कर्णालीबाट मुख्यमन्त्रीका दाबेदार  तीनै जना विजयी

कर्णालीबाट मुख्यमन्त्रीका दाबेदार  तीनै जना विजयी

सुर्खेतः कर्णालीबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार तीनै जना उम्मेदवारहरु विजयी भएका छन् । यो प्रदेशको भावी मुख्यमन्त्रीका लागि चर्चामा रहेका उनीहरु प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

कर्णालीबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै आएका कांग्रेसका जीवनबहादुर शाही, माओवादी केन्द्रका नेता नरेश भण्डारी र माओवादीकै महेन्द्रबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् ।

कांग्रेसले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेका जीवनबहादुर शाही हुम्लाको प्रदेश सभा (ख) बाट विजयी भएका छन् । उनले चार हजार पाँच सय १९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार विजय भण्डारीले तीन हजार नौ सय ९३ मत प्राप्त गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपर्यटन मन्त्रीसमेत रहेका शाहीलाई यो प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ । भावी मुख्यमन्त्रीका दाबेदार शाही एमाले र माओवादीको वाम गठबन्धनलाई हराउँदै भावी मुख्यमन्त्रीको दौडमा आफूलाई सामेल गराउन सफल भएका हुन् ।

यस्तै कर्णालीबाटै मुख्यमन्त्रीको दाबी गर्दै आएका माओवादी नेता महेन्द्रबहादुर शाही कालिकोटको प्रदेश सभा (ख) बाट विजयी भएका छन् । उनले १२ हजार तीन सय ५३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका कालीबहादुर सहकारीले नौ हजार तीन सय ४२ मत प्राप्त गरेका छन् । विना विभागीय मन्त्रीसमेत रहेका महेन्द्र शाहीलाई पनि कर्णालीबाट भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

मुख्यमन्त्रीकै आश्वासन पाएका कारण उनी प्रदेशसभाको निर्वाचनमा लडेका हुन् । उनले पनि प्रदेश सभामा विजयी भएर मुख्यमन्त्रीको लागि आफूलाई उभ्याएका छन् । निर्वातित भएपछि शाहीले यो प्रदेशको समृद्धि र विकासका लागि आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

यस्तै जुम्लाको प्रदेश सभा (क) बाट १२ हजार पाँच सय ७४ मत प्राप्त गर्दै माओवादी केन्द्रका नेता नरेश भण्डारी विजयी भएका छन् । भण्डारीले पनि निर्वाचन अघि आफूलाई मुख्यमन्त्रीको रुपमा मत मागेका थिए । विजयी घोषणा भएसँगै भण्डारीले भने,‘अब मेरो नेतृत्वमा नै यो प्रदेश अगाडि बढ्नेछ, यो प्रदेशलाई देशकै नमूना बनाउन काम गर्नेछु । जुम्लालाई प्रदेश ६ को गृष्मकालीन राजधानी बनाइनेछ, यसका लागि मेरो मुख्य पहल रहनेछ ।’

भण्डारीका प्रतिस्पर्धी कांग्रेसका राजुसिंह कठायतले आठ हजार पाँच सय ३५ मत प्राप्त गरे । भण्डारीले पनि आफू यो प्रदेशको मुख्यमन्त्री बन्ने र कर्णालीलाई न्याय दिलाउने बताउँदै आएका छन् । कर्णालीमा मुख्यमन्त्रीको एजेण्डा लिएर निर्वाचनमा होमिएका तीनै जनाले यो प्रदेशको भावी मुख्यमन्त्री बन्ने बाटो सुरक्षित गरेका छन् ।

यस्तै यो प्रदेशमा भावी मुख्यमन्त्रीका लागि दाबेदारका रुपमा हेरिएका सुर्खेत क्षेत्र नं. २ प्रदेश सभा (क) का उम्मेदवार एमाले नेता यामलाल कँडेल र सल्यानबाट प्रदेश सभाका उम्मेदवार एमालेकै नेता प्रकाश ज्वालाको अन्तिम मत परिणाम आउन बाँकी नै छ ।

उनीहरु पनि भावी मुख्यमन्त्रीका लागि आफ्नो दाबेदारी पेश गर्दै मत मागेका थिए । यो प्रदेशको पहिलो मुख्यमन्त्री कर्णालीले नै पाउने आंकलन गरिएको छ । सुर्खेतमा प्रदेश राजधानी हुने भएपछि कर्णालीले मुख्यमन्त्री पाउनुपर्ने माग बलियो बनाउन थालेको छ ।

मुख्यमन्त्री पाएमा कर्णालीलाई न्याय हुने र विकासमा पनि एकरुपता हुने कर्णालीबाट विजयी उम्मेदवारहरुले बताउन थालेका छन् । मुख्यमन्त्रीका तीनै जना दाबेदार विजयी भएकाले पनि मुख्यमन्त्री आफूहरुले नै पाउने सम्भावना बढेको कर्णालीबासीको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.