जुठो थाल !
बाले खाना खाइसकेपछि
त्यो थालमा
आमाले खाना पस्केर
कपाकप खानुहुन्थ्यो
म सोध्थेँ–
आमा !
त्यो जुठो थालमा किन खानुहुन्छ ?
फिस्स हाँसेर टारी दिनुहुन्थ्यो आमा
निरक्षर मेरी आमालाई
हजुरआमाले जे गर्नुभयो
त्यसैको निरन्तरता मात्र थाहा थियो
र, त आमाका लागि त्यो जुठो थाल
त्यति नै प्यारो थियो ।
मैले बालाई सोधें–
बा ! तपाईंको जुठो थालमा किन
आमाले भात खानुहुन्छ ?
बा अलिक रसिक हुनुहुन्थ्यो
र भन्नुभयो–
जुठो थालमा खाएपछि माया बढ्छ नि त !
बालसुलभ मेरो दिमागमा पनि कति कुरा आएका होलान् ?
मैले फेरि फ्याट्ट बालाई सोधिहाले–
बा, आमालाई मात्र तपाईंको माया लाग्ने हो कि ?
तपाईंलाई पनि आमाको माया लाग्छ ?
बाले पनि फ्याट्ट जवाफ दिनुभयो–
मलाई तेरी आमाको माया नलागेको भए
तिमीहरू हुन्थ्यौ र ?
मैले कुरो बुझिनँ
र,
बुझ्ने कोसिस पनि गरिनँ
बरु अर्को प्रश्न सोधेँ बालाई
अनि बा ! त्यसो भए
तपाईंले किन आमाको जुठो थालमा
खाना नखाएको त ?
बाले रिसाएको भावमा
झर्किंदै भन्नुभयो
हरे ! कस्तो कुरा गर्छ यो !
आइमाईको जुठो पनि
लाग्नेमान्छेले खान्छन्।
म निशब्दः भएँ
चुपचाप बाको
अनुहार हेरिरहेँ
अहिले
हामीले बा–आमाको त्यो परम्परा
तोडेका छौं।
र, त हामी दोहोरो प्रेम होस् भन्नाको खातिर
एउटैै थालमा सँगै खाना खान्छांकविता छविरमण सिलवाल ०००
एउटै थालमा सँगै खाना खान्छौं !