सेक्सी चुनरी झ्याप्प झ्याप्प !
तीर्थयात्रा गर्न कुनै दिन
मुम्बई सहरमा आइपुग्यौ भने
जुहुबीचको धमिलो आहालमा स्नान गरेर
सोझै आकाशगंगालाई हेर्दै आऊ !
मुकेश अम्मानीको
घरको बार्दली देखिन्छ आकाशमा !
त्यही बार्दलीको फेदबाट सुरु हुने
अँध्यारो समयलाई पछ्याउँदै अघि बढ,
र कमाठीपुराको १२ नम्बर गल्लीमा आइपुग !
पुराना प्लास्टिकले बारिएको
एउटा अँध्यारो झुपडपट्टिभित्र
मेरो बाबुजी !
म तिमीलाई नै पर्खिरहेकी हुनेछु !
यौवन निख्रिसकेका दुई थुँगा फूलहरू
अञ्जुलीमा बोकेर म तिम्रै स्वागतमा
सबैभन्दा ताजा गीत गाइरहेकी हुनेछु—
हरियो बत्ती झ्याप्प झ्याप्प !
सेक्सी चुनरी झ्याप्प झ्याप्प !!
आउँदा आउँदै बीच बाटोमै
लता मंगेशकरका पुराना मेलोडीहरू सुनेर
गाउँमा ढुकुरका बच्चाहरूसँग गाएका
जंगली गीतहरू नबिर्सिनु !
नयाँ सिनेमाको पोस्टरमा हाँसिरहेकी
प्रीति जिन्टाका मादक मुस्कानहरू देखेर
कर्कलाको पातमा छोडेर आएका
दुई थोपा आँसुहरू नबिर्सिनु !
म पो हुँ तिम्री हृदयकी रानी,
उहिले गाउँमा बाख्राहरू चराउँदा
तिमीले औंला काटेर लगाइदिएको रगतको सिन्दुर
मेरो सिउँदोमा अझै पुछेकी छैन मैले !
मेरो राजा !
म आज पनि आँखाको कलशमा
दुई थोपा पवित्र गंगाजल बोकेर
तिम्रै लागि एउटा प्रेमगीत गाइरहेकी छु—
मायाको बिजुली झ्याप्प झ्याप्प !
सेक्सी चुनरी झ्याप्प झ्याप्प !!
बाटोभित्रै यदि बाटो हरायौ भने
मेरो ठेगाना कुनै पर्खालमा टांगिएको
अमिताभ बच्चनको पुरानो तस्बिरलाई नसोध्नु !
तिम्रो देशको नयाँ सरकारलाई सोध्नु !
सलमान दादालाई नसोध्नु ! शाहरुख भैयालाई नसोध्नु !
टाई बाँधेर मन्त्रालयअगाडि उभिएको कुनै तस्कर
वा मेरै वस्त्र काटेर सिलाइएको
राष्ट्रिय झन्डा बोकेर
सडकमा आँखा झिम्क्याइरहेको दलाललाई सोध्नु !
मेरो देवदूत !
जीवनको बसेरा किरिङमिरिङ छ !
अब तिमी कमाठीपुराको अँध्यारो गल्लीमा
मीराबाईले थुकेका पानका बुट्टाहरू कुल्चिँदै आऊ !
आँसुको रङ, वीर्यको रङ र रगतको रङभित्र
जीवनका असंख्य रङहरू बिर्सिंदै आऊ !
म आज तिम्रै लागि अन्तिम साँझबत्ती बालिरहेकी छु—
छुटेको जवानी झ्याप्प झ्याप्प !
सेक्सी चुनरी झ्याप्प झ्याप्प !!