर पार्छ भन्नेमा विश्वास गर्थिन्। पश्चिमी देशहरूमा महिला आन्दोलनले लगभग एक शताब्दी नै पार गरिसकेको छ। तर, त्यहाँ पनि लैंगिक सवाल महिला लेखनको प्राथमिकतामा पर्ने गर्छ। यद्यपि त्यहाँका सवालहरू हाम्रो समाजभन्दा फरक प्रसंग र सूक्ष्म तहमा हुन सक्छ।
फरक समाजमा फरक मात्रामा महिलाको लेखन सन्दर्भमा यथास्थितिवादी र एकतर्फी तर्कहरू बेलाबेलामा आउने गर्छन्। सायद इतिहासका विभिन्न मोडमा त्यस्ता धेरै महिला थिए होलान् जसले लोकगीत, दोहोरी, झ्याउरे, रत्यौली, तीज गीत, भजन आदिमार्फत उनीहरूको चेतनालाई अभिव्यक्त गरेका थिए। महिलाको साहित्य अझै पनि ‘सेन्टिमेन्टल’ हुन्छ; वास्तविक जीवनभन्दा पनि काल्पनिक संसारको सिर्जनामा रम्न चाहन्छन्; तर्कहीन घुमाउरो र अस्पष्ट अभिव्यक्तिको अभ्यास गर्छन्, सीमित संस्कार र संस्कृतिमा रुमल्लिने गर्छन् भन्ने गरिन्छ। तथापि केही हदसम्म यी विशेषतालाई नकार्न भने सकिँदैन। तर, यस्ता मिथक, अवधारणालाई इतिहासका विभिन्न क्षणमा महिला लेखकहरूले नै चुनौती दिएका छन्। मेरी शेलीको ‘फ्रेन्कइन्सटाइन’जस्तो वैज्ञानिक उपन्यास बेलायतमा उन्नाइसौं शताब्दीको दोस्रो दशकमा नै आइसकेको थियो।
हाम्रै समाजमा पनि योगमायाजस्ता निडर, चेतनशील र प्रगतिवादी महिलाले यस्ता भ्रामक बुझाइलाई चुनौती दिएका थिए। नेपालमा एकतन्त्रीय दमनकारी राणाशासनको बेलामा नै योगमायाले त्यति ठूलो विद्रोह गर्न सकिन्— सामाजिक कुरीति, कुसंस्कार र महिलाको शोषण, दमनको विरुद्धमा। धन्न उनको योगदानको बारेमा थोरै भए पनि इतिहासमा लेखिएछ र त हामीले आज उनको समाज सुधारको चेतनामाथि, उनी र उनको समयमाथि बहस गर्न पाएका छौं। ढिलै भए पनि उनका कथाव्यथालाई उजागर गर्न थालेका छौं।
नेपाली साहित्यको इतिहासमा योगमायाजस्ता अरू धेरै महिलाले विभिन्न समयमा समाज परिवर्तनको चेतना उजागर गर्ने प्रयास गरेका छन्। पारिजातले विसंगतिवादी धारालाई स्थानीय परिवेशमा स्थापित गरी प्रगतिशील चेतनालाई अगाडि बढाउने काम आफ्ना धेरै आख्यान, गैरआख्यानमार्फत गरिन्। पुरुष लेखकहरूको भीडसँगै पारिजातजस्ता महिला लेखकहरूले विश्वव्यापी चेतनाको आलम्बन गर्दै महिलाको सवाललाई उजागर गरे।
पारिजातसँगै केही महिलाले तत्कालीन राजनीतिक तथा समाज परिवर्तनको एजेन्डा बोकेका साहित्यिक आन्दोलनहरूमा सक्रिय रूपमा योगदान गरे पनि प्रश्न उठ्छ। के उनको समयका महिला लेखकहरू राजनीतिक गोप्य तथा खुला भेला, राजनीतिक कार्ययोजना, सामाजिक झैझगडा, प्राकृतिक विपत्ति तथा अचानक आइपर्ने समस्यामा पुरुषसरह सहभागिता र अभिव्यक्ति दिनसक्ने अवस्थामा थिए त ? पक्कै पनि थिएनन्। यद्यपि उनीहरूको संलग्नताको मापन भने अर्को अनुसन्धानको विषय हुनसक्छ। हामी अनुमान गर्न सक्छौं, त्यो तहमा महिला सहभागिता नगन्य नै थियो किनभने राणाशासनको अन्त्यसँगै महिला आन्दोलन सुरुआतको चरणमा मात्र अघि बढ्दै थियो। साहित्य सिर्जना गर्ने क्रममा बाहिरी वातावरणमा टहलिने, आफ्ना साथी समूहमा प्रस्तुत हुने, सुझाव सल्लाह लिने अनि आफ्नो लेखन कार्यलाई परिस्कृत गर्ने परिपाटीलाई उनीहरूले अझै पनि स्थापित गर्न सकेका छैनन्।
यस सन्दर्भमा सम्पूर्ण दोष पुरुष वर्गमाथि थोपर्न खोज्नु यस लेखको मनशाय पक्कै पनि होइन। मैले जोड दिन खोजको कुरा मात्र हाम्रो सामाजिक परिपाटीले विशेष गरी व्यवहारमा अझै पनि केही सामाजिक दायराले सिर्जना गरिदिएको छ। सदियौंदेखि स्थापित यो घेरालाई नाघेर बाहिर निस्कन सकिरहेका छैनन् महिला। त्यसैले त खुला समाजमा बृहत् दृष्टिकोण निर्माणको क्रममै रहेका अधिकांश महिला लेखकले पनि उनीहरूको सामाजिक, पारिवारिक र व्यक्तिगत जीवनको वास्तविकता र कल्पनालाई आधार बनाएर साहित्य रचेको देखिन्छ।
तथापि, ढिलै भए पनि यो दायरा भने फराकिलो हुँदैछ। राजनीतिक सहभागिता, बौद्धिक चेतना, सामाजिक आदानप्रदान र स्वतन्त्रताको अभिव्यक्तिका साथ आएको साहित्यिक माहोलसँगै थुप्रै सकरात्मक संकेत देखिएका छन्। पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यमले पनि यसको स्तर माथि उठाउन सहयोग गरेका छन्। सबैभन्दा महत्वपूर्ण भूमिका विगत केही वर्षदेखि झाँगिँ.दै गएको सामाजिक सञ्जालले स्थापित भइसकेका र हुँदै गरेका लेखकहरूको प्रचारप्रसारका साथै भर्खर बामे सर्दैै गरेका साहित्यिक अभिरुचि भएका धेरैलाई अभिव्यक्तिको प्रस्फुटन गराउनमा ठूलो भूमिका खेलेको छ।
कुनै समय नगर तथा गाउँभित्र वा बाहिर भ्रमण गर्ने, टहल्ने पुरुषवर्गमा सीमित संस्कृति आज खुकुलो र महिलाका लागि पनि सहज हुँदै गएको छ। उनीहरूको साहित्यिक अभिव्यक्तिको दायरा फराकिलो बन्दै गए पनि लैंगिक असमानताको दूरी भत्काउन र आपसी सहकार्यलाई अगाडि बढाउन गर्नुपर्ने प्रयास भने अझै धेरै छन्।